–बसन्त रानाभाट। बिदेशमा नै जन्मेर यतै हुर्केका नेपाली बालबालिकाहरुले नेपाली भाषा बोल्न नै नसक्ने हुन् कि भन्ने डर बढ्दै गएको छ। बालबालिकाहरु स्कुल जाँदा आँफै बसेको मुलुकको भाषा बोल्ने,पढ्ने र सिक्ने हुँदा नेपाली भाषा राम्रो सँग बोल्न कठिन बनेको हो। तर आफ्ना बालबालिकाहरुले बिदेशमा नै बसेर कसरी नेपाली भाषा राम्रो सँग सिक्न सक्लान् यो बारे अभिभावकहरु गम्भिर हुन भने जरूरी छ।
यूरोपका कुन – कुन देशमा कसरी नेपाली भाषा सिकाईने रहेछ ? यो बारे बुझ्नका लागि यो पङ्तिकारले करिव दुई साता लगाएर एउटा सागाग्री तयार पारेको थियो। नेपालीनेपाली डटकम मार्फत नै “यूरोपमा नेपाली बालबालिकाहरुले यसरी सिक्छन् “कखरा” शीर्षकमा यस अघि प्रकाशित भइसकेको छ।
पाठशालाको सुरुवात कसरी भएका रहेछन् त जानकारी लिने क्रममा डेनमार्क निवासी दीपक कुमार तिवारीसँगको बार्तालापले साह्रै मन छोयो। केहि बर्ष अगाडि तिबारीले आफ्नी आमालाई घुमाउँनको लागि डेनमार्कमा बोलाएका रहेका छन् । डेनमार्कमा नै हुर्कदै गरेको आफ्नो छोरा र हजुरआमा बीच मज्जाले बार्तालाप हुन सकेनछ। हजुरआमालाई ढोग्नु पर्छ भनेर सिकाउँदा होस् वा आमाले आशिर्बाद दिदा होस्, के भनेको भन्दै उल्टै छोराले डेनिस भाषामा आँफूलाई प्रश्न गरेको स्मरण गर्छन्।
त्यही बेला देखि नै तिबारीलाई यस्तो लाग्यो कि, “बरु अभिभाबकले जतिसुकै मेहनत गर्न किन नपरोस्, कम्तिमा आफ्ना छोराछोरीलाई नेपाली प्रष्ट बोल्ने र बुझ्न सक्ने बनाउँन सक्नु पर्दछ।” भाषाकै कारण हजुरआमा र नातीको माया र ममता खोसिएको महशुस गर्दै तिबारीले डेनमार्कको कोपेनहेगनमा नेपाली पाठशाला खोल्ने चासो देखाए। हाल नेपाली पाठशाला कोपेनहेगनमा बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँदै समेत आएका छन्।
एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठसँग पनि बिदेशमा बालबालिकाहरुलाई नेपाली भाषा कसरी सिकाउँन सकिन्छ ? यो बारे लामै बार्तालाप गर्ने मौक़ा मिल्यो। श्रेष्ठले भन्छन्” मेरो बच्चा फ्रेन्च,अंग्रेजी,स्पेनिस वा डच बोल्छ भनेर गर्व गर्ने होईन की,मेरो बच्चा फररर नेपाली बोल्छ र लेख्न पनि सक्छ भनेर अभिभाबकले गर्व गर्न सक्ने अवस्था हुनु पर्छ।” यसका लागि घरमा पनि आफ्ना बालबालिकाहरुसँग नेपालीमा नै कुराकानी गर्ने बानि बसाल्नु पर्दछ। तर कतिपय अभिभाबकले आफ्ना बालबालिकासँग बिदेशी भाषामा नै बार्तालाप गरिदिदा नेपाली भाषा बोल्नु पर्छ भन्ने प्रेरणा नमिलेको उनको ठहर छ।
