रमेश आचार्य अर्जेन्टिना, एउटा यस्तो देश— नेपालबाट ठिक विपरीत दिशामा रहेको, यो धर्तीको पश्चिमी दूरदराजको मुलुक । कतिपय हकमा नेपालसँग मिल्दोजुल्दो विकासको अवस्था, र कतिपय हकमा विकासमा निकै अघि बढिसकेको पनि ।
अक्सर नेपालमा कहिले काहिँ होड पनि चल्ने गर्छ । र, नेपाली युवाहरुका लागि एउटा यस्तो मिथक पनि हो अर्जेन्टिना— जब विश्वकपको मैदानमा उत्रिरहेका हुन्छन् अर्जेन्टिनी म्याराडोनाहरु, अनायास फ्यान बन्नेहरुको घुँइचो उत्रिन्छ ।
के सबै नेपालीहरुले ती खेलाडीहरुसँग देखभेट गरेकै हुन्छन् र ? के हुन्छ यस्तो फ्यान बन्नका लागि तँछाड र मछाड गराउने तत्त्व ?
बस्, एउट यस्तै रोमाञ्चक घटना घटेको छ हाम्रो आप्सो सम्मेलनको यात्रामा । जुन मानवीय मूल्यका हिसाबले महँगो रहन पुग्यो । र, आइडेन्टिटी बन्नमा अहं भूमिका खेल्यो । अमिट छाप बनेर सात समुद्र पारीको मानिससँग जोडियो ।
कुरा हो गत दुई हप्ता अघिको । अफ्रो एसियन पिपुल सोलिडारिटी अर्गनाइजेसन अर्थात् आप्सोको अन्तर्राष्ट्रिय सम्मेलन थियो अक्टोबर १९ र २० तारिख ।
मोरोक्कोको राजधानी रबातमा भएको सो सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गरेका थिए ६ नेपालीले । ६ जनाको टोलीका अगुवा थिए, आप्सोका कार्यबाहक अध्यक्ष तथा पूर्व राजदूत एवम् परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ । साथमा थिए— आप्सोका उपाध्यक्ष समेत रहेका प्रो. डा. प्रदीप खड्का, महासचिव प्रो. डा. गोपाल प्रसाद पोखरेल ‘विवश’, त्यस्तै क्रमशः कार्यकारी सदस्यहरु— प्रो. डा.रेसबहादुर बस्नेत, खड्गबहादुर थापा र रमेश कुमार आचार्य ।
ग्लोबल कन्फरेन्सका रुपमा भएको उक्त सोलिडारिटी सम्मेलनमा विश्वका १८ भन्दा बढी राष्ट्र सहभागी थिए । दुई दिने उक्त सम्मेलनले घोषणा गर्यो ‘रबात डेक्लेरेसन’ ।
जसमा नेपालबाट गएका प्रतिनिधिले उठान गरेको समसामयिक २ वटा अत्यन्त महत्त्वपूर्ण मुद्दा समेत समावेश गरियो ।
पहिलो— ९० प्रतिशत जनअभिमत पाई निर्वाचित भएका ९० प्रतिशत भन्दा बढी संख्याका जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा पारित संघीय गणतन्त्र नेपालको संविधानको ‘युनानिमस वेलकम’ (हलको सम्पूर्ण सदस्यले करतलध्वनीका साथ स्वागत) गर्दै नेपालको समृद्धिको कामना सहित नेपाली जनतालाई बधाई ज्ञापन गर्नु ।
र, दोस्रो थियो— आतंकवाद विरुद्धको लडाइँमा दक्षिण एसियाली मुलुकहरुको क्षेत्रीय एकतालाई अझै सुदृढ बनाउँदै अघि बढ्न सकेमा आतंकवाद विरुद्धको लडाइँमा सफलता पाउन सहज हुने कुरा । जुन रबात डेक्लेरेसनले समेटेको छ ।
अब रह्यो अर्काे घटनाको कुरा । जुन घटना नै वास्तवमा नेपाल र नेपालीको परिचय छाड्न सफल रह्यो भन्ने लाग्छ । र, कतिपयका हकमा नेपाल प्रति रहेको गलत दृष्टिकोण बदल्न समेत प्रेरक बन्यो कि भन्ने लागेको छ ।
रबात सम्मेलन सम्पन्न भएसँगै हामी मध्ये ४ जनाको टोली फ्रान्स, इटाली, स्टिजरल्यान्ड भ्रमणमा निस्कियौं । जहाँ हाम्रा लागि पहिले नै तय भइसकेका कार्यक्रमहरु थिए ।
त्यहाँ नेपालीहरु आबद्ध विभिन्न संस्था र नेपाली समुदायसितका कार्यक्रममा सरिक भइयो ।
युरोप पछि अरब तिर लाग्यौं हामी ।
अक्टोबर ३० को दिन, यो टोली युनाइटेड अरब इमिरेट्स (युएई) स्थित दुबई सहरको समुद्री तटमा हिडिरहेका थियौं ।
त्यहाँ अचम्मको घटना घट्न पुग्यो !
