नेपाली महिला कामदारहरुको उद्धार र सचेतना नै हाम्रो अभियान हो

0

हजारौ सुन्दर सपनाहरुले दुबइको अन्तररास्ट्रिय विमानस्थलमा हरेक दिन अवतरण गर्छन । तीमध्ये कुनै साकार भएर आमालाई खुसीको कोसेली पठाइदिछन त कोही भने आफै बाकसमा दु:खको पार्सल बनेर फर्कन्छन ।

कल्पना राई त्यस्तै सपनाहरुको अर्को नाम हो जो दुबईमा आफ्ना सपनाहरुको चाङले चेपिदै पनि प्रवासी नेपालीहरुको सपनालाई साकार पार्न सक्दो सहयोग गर्दैआएकी छन । डिउटीबाट बचाएको समय सामाजिक काममा उपयोग गर्दैआएकी कल्पना हाल एनआरएनए / एनसीसी दुबईकी महिला संयोजक छिन ।

प्रस्तुत छ, उनीसंग गरिएका अन्तरमन्थन –

१) तपाइको पुरा नाम ?

– म कल्पना राई |

२) नेपालमा पुर्ख्यौली थलो कता हो ? अहिलेको बसाइ कहाँ छ ?

-मेरो पुर्खौली थालो खोटाङ हो । मेरो बाबा खोटाङबाट हुनुहुन्छ । अहिले सपरिवार गोकर्ण काठमाडौ बस्छौं ।

३) कति बर्ष भयो दुबई आउनुभएको ?

– एक दशक नै भयो । कति चाडो समय बितेछ ।

४) अनि के काम गर्नुहुन्छ ?

– दुबई सरकारको एक राष्ट्रिय कम्पनीमा एयरलाइन्स पर्यवेक्षकको रुपमा कार्यरत छु ।

५) नेपालबाट यहाँसम्म आएर यसरी काम गर्दाको अनुभव कस्तो छ ?

– यहाँसम्मको यात्रामा म धेरै खुशी छु । धेरै मेहेनत, थोरै भाग्यको साथ आफैमा उच्च आत्मविश्वासको कारणले गर्दा यहाँसम्म आइपुगेको जस्तो लाग्छ । जीवनमा समृद्धि पाउनको लागि युरोप, अमेरिका नै जानुपर्छ भन्ने लाग्दैन मलाई । किनकि ब्यक्ति आफैमा सक्षम भए काम गर्ने प्रशस्तै अबसर र बाटोहरु यहाँ पनि छन । चाहिन्छ त केवल लगनशीलता मेहेनत र आफुमा आत्मविश्वास ।

६) अनि तपाई एनआरएनए युएईको महिला संयोजक हुनुहुन्छ,आफ्नो ड्युटी र संस्थाको कामलाई समय कसरी व्यवस्थापन गर्नुहुन्छ?

-सामाजिक सेवाको क्षेत्र र गतिविधिमा पहिलेदेखिकै रुचि हो । मैले धेरथोर अनुभव पनि बटुलिसकेको थिए, अरु यस्तै संघ-संस्थामा । यसै सेरोफेरोमा एनआरएनएमा आउने मौका मिल्यो । मलाई बिशेष त महिला दिदीबहिनीको आवाज सम्बन्धित निकायमा पुरयाउन सहजकर्ताको भुमिका खेल्नसक्छु भन्ने आत्मबिश्वास पैदा भएको हुनाले पनि यो पाटोमा काम गर्न सजिलो भएको छ |

काम गर्ने मान्छेलाई न समयले, न अरु कुराले नै रोक्न सक्नेरैछ । ड्युटीको अनुकुलता मिलाएर छुट्टीको सदुपयोगले समय व्यवस्थापन गर्दै आइरहेको छु । नभ्याएको बेला टिमको साथीहरुले पनि सहयोग गर्नुहुन्छ | कहिलेकाही त्यस्तै अकास्मात काम पर्यो भनें छुट्टी मिलाउछु | छ-सातपटक त नसुतिकनै काममा गएको अनुभव पनि छ मसंग । आफ्नो ठाउँबाट समाजलाई योगदान दिन पाउँदा खुशी लाग्छ ।

७) प्राय तपाइको दिनहरु कसरी बित्छन ?

