-अशोक शेरचन। भनिन्छ व्यापारको कुनै सिमा हुँदैन । अहिलेको विश्वमा त झन् व्यापारलाई एकै ठाउँमा बाँधेर राख्ने कल्पनासम्म पनि गर्न सकिदैन । अर्थतन्त्रलाई चलायमान राख्ने आन्तरिक र अन्तर्देसीय व्यापारको आकार जति बृहत हुन्छ त्यति नै जनता, उद्योगी, व्यापारी, सरकार र देश धनी हुन्छ । सायद यसै सत्यलाई आत्मासात गरेकाले होला, हाम्रोभन्दा छोटो इतिहास बोकेका यूरोपका देशहरुले छोटो अन्तरालामै ठूलो फड्को मार्न सकेको ।
र, यही गतिशिल भेलमा नेपालका एक युवा बेल्जियमको विभिन्न शहरमा आफनो व्यापार विस्तारमा हेलिएका छन, सफल पनि भएका छन् । गैरआवसीय नेपाली संघका सचिब अर्जुनकुमार श्रेष्ठको व्यस्तता, स्वपनशीलता र सिर्जनशीलता देख्दा नेपाली हुनुमा पहिलोपल्ट मैले बिदेशी भूमिमा गौरव महशूस गरेँ ।
करीब १२ बर्षअघि यूरोप छिरेका यी उद्यमीको गति देख्दा साँच्चै उद्योग व्यापार फस्टाउनका लागि राजनीतिक स्थायित्व र राजनेताहरुमा अर्थतन्त्रप्रति प्रतिबद्धताको खाँचो हुने रहेछ भन्ने सत्यताको वोध भयो।
बेल्जियमको अन्तरपन, ब्रुज, कोटरयाक र सेन्तनिकलासमा ४ वटा होटल र ७ वटा विभिन्न स्वादका रेष्टुरेन्ट खोलिसकेका यिनी अवको ६ महिनाभित्र ५औं होटल खोल्ने तयारीमा छन् ।
आफु र सन्ततीका लागि गाँस, बास, कपास, शिक्षा र स्वास्थको सरकारले ग्यारेन्टी गरिसकेको अवस्थामा हात बाँधेर कम जोखिमका कामहरु गरेपनि सन्तुष्ट भएर बस्न सक्थे । तर त्यसो नगरि यिनले जापनीज स्वादको पहिले सुसी रेष्टुरेन्ट खोल्ने जोखिम उठाए । त्यसताका नेपालीहरुले जिब्रो काढेका थिए, पिजा र पास्ताको मुलूकमा सुसी भन्दै । आज समयले कोल्टे फेरेको छ र ती शहरहरुका चोकचोकमा भेटिने सुसी रेष्टुरेन्टहरु प्राय नेपालीहरुका छन्।
बेल्जियमको शहर सेन्ट निकलासमा होटल न्यू फलान्डर्स खोलेर होटल व्यवसायमा प्रबेश गरेका यिनले सयौं हन्डर र कयौं ठक्कर नखाएका होइनन् । तर यिनको हिम्मत डगमगाएन, न त रातको अध्याँरोले यिन्लाई रोक्यो, न त घामको तापले नै छेक्यो ।
अर्जुन बरु अघि बढदै गए, आफनो सपनालाई जोडदै जोडदै गए । सपना जोड्ने क्रममा सहयात्रीहरु पनि बटुले, कोही बाटोमै छुटे, कोही आज पनि साथै छन्। भवन भट्ट, कमल पन्थी र अर्जुन काफलेसँगको सहयात्रामा यहाँसम्म आईपुगेका उनले गैरआवसीय नेपाली संघका बर्तमान अध्यक्ष शेष घलेलाई पनि बेल्जियममा लगानी गर्न प्रेरित गर्दै व्यवसायिक सम्बन्ध कायम राख्न सफल भए। जसबाट उनले धेरै ठूलो व्यवसासयिक विज्ञता पनि हासिल गर्न पाएकोमा गौरव ठानेका छन्।
बेल्जियम आकार र जनसंख्याका हिसावले नेपालभन्दा ३ गुणा सानो देश हो। युद्धै युद्धले ग्रसित र त्रसित देश हो। दोसो विश्वयुद्धपछि सम्हालिन थालेको यो देशसँग आज हाम्रो कहिकतैबाट पनि तुलना हुन सक्दैन। तर यही देशका विभिन्न शहरमा होटल र रेष्टुरेन्टको सख्या फैलाउँदै गरेका अर्जुन यूरोपका अन्य देशमा पनि आँखा लगाउदै छन्। इमान्दारिता, सर्मपण, मेहनत, अनुसन्धान, सिर्जनशीलता र व्यवसायिक सम्वन्धका कारणले अर्जुनले यी शहरहरुमा नेपाल र नेपालीको चिनारी नै बदलिदिएका छन् । त्यहाँ पुगेका बेला तपाई ढुक्क भएर गौरवका साथ नेपाली हुँ भनेर यी शहरहरुमा भन्न सक्नुहुन्छ ।
पुराना गिर्जाघर र भवनहरुको इतिहास प्रतिनिधित्व गरिरहेको यस देशले आधुनिकतालाई पनि सँगसँगै अँगालेको छ।
एकैदिन नेपोलियन बोनापार्टका १८००० सेनाहरु मारिएको ठाउँ वाटरलू र १९५८ मा मानवनिर्मित १०२ मिटर अग्लो अटोमियको संयोजन देख्न सकिन्छ । यस्तै अन्टरपन शहरमा रहेको मियोज संग्राहलयमा आयोजना भईरहेको बुद्ध एण्ड माईन्ड नामक प्रर्दशनलाई देख्दा बुद्धिजमको प्रभाव बढ्दै गईरहेको सत्यलाई सजिलै स्वीकार्न सकिन्छ।
आफनै देशमा पनि केही गर्ने सोचका साथ अर्जुन पटक पटक नेपाल आउने गरिरहन्छन। यूरोपका तिनै सहयात्रीहरुलाई लिएर उनले केही समयभित्र नेपालमा एउटा औषधी उद्योग खोल्ने तारतम्य मिलाई सकेका छन् । सायद जन्मभूमि प्रतिको जिम्मेवारीबाट पनि अर्जुन टाढा भाग्न सकिरहेका छैनन् । र त अनिश्चितता नै अनिश्चिताले जकडिएको मूलुकमा पनि आफनो कमाईको केही अंश लगानी गर्न खोज्दैछन्।
-Bizmandu.com