गैर आबासीय नेपाली संघ (एनआरएनए) ले यूरोप क्षेत्रमा मात्रै २७ बटा राष्ट्रिय सम्बन्वय परिषद गठन गरिसकेको छ। एउटै देशका पनि बिभिन्न शहरहरुमा बाक्लो नेपाली समुदाय भेटिन्छ । तर दुर्भाग्य नै भन्नु पर्छ ,नेपाली बालबालिकाहरुलाई भाषा सिकाउँनका लागि हाल सम्म यूरोपमा बेलायत,डेनमार्क, स्पेन, जर्मनी,बेल्जियम र नेदरल्यान्डका केहि शहरहरुमा मात्र प्रयास भएको पाईन्छ।
त्यसमा पनि गैर आबासीय नेपाली संघ (एनआरएन) कै पहल र कार्ययोजना अनुरूप नै भाषा कक्षा संचालन भएको निकै कम भेटिएको छ। प्रायः सञ्चालन भएका पाठशालाहरु अभिभावकहरुको आफ्नै चासो र सक्रियतामा सुरु भएका छन्।
यति ठुलो संजाल रहेको एनआरएनले बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँनका लागि केन्द्रबाट नै हरेक राष्ट्रिय समन्वय परिषदमा लागू हुने गरि कार्ययोजना ल्याउँन सक्छ कि सक्दैन ? नेपाली समुदाय रहेको क्षेत्रमा भाषा कक्षा संचालन गर्न सक्छ की सक्दैन ? बिभिन्न देशमा सञ्चालन भएका पाठशाला बारे जानकारी लिए पछि यो पङ्तिकारलाई सुझाव सहित आफ्ना धारणा प्रस्तुत गर्न मन लागेको हो।
कम्तिमा एक एनसीसी,एक पाठशाला :-
गैर आबासीय नेपाली संघ (एनआरएनए) ले बिभिन्न सामाजिक तथा परोपकारी काम गर्दै आइरहेको छ। ७४ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको गैर आबासीय नेपाली संघले अब बिदेशमा नै हुर्केका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँन योजना अनुरूप नै अगाडि बढ्न जरूरी देखिन्छ ।गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले नै कम्तिमा “एक एनसीसी, एक पाठशाला” को कार्यक्रम लागु गर्न सकेमा बिदेशमा नै जन्मेका बालबालिकाहरुलाई नेपाली भाषा सिक्न ठुलो हौसला प्रदान हुनेमा दुई मत नै छैन।
अर्कोतर्फ मातृभुमि प्रति लगाव बढ्दै गएमा यिनै बालबालिकाहरुले भोलि एनआरएनको नेतृत्व सम्हाल्न अग्रसर रहनेछन्। गैर आबासीय नेपाली संघका बिभिन्न कार्यदलहरु मध्ये नेपाली भाषा र सँस्कृतिसँग सम्बन्धित कार्यदलले चासो राखेर यो अभियानलाई प्रभाबकारी बनाउँन जरूरी छ।
बालबालिकालाई सिकाउँने के ? पाठ्यक्रम आवाश्यक पर्दैन ?
बिभिन्न देशमा सञ्चालन भएका नेपाली पाठशाला बारे जानकारी लिदा सबै भन्दा ठुलो चुनौति बच्चाहरुलाई के पढाउँने र कसरी भाषा सिकाउँने भन्ने पाईएको छ। बालबालिकाहरुको उमेर र स्तर एउटै हुँदैन,एउटा बच्चा ५ बर्षको र अर्को १४ बर्षको हुन सक्छ यी दुवैलाई कसरी भाषा सिकाउँने त यो आँफैमा चुनौति पूर्ण रहेको छ। तर प्रायः पाठशालाहरुमा उमेर र स्तर अनुसार कक्षा छुट्टाएर भाषा सिकाएको पाईन्छ। तर सबै ठाउँहरुमा फरक-फरक कक्षा राखेर पढाउँन संम्भब होला त ?