– सामाजिक क्षेत्रको कुरा गर्नु भएको हो भने प्रायः हरेक दिन कसै-न कसैको चार-पाचवटा फोन या इमेल आइरहेको हुन्छ | बिशेष त हाउसमेड र क्लिनिङ कम्पनीका दिदीबहिनीहरुको समस्याका बारेमा हुन्छ । कहिले पुलिस स्टेशनमा नेपाली महिलाहरुको अवस्था र केसको प्रोग्रेसको विवरण लिनुपर्ने हुन्छ । जेलबाट फर्केपछि आश्रय स्थलको बारेमा सहयोग गर्नुपर्ने हुन्छ । त्यस्तै गरेर लेडिज क्याम्पमा गएर युएइको मौजुदा कानुन, यौन क्रियाकलाप परामर्स (Sex Awareness) का कुराहरु दिनुपर्ने हुन्छ ।

अस्पतालमा भएकाहरुको प्रोग्रेस फलोअप, कम्पनीको सपोर्ट, नेपाल पठाउन तयारी , पठाईसकेपछिको प्रोग्रेस फलोअपको पनि जानकारी लिनुपर्छ । साथै काम गर्न नसक्ने र एम्बेसीको सेल्टरमा बसेका दिदीबहिनीलाई नेपाल पठाउन नेपाल दूतावाससंग सहकार्यमा समय व्यतित हुन्छ ।

८) मध्यपूर्वमा अहिले घरेलु कामदारको अवस्था त्यति सुखद छैन । सरकारले प्रतिबन्ध लगाएको कति देशहरुमा अझै नेपाली दिदीबहिनीहरुलाई आउने र ल्याउने क्रम छ । अनि दुबईमा चाँही अवस्था कस्तो छ ?

– म सधै आफ्नो परिश्रममा बिश्वास गर्ने मान्छे हुँ । यदि मेहेनत गरयो भने खाडी मुलुकमा पनि युरोप, अमेरिकाको जस्तै जीवनस्तर जिउन र कमाउन सकिन्छ । बस्, कमी हो त हाम्रो मेहेनत र अवसरलाई सदुपयोग गर्न नसक्नु । सबभन्दा पहिला आफैमा दह्रो आत्मविश्वास हुनुपर्छ । केही मुख्य कुराहरुलाई ध्यान दियो भने त्यस्तो अप्ठेरो हुन्न जति सुन्नमा आएको छ ।

महिलाको हकमा त धेरै सुरक्षित देश मध्ये दुबई नै हो । रोजगारीको लागि राम्रो गन्तब्य पनि हो । अलिकति बढी पैसा पाउने लालचमा गलत बाटो हिंड्नुहुदैन । घरायसी समस्याले विदेश आउनु नराम्रो कुरा होइन, तर गलत बाटो अपनाएर आउदा भने समस्यामा परिने खतरा हुन्छ ।

९) समस्यामा परेका घरेलु कामदारको उद्धार गर्न त्यहा कत्तिको सहज र प्राभावकारी छ ? एनआरएनको महिला संयोजक हुनुभएकोले महिला सचेतनाको लागि के कस्तो कामहरु गर्नुहुदैछ ?

