डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड। बालबालिकाहरुलाई रचनात्मक, सृजनात्मक र कल्पनशील बनाउन उनीहरूलाई राम्ररी खेल्न पाउने वातावरण दिनुपर्छ । यसका निम्ति अनेक खेलौना र सामग्रीहरूको निर्माण भएको छ । अनेक विधि र प्रविधिको विकास भएको छ । यसै क्रममा पछिल्लो समयमा लोकप्रिय बन्दै गएको खेलौना र विधि हो – लेगो । विकसित राष्ट्रहरुमा बालबालिकाका मानसिक, शारीरिक एवं बौद्धिक विकासका लागि पाठशालाहरुमा मात्र होईन, त्यसबाहेकका गतिविधिका लागि पनि उल्लेख्य लगानी गरिएको हुन्छ । जसले बालबालिकाको मष्तिस्क र स्नायू प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । बालबालिकाहरुलाई खेलाउँदै पढाउनु र सिकाउनु यूरोपेली र अमेरिकी शिक्षा नीतिको एक अन्योन्याश्रित पक्ष हो ।
के हो लेगो?
लेगो पश्चिमी मुलुकहरूमा बालबालिकाहरुको सृजनात्मक खेल जीवनको अभिन्न अंग बनेको छ । टुक्राटाक्रीहरू जोडजाड गरेर थरिथरिका निर्माण गर्ने खेल हो – लेगो । लेगोमा प्लास्टिकका रंगीविरंगी स-साना संरचनागत ईकाईहरुलाई जोडेर वा खिपेर कुनै संरचना (जस्तै घर, कार, बस, हेलिकप्टर, शहर आदि) को निर्माण गरिन्छ । यस्ता संरचना भत्काएर त्यही सामग्रीले फेरि अर्कै खालको संरचना निर्माण गर्न सकिन्छ । लेगोबाट त्यस प्रकारका संरचनाहरू निर्माण गर्न केहि मिलिमिटरदेखि केहि सेन्टिमिटरसम्मका निर्माण ईकाई वा ईंटाहरु बनाईएको हुन्छ । लेगोका यस्ता स्याना ईकाईहरू कैयन् आकार र प्रकारमा उत्पादन गरिएका हुन्छन् । मानिस बनाउनका लागि कपाल, टाउको, शरीर, हात-खुट्टा आदि छुट्टा-छुट्टै ईकाईहरु हुन्छन । ति ईकाईहरुबाट कस्तो मानिस वा संरचनाको सृजना गर्दै खेल्ने बालबालिकाको सृजनशीलतामा भर पर्छ । त्यसैले लेगो खेल्दा बालबालिकाको सृजनात्मक क्षमतामा अभिवृद्धि हुने विश्वास गरिन्छ । लेगोका ईकाईहरु प्रयोग गरेर कुनै पनि संरचना निर्माण गर्न धैर्यता र विधिगत प्रकृयाको आवश्यकता पर्दछ । ति जीवनका लागि अत्यावश्यक मानविय गुणहरु हुन् । धैर्यता र प्रकृयागत मिहिनेत बिना जीवनमा दिगो सफलताको कल्पना गर्न सकिंदैन ।
लेगोल्याण्ड जर्मनी
बालबालिकाहरुलाई लक्षित गरी लेगो विषयमा केन्द्रित रहेर थुप्रै मनोरंजनात्मक थिम पार्कहरू बनाइएका छन् । यस्तै थिम पार्कहरूमध्ये जर्मनीको गुँन्जबुर्गको लेगोल्याण्ड भव्य छ, जहाँ वर्षेनी लाखौंले भ्रमण गर्छन् । लेगो विषयक थुप्रै खेलहरु संचालनमा छन् । २४ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त्त रिसोर्टमा बालबालिकाका मनोरन्जनका लागि अनेक संरचनाहरु तयार पारिएका छन् । लेगोल्याण्ड गुँन्जबुर्ग पुग्न जर्मनीको उल्म शहरबाट ट्रेनमा १५ – २० मिनेट लाग्दछ । टाढाबाट छुट्टीका लागि आउने बालबालिकाका परिवारहरुका लागि होटल, बस्ने कटेज र रेष्टुरेन्टहरुको पनि व्यवस्था छ । रिसोर्टको नाम नै लेगोल्याण्ड राखिएकोले लगभग सम्पूर्ण संरचनाहरु लेगो प्रविधिमा आधारित छन्।