मध्याह्नको समय थियो । समुद्री तटमा सयर गर्नेहरुको घुइँचोको पनि कमी थिएन त्यहाँ । तर, संयोग यस्तो जुर्यो कि, हिडिरहेकै बेला, हामीले भट्यौं एउटा पर्स !
पहिले त अचम्मै लाग्यो । हातमा टिप्ने कि नटिप्ने दोधार पनि भो । हेर्दा गहकिलो लाग्ने पर्स थियो । तैपनि हिम्मत गरियो र टिपियो त्यो पर्सलाई ।
फर्केर हामी बसेको होटेलमा आयौं, र खोल्यौं त्यो पर्स । हेर्दा थाह भो, त्यो पर्स तिनै मिथक जस्तै खेलाडी भएका देश अर्जेन्टिनी नागरिकको रहेछ ।
नाम थियो — अलेजान्द्रो अल्बर्टाे रिबेरो । युनाइटेड अरब इमिरेट्सको इमिग्रेसनले अनुमति दिएको प्रवेशाज्ञामा उल्लेख भए अनुसार उसको पासपोर्ट नम्बर थियो— २४४३७३३२ । पर्समा थिए— पासपोर्ट सहित, विभिन्न कागजात र केही रकम ।
तुरुन्त, नयाँ निर्णय लियौं हामीले । र, रबाना दियौं दूतावास तिर । युएईको राजधानी आबुधाबी स्थित नेपाली राजदूतावासमा पुग्यौं ।
दूतावास अधिकारीसँग छोटो कुरा भयो ।
हामीले राखेको प्रस्ताव ‘त्यो पर्स सहितका सम्पूर्ण वस्तुहरु दोहोरो कागज गर्न र सम्बन्धित देशको नागरिकले पाउने गरी सोही देशको दूतावासमा पुराउन’ नेपाली दूतावास पनि तयार भयो ।
हामीबिच कागजी एग्रिमेन्ट समेत भयो ।
ती अर्जेन्टिनी नागरिक (रिबेरो) को आइडी, भिसा कार्ड र रकम एक एक उल्लेख गरेर भरपाई सहित नेपाली दूतावासले लियो । जिम्मेवारी थियो अर्जेन्टिनी दूतावासलाई बुझाउने ।
पर्समा थियो— रकमका हकमा २१ सय ४१ अमेरिकी डलर । त्यस्तै, दुबईको बिराम थियो एक सय ४० र अर्जेन्टिनी पेसो थियो पाँच सय ।
प्रचलित दरमा साँढे दुई लाख भन्दा बढी नेपाली रुपियाँ रहेको थियो । अक्टोबर दोस्रो तारिखमा दूतावासले भरपाइ गरेर लियो । हामी ढुक्क भएर नेपाल फर्कियौं ।
नेपाली दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले अर्जेन्टिनी दूतावासमा बुझाउनुभयो सो पर्स ।
अर्जेन्टिनी दूतावासले आफ्नो नागरिकको पर्स र पैसा जस्ताको तस्तै नेपाली दूतावासबाट पाएपछि, पर्स भेटिएको खबर सम्बन्धित नागरिकले पाएपछि कस्तो ‘कृतज्ञता ज्ञापन’ गरे होलान्, कति खुसी भए होलान् !