– समस्यामा परेका महिलाहरुको उद्धार गर्न निकै नै गाह्रो विषय हो । एक त, खाडी राष्ट्रहरुमा हामीलाई आफ्नै प्रोग्राम बनाएर काम गर्न अनुमति हुदैन । दोस्रो, एनआरएनलाई नेपाल सरकारले मान्यता दिएको भएपनि युएई सरकारबाट मान्यता पाएको संस्था होइन । यसले नेपाली राजदुतावासको सुपरिवेक्षण र सहकार्यमा काम गर्ने हुँदा नेपालबाट कानुनी तरिकाले आउनुभयो भने यहाँ नेपाली दुतावासले सहयोग गर्छ । हामीले यसमा सहजीकरण गर्छौं ।

दूतावासको पहिलो हेराइ हुन्छ कि तपाईं वैधानिक हो या अवैधानिक तरिकाले आउनुभएको हो ? नेपालबाट मान्यता नपाए पनि यहाँ आइसकेपछि यहाको सरकारको लागि त वैधानिक वासिन्दा नै हुन्छ । पुलिस केसमा जादा पनि पुलिसले साथ दिन्छ । तर समस्या तब आउँछ, जब हामीहरु समस्यालाई पुलिसकोमा लादैनौ, लान डराउछौ ।

म महिला संयोजक भएको नाताले मेरो र टिमको मुख्य उद्धेश्य भनेको नै यहाँको दिदीबहिनीहरुमा विभिन्न खालका जनचेतना फैलाउनु हो । परदेशको ठाउमा हामी नेपाली जहाँ भएपनि काधमा काध मिलाएर हिड्नुपर्छ भन्ने नै हो । अहिलेसम्म हामीले गरेका कामहरु अन्तररास्ट्रिय सचेतना कार्यक्रम, जेल भिजिट, हस्पिटल भिजिट हो । समस्याहरु पहिचान गरी आवश्यक उद्धारको पहल गर्ने नै पहिलो प्राथमिकता हो ।

यो एक वर्षको बीचदेखि अहिलेसम्म मात्रै विभिन्न समस्यामा परेका २५ जना महिलाको उद्दार गरेर नेपाल पठाईसकिएको छ । नेपालको पौरखी नेपाल संघसंग समन्वय गरी परदेशबाट नेपाल फर्किसकेपछि पनि मानसिक र शारीरिक रुपमा सक्षम नभइन्जेलसम्मको लागि बसोवास र त्यसपछि सामान्य आयआर्जन गर्ने तालिमहरुको व्यवस्था गर्न आवश्यक भूमिका खेल्नु पनि हाम्रो उदेश्य हो ।

यसको साथै नेपाल सरकारसंग कतार फाउन्डेशनले निर्माण गरेको फन्ड प्रोजेक्टअन्तर्गत जो श्रम स्वीकृति लिएर आउनुभएको छ र खाडी देशहरुमा र जो आर्थिक कारणले आफै टिकट काटेर फर्कन सक्नुहुन्न, उहाँहरुको लागि एउटा टिकट उपलब्ध गराउने काममा पनि सहयोग गर्दै आएकी छु ।

१०)एउटा नागरिक भएर पनि यत्तिका प्रयास गरिरहनुभएको छ, मध्यपूर्वमा काम गर्न आउँन चाहने दिदीबहिनिहरुलाई के सन्देश दिन चाहनुहुन्छ ? अनि सरकारको नीति कस्तो हुँदा दिदीबहिनीहरुले सहज, मर्यादित र सुरक्षित अनुभव गर्न सक्छन ?
दुबई आउन चाहने दिदीबहिनीहरुलाई केही सल्लाह दिन चाहन्छु ।

– यदि तपाईं दुबई या अन्य देश आउदै हुनुहुन्छ भने सबभन्दा पहिले विश्वासिलो रजिष्टर्ड मेनपावरमार्फत मात्र आउनुहोस । किनभने भोलि तपाइलाई अप्ठेरो परेको खण्डमा नेपालको मेनपावरलाई समातेर पनि तपाईलाई न्याय दिन सकिने ठाउँ हुन्छ । साथै आफ्नो पासपोर्ट र सम्झौता-पत्रको कपि आफैसित राख्नुहोला । परदेशमा तपाईको पहिचान भनेको नै पासपोर्ट हो । केही गरेर पासपोर्ट हरायो वा नासियो भने तपाई ठुलो समस्या मा पर्न सक्नुहुनेछ । नेपाल एम्बेसी र एनआरएन पदाधिकारीहरुको सम्पर्क नम्बर खोजेर साथमा राख्नुहोला । समस्या परेको खण्डमा तुरुन्तै उचित सल्लाह साथै सहयोग लिनको लागि सिधा सम्पर्क गर्न सकिन्छ ।