लेगोल्याण्डको केन्द्रमा लेगोबाट हुबहु तयार पारिएका विभिन्न देशका मझौला आकारका शहरहरु छन् । वास्तविक शहरहरु भन्दा कयौं गुणा साना ति शहरहरु रहेको स्थानलाई ‘मिनील्याण्ड’ नामाकरण गरिएको छ। शहरका घर र बजार मात्र होईनन्, ति शहरहरुको नजिक अवस्थित नदीनाला र तालहरु पनि बनाईएका छन् । शहरभित्र कोहि कराईरहेका छन् भने कोहि रेष्टुरेन्टको बाहिर नाचिरहेका छन् । ति शहरका सडकहरुमा स-साना बस र अन्य सवारीका साधनहरु, अनि तालमा डुङ्गा पनि चल्ने बनाईएकोले ति शहरहरूमा सजिवता भेटिन्छ । स्विटजरल्याण्डको लुकेर्ने, जर्मनीको बर्लिन र फ्र्याङफर्ट, नेदरल्याण्डको आम्सटरदम, ईटलीको भेनिस नक्कल गरी बनाईएका केहि शहरहरु हुन् । ति स-साना शहरहरुलाई हेर्दा वास्तव मै ति शहरहरु डुलेको अनुभूति हुन्छ । त्यसैगरी मिनील्याण्डमा अवस्थित बायर्नको आलियान्ज फुटबल स्टेडियम ज्यादै आकर्षक छ । स्टेडियमको निर्माणमा ज्यादै सुक्ष्म विवरणहरुलाई ध्यान दिईएको छ । स्टेडियमभित्र हजारौं दर्शकहरु खेल हेर्न बसेको परिदृष्यलाई आवाज र बत्तीको संयोजनले जीवन्तता प्रदान गरेको छ । बालबालिकाहरु एकपछि अर्को शहर र ति शहरभित्रका सजिव दैनिकी हेर्दै दंग पर्दछन् । लेगोको वातावरणमा मन्त्रमुग्ध हुन्छन् ।
त्यसैगरी लेगो ल्याण्डभित्र बालबालिकाहरुले स-साना जीपमा चढेर जंगल सफारी गरी जंगली जीव-जन्तुहरू पनि हेर्न सक्छन् । ति सम्पूर्ण जीव-जन्तुहरु पनि लेगोबाटै बनाईएका छन् । बालबालिकाहरु जुन-जुन जनावरको सन्निध्यमा पुग्छन, त्यहि जनावरको सिमुलेसन गरिएको आवाज निस्कँदा तिनीहरु रोमाञ्चित हुन्छन् । त्यसबाहेक आकर्षक रोलर गाडीहरुमा चढी द्रुत गतिमा नागबेली परेका फलामे लिगमा तलमाथि गर्दा मानिसहरु रोमान्चकताले चिच्याउँछन् । डुङगामा चढेर पानीको छहराबाट तल खस्दा एकातर्फ पानीले निथ्रुक्कै हुन्छन् भने अर्कातर्फ एक्कासी माथिबाट तल झर्दाको रोमान्चकता र खुसीले बालबालिकाहरु आवेगमा कराउँछन् ।
लेगोल्याण्डभित्र अवस्थित लेगो उत्पादन केन्द्रमा लेगोप्रेमीहरुले लेगो उत्पादन प्रकृयाको प्रत्यक्ष अवलोकन र सुपथ मुल्यमा लेगो खरिद गर्न पनि सक्दछन् । लेगोल्याण्डको खेल सुविधाको मजा एक दिनमा लिएर भ्याईंदैन । माथि उल्लेखित लेगोबाट बनाईएका संरचनाहरुका लागि हजारौंदेखि लाखौं लेगोका ईकाईहरुको आवश्यकता पर्दछ । लेगोल्याण्डमा प्रकृति, श्रव्य, दृष्य र गतिको संयोजन भेटिन्छ, जसले सम्पूर्ण रिसोर्टलाई जीवन्तता प्रदान गरेको छ । लेगोल्याण्ड मनोरन्जनात्मक मात्र नभई बालबालिकाहरुका लागि ज्ञानवर्द्धक पनि छ । बालबालिकाका लेगो सम्बन्धित सम्पूर्ण कल्पना र आशालाई लेगोल्याण्डले स्पर्श गर्छ भन्दा अतिशयोक्ति नहोला । खुसीले रमाएका केटाकेटीहरू आ-आफ्ना बुबा-आमालाई प्रदर्शित संरचनाहरुको अवलोकनका लागि यता जाउँ, उता जाउँ भनि तानिरहेका बालबालिकाहरु भेटिन्छन् । वास्तवमै लेगोल्याण्ड बालबालिकाका लागि स्वर्गै हो भन्दा फरक पर्दैन ।
नेपालमा लेगो खेल खासै उपलब्ध नभए पनि टुक्राटाक्री जोडजाड गरेर खेलिने थुप्रै प्रकारका खेल प्रचलनमा छन् । यी सबै खेल-खेलौना एकै अवधारणाका हुन् । मुख्य कुरो स्कुले पाठ्यक्रममा मात्र सिमित नराखेर बालबालिकाहरुमा खेलका माध्यमले अनुशासन, धैर्यता, पूर्वयोजना गर्न सक्ने क्षमता र कार्यगत निरन्तरता जस्ता गुणहरुको सानै उमेरमा विकास हुन सके उनीहरूको सोंचको परिधिलाई अझै बृहद र सृजनात्मकताको क्षितिजलाई अझै फराकिलो पार्न सक्नेछन् । बाल्यकालमा सिकेको कुनै पनि खेलले जीवनका जटिल एवं संघर्षपूर्ण क्षणहरुमा शान्त, धैर्य र अनुशासित बन्न सिकाउँछ । खेलले जीवन जिउन सिकाउँछ, खेलौं र बालबालिकाहरूलाई खेल्ने वातावरण सृजित गरौं ।
(लेखक गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य र पेशाले स्विटजरल्याण्डमा कार्यरत एक र्याडिएसन अंकोलोजिष्ट हुन्।)
साभार: जुनकिरी, नागरिकन्युजको प्रकाशन