बस्, एउटा नेपाली हुनुको नाताले म उनीहरुको ‘थ्याङ्क्स नेपाली’ भन्ने शब्दको प्रतीक्षामा थिएँ ।
नेपाली दूतावास आबुधाबीबाट द्वितीय सचिव अर्यालले मेल गर्नु भयो ।
इ–मेलमा भनिएको थियो— ‘अर्जेन्टिनी दूतावासले आफ्नो नागरिकको पर्स र पैसा जस्तोको तस्तै पाएपछि, अत्यन्तै खुसी व्यक्त गर्यो । दूतावासका अधिकारीले अत्यन्तै कृतज्ञता दर्शाउनु भयो, नेपाली नागरिकको यस्तो इमानदारिता साँच्चै नै अनुशरणीय छ भन्दै आफूहरु गौरवान्वित भएको’ बताउनु भयो ।
‘थ्याङ्यु भेरी मच, वी एप्रिसिएट नेपाल एन्ड नेपाली !’
कृतज्ञताका भारी शब्दहरु … ।
मेलमा सम्बन्धित नागरिकले आफ्नो पर्स बुझिलिएको हस्ताक्षर समेत आएको छ ।
हो, यति नै बेला, के लागिरहेको छ भने, त्यो पर्स पाएपछि, अरु कसैले जस्तै, त्यो रकमबाट, हामीले पनि आफ्नो प्लेन भाडा तिर्न सक्थ्यौं होला नि भन्नेतिर हाम्रो ध्यान पनि त जान सक्थ्यो !
तर त्यतातिर हाम्रो ध्यान गएन, किन ?
बस्, कुरा यहिँनिर छ— एटिच्युडको ।
अनि कुरा उठ्छ— एटिच्युड भन्ने चिन बन्छ कसरी ? के कुराले निर्धारण गर्छ यस्तो अवधारणा, संस्कार ?
हाम्रो निष्कर्ष रह्यो, हामीमा फरक स्कुलिङ थियो । त्यो स्कुलिङ पाएका थियौं आफ्नै पेरिफेरिबाट । अर्थात् कसैको समिप रहेर वा संगतबाट ।
अथवा आफ्नो समाज वा सानै उमेरदेखि । हुनसक्छन् यो वा ऊ कारणहरु । हुनसक्छ, कसैको पर्सनालिटीको प्रभावबाट पनि हामीले सिकेका थियौं कि ।
जुन एटिच्युडले हामीलाई शिर डाठो हुने गरी जिउन, र आफूजस्तै सम्मानित जीवन जिउन अर्काेलाई पनि सहयोगी बन्ने प्रेरणा दियो !
र, सायद अब, आफ्नो वरपरको मानव पंक्तिलाई पनि यस्तै संस्कार प्रति प्रेरित गर्छु होला । सकेसम्म जति सक्छु राम्रो बनाउन तिर ध्यान दिने छ भन्ने त लागिरहेको छ अहिले ।
किनकि त्यो अर्जेन्टिनी नागरिकले दिएको ‘धन्यवाद’ कुनै पनि रकमी मूल्यले किनेर किन्न सकिन्छ जस्तो मलाई लाग्दैन ।
तपाई भन्नुस्, सकिन्छ होला त्यस्तो मानवीय गुण खरिद गर्न ?
जुन संस्थाबाट हामी त्यो कार्यक्रममा सरिक हुने अवसर पाएका थियौं— त्यो संस्था (आप्सो) का अध्यक्ष हुनुहुन्छ एमाले अध्यक्ष तथा पूर्व प्रधनमन्त्री केपी शर्मा ओली ।
र, आप्सोको सम्मेलनले सिकाएको यो अमूल्य पाठ … !
लेखक- आचार्य युवा संघ नेपालका केन्द्रिय सचिवालयका नेता हुन्।
-निर्माण सञ्चार अनलाइन