अर्को कुरा, सरकारले नेपाली महिलाहरुलाई परदेश आउनुमै रोक लगाउनुभन्दा पनि सरकारी तहबाट नै कसरी सुरक्षित रहन सकिन्छ र समस्यालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्नुपर्छ । जब मान्छेसंग कुनै उपाय नै हुदैन तब त उसले गलत कदम चाल्छ । उहाहरुलाई ‘विदेश नजानुस’ भन्नुभन्दा पनि कानुनी, वैधानिक बाटो भएर शीपमुलक आधारभुत तालिम प्रदान गरी दर्ता भएको मेनपावर कम्पनीमार्फत मात्र विदेश आउन सुझाव दिनुपर्छ ।

अहिले ‘बिचौलिया’ भन्ने मान्छेहरुले भारत, श्रीलंका हुदै अवैधानिक तवरले विदेश पठाईरहेका छन् । त्यसमा न्यूनीकरण आउन सक्छ । असुरक्षित तरिकाले विदेश आउनु आफैमा ठूलो चुनौती हो, जसले भोलि कामको शिलसिलामा कुनै पनि अप्ठ्यारो आईपर्न सक्छ । विदेशको नियम,कानुनको बारे हामीले न केही भन्न सक्छौ, न त बदल्न नै सक्छौ । बिडम्बना ! हाम्रो सरकारले नीति, नियम त बनाउछ, तर त्यसलाई जनस्तरसम्म कार्यान्वयन नगर्दै सरकार बदलिन्छ । त्यसको पीडा जनताले भोग्नुपर्छ र जसको भागिदार सुनौलो सपना साचेर विदेश उडेकाहरु पनि छन् ।

त्यसैले सरकारले बनाएका नीति, नियम तुरुन्त लागु होस । र, त्यो काठमाडौँमा मात्र केन्द्रित नभएर हरेक सदरमुकाम र क्षेत्रमा लागु होस, ता कि आम मानिसले राज्यबाट हक,अधिकार र सुचना पाउन सकोस । भनौ न, काठमाडौँमा आएर २१ दिन तालिमको लागि बस्न सक्ने मान्छे घरेलु काममा खाडी मुलुक किन विदेशिन्छ ? यसमा राज्य पनि अनुदार देखिन्छ ।

कुनै पनि घरेलु नेपाली कामदार समस्या पर्दा दुतावासले ‘लिगल कि इलिगल आएको ?’भनेर सोध्नुभन्दा ‘समस्या के हो ?’ भनेर समाधान गर्नतिर लाग्नुपर्छ । जे- जसरी आएपनि आखिर उ नेपाली नै हो, र विदेशको हकमा नेपाल सरकारको प्रतिनिधि भनेकै नेपाल एम्बेसी हो । जब सरकारले नै समस्या सल्टाउनुभन्दा पनि उल्टै केरकार गर्छ भने पीडितले जाने कहाँ ? तसर्थ भैपरी आउने समस्याको हल राज्यस्तरबाट नै सोचिनु पर्छ, निकालिनु पर्छ । सहजीकरणको लागि हामीले आफ्नो ठाँउबाट सकेको योगदान दिने कुरा त छदैछ ।मेरो विचारलाई स्थान दिनुभएकोमा आभारी छु ।

अमित चाम्लिङ्ग, २५ अक्टोबर २०१६

परदेशी खबर डट कम

Share.

Leave A Reply