केही अभिभाबकहरुले नेपाली भाषाका लागि पाठ्यक्रम नै बनाएर सञ्चालन गर्न निकै ग्राहो हुने धारणा राखेका छन्। एक त स्कुलमा बच्चाहरु केन्द्रित हुनु पर्ने त्यस माथि पुनः नेपाली भाषा कक्षामा पाठ्यक्रम अनुसार नै पढाई हुँदा थप बच्चाहरुलाई बोझ हुने त होईन कतिपय अभिभाबकको प्रश्न रहेको छ।
तर कतिपयले भने नेपाली भाषा राम्रो सँग लेख्न र पढ्न सिकाउँने नै हो भने सेलेबस तयार गर्नु पर्ने बिचार राखेका छन्। नेपालमा नै पढाईने पाठ्यक्रम ल्याएर त यहाँका बच्चाहरुलाई प्रभावकारी नहोला तर निकै सरल ढंगको सेलेबस तयार गर्नु पर्ने अभिभाबकहरु धारणा रहेको छ। डेनिस टु नेपाली,अंग्रेजी टु नेपाली,स्पेनीस टु नेपाली,डच टु नेपाली यसरी पाठ्यक्रम तयार गर्न सके बच्चाहरुलाई सिकाउँन सजिलो हुन्थ्यो कि भन्ने बिचार समेत भेटियो।
तसर्थ यसको लागि पनि गैरआबासीय नेपाली संघले तत्काल चासो दिन जरूरी छ। नेपाली भाषा लेख्न र पढ्न चाहने बालबालिकाहरुको लागि उनिहरुको स्तरलाई हेरेर पाठ्यक्रम तयार गरी सञ्चालन भईरहेका पाठशालामा पुर्याईदिन सके पनि अभिभाबकहरुलाई ठुलो हौसला मिल्ने थियो।
पाठशाला सुरु हुने जस्तै बन्द हुने क्रम पनि बढ्दो :-
बालबालिकाहरूलाई नेपाली भाषा सिकाउँन अभिभाबकले समेत समय निकाल्नु पर्ने हुँदा थप चुनौतीपूर्ण भने रहेको छ। एक त आफ्नै काम,अर्को तर्फ बालबालिकालाई नियमित स्कुल पुर्याउँनु पर्ने र हप्ताको अन्त्य तिर बचेको केहि समयमा पनि नेपाली भाषाका लागि बालबालिकालाई ल्याउँन,लैजानु पर्दा निकै कठिन हुने गरेको छ। एउटै अभिभाबकका दुई वा सो भन्दा बढी फरक उमेर समूहका बालबालिकाहरु भएमा, आँफू रहेको स्थानबाट पाठशाला निकै टाढा रहेको खण्डमा पनि अभिभाबकलाई धेरै नै समस्या हुने गरेको छ।
यिनै कारणले कतिपय ठाउँहरुमा पाठशाला सुरु भएर पनि बन्द भएका भेटिए। नेपाली भाषा कक्षामा बालबालिकाहरु नियमित रुपमा उपस्थिति गराउँन नसक्नु यसको प्रमुख कारण मानिएको छ। यो अलवा भाषा सिकाउँने कक्षा कोठाको अभाव,उपयुक्त सेलेबस प्राप्त नहुनु र अर्को आर्थिक पक्ष पनि रहेको छ।
कसरी बनाउँन सकिन्छ,दिगो र ब्यबस्थित पाठशाला ?
अभिभाबकहरुको आफ्नै सक्रियता र चासोले सुरु भएका बिभिन्न पाठशालाहरुलाई अझ ब्यबस्थित र दिगो बनाउँने जिम्मेबारी एनआरएन,लगायत बिभिन्न संघ संस्था तथा नेपाली समुदायले लिन सक्नु पर्छ। आफ्ना बालबालिकाहरुलाई जस्तो सुकै कठिन परिस्थितिमा पनि नेपाली भाषा लेख्न र पढ्न सिकाउँन अभिभाबकहरु उत्साहित भएको पाईन्छ। यसलाई दिगो र ब्यबस्थित बनाउँने जिम्मेबारीको नेतृत्व गैर आबासीय नेपाली संघले लिन सक्नु पर्छ।
एनआरएन केन्द्रबाट नै एउटा नीति र योजना बनाएर हरेक मुलुकहरुमा बालबालिकाहरुलाई कुनै न कुनै रुपमा नेपाली भाषा सिक्ने बाताबरण तय गर्न सक्नुपर्छ।दोस्रो पुस्ताका एनआरएन बालबालिकाहरुलाई मातृभूमि प्रतिको प्रेम तथा नेपाली भाषा र सँस्कृतिको जगेर्नाको लागि संघले बृहत योजना सहित पहलकदमी चाल्न जरूरी छ।
ठुलै परिबर्तन आएको छ, त्यसैले ढिला नगरौ
नेपाली पाठशालामा पुगे पछि बालबालिकाहरुले कखरा मात्र सिकेका छैनन् उनीहरुमा ठुलै परिवर्तन आएको छ। राष्ट्रिय गान कण्ठस्त सुनाउँने मात्र हैंन नेपाली गीतहरुमा मनै प्रफुल्ल गर्ने गरी नाँच्न सुरु गरेका छन्। कतिपय पाठशालाहरुमा बालबालिकाहरु बीच बिभिन्न प्रतिस्पर्धा गराउँदै आएको पाईन्छ यसले बाल क्षमताको झनै बिकास भएको छ। पाठशाला कै कारण नेपाली बालबालिकाहरु एक अर्का बीच घुलमिल हुने अबसर समेत मिलेको छ।