सेप्टेम्बर १४, २०१६, देवराज अधिकारी, हाल: स्विटजरल्याण्ड। बिहानै ५:१५ मा मोवाईल फोनको आर्लाम घन्टीले ब्युझिएँ । उहिलेका मान्छेले बिहानै उठ्ने बित्तिकै गर्नै जप ध्यान अहिले बिभिन्न सामाजिक सन्जालमा मोवाईल र कम्प्युटर मार्फत् आफ्नो उपस्थिती जनाउने दैनिकी बनेको छ । हाम्रो क्रियाशिल समय यस्ता क्रियाकलापमा ज्यादा बितेको त छैन भनेर बिचार गर्नु पर्ला ? हुनतः त्यस्ता सामाजिक संजालहरूबाट कतिपय जानकारीमुलक सामाग्रीहरू प्राप्त हुन्छन् । मैले पनि १० मिनेटको समय त्यसैका लागि खर्चिएँ । स्विट्जरल्याण्ड आएको ७ महिना भयो । बिहान उठ्ने बित्तिकै पानी पिउने मेरो बानी छ । बिहान उठेर नुहाउदा निन्द्रा पूर्ण रूपमा समाप्त हुनुका साथै मलाई थप ताजगी महशुस हुन्छ । बुबाले भन्ने गर्नु हुन्थ्यो “बिहान उठी जुन जान्छ गंगा, सब पाप छुटी मन हुन्छ चङगा” ।
आज यहाँको लोसान (Lausanne) शहरमा संचालित मेलामा जाने कार्यतालिकाले मात्र हैन यहाँ पढाईको दिनमा समेत कक्षा बिहान ८:३० बजे देखि सुरू हुने हुदाँ यस्तै चटारो हुन्छ । उज्यालो रेडियो नेटवर्कको कायाँकैरन नेपाली समाचार सुन्दै ब्रेकफास्ट खाएँ । यहाँको अर्को नयाँ ठाउँको यात्रा गर्न उत्सुक थिएँ । जेनेभाबाट ६२ किलोमिटर पूर्वोत्तरमा रहेको लोसान शहर स्विट्जरल्याण्डको जेनेभा तालको किनारामा अवस्थित छ । लोसानमा फ्रान्सेली भाषा बोलिन्छ । यहाँ अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालय, ओलम्पिक संग्रहालय र ओलम्पिक पार्क लगायत बिभिन्न सम्पदाका कलात्मक संरचनाहरू रहेका छन् ।
मलाई यहाँको ट्रेन ढिला भएको अनुभव छैन । बिहान ७:४२ को ट्रेन थियो । त्यसैले १० मिनेट अगावै डेलेमो ट्रेन स्टेशनमा पुगे । प्लेटफर्ममा रिता बिन्दु पाण्डे दिदिसंग भेट भयो । वहाँ बिल भन्ने ठाउँमा फ्रेन्च भाषा सिक्न जानु हुदो रहेछ । यूरोपमा स्थानिय भाषाको ज्ञानको ठुलो महत्व रहेछ । झन् स्विट्जरल्याण्ड जस्तो देशमा जहाँ जर्मन, फ्रेन्च, ईटालियन, रोमन्च भाषाहरू आधिकारीक भाषाका रुपमा प्रचलनमा छन्, स्थानिय भाषाको जानकारी हुन सके दैनिकि सहज हुनुका साथै विविध अवसरहरु प्राप्त हुने रहेछ । भुमि गुरुङ दाई र विनय श्रेष्ठ दाईले भन्नु भएको भाषा ज्ञानको महत्व याद आयो । उहाँहरु सदैव भाषा सिक्नु पर्छ भन्नुहुन्छ । बिन्दु दिदिसंगको कुराकानीमा भाषा सिकाईमा वहाँको उत्सुकत्ता झल्किन्थ्यो । यहाँको सार्बजनिक यातायात (ट्रेन) मा नेपाली भाषामा कुराकानी गर्दै यात्रा गर्न ज्यादै रमाईलो लागिरहेको थियो ।
नेपालमा सार्बजनिक यातायात र सडक यात्रामा सुधार कहिले होला भन्ने कुरा हाम्रो चिन्ताको बिषय बन्यो । मलाई स्विट्जरल्याण्डको भिसा लागेर घरमा भेटघाट गर्न काठमाण्डौ देखि नारायणगढको दिनभरको यात्राको याद आयो । दिदि भन्दै हुनुहुन्थ्यो, नेपालमा सडक दुर्घटना कति भैरहन्छन् । हालै मात्र काभ्रेको बिर्तादेउरालीमा भएको बस दुर्घटनामा धेरैले ज्यान गुमाउनु परेको कुरा सम्झाउनु भयो । मैले पनि ३ – ४ महिनाको छोटो काभ्रे बसाईमा त्यहाँको यात्रा गरेको थिए, सडक अप्ठ्यारो थियो । कोशीपारीको यात्रा भने पछि अफिसका सबैले जिब्रो टोक्दथे । बर्षायाममा झन् कस्तो भयो होला । सडक विकासमा देशको पहाडी भु-बनोटलाई खोट लगाउनु त निहुँ पार्नु मात्र हो रैछ भन्ने नेपाल कै जस्तो भुगोल भएको स्विट्जरल्याण्ड आए पछि महशुस गरे । कुरा गर्दै गर्दा मुत्तिय अगाडीको टनेल आयो । यस्तै कुरा गदै एकैछिनमा बिल पुगियो ।
म त्यहाँबाट लोसान तर्फ जाने ट्रेन चढें । बाटोमा दायाँ-बायाँ प्रसस्तै अंगुर खेति देखिन्थ्यो । खास गरी यहाँको आधुनिक तवरले गरिएको अंगुर खेती उदाहरणिय छ । अंगुरको वाईनको बढो महत्व रहेको छ । यहाँको खेती प्रणालीमा बाली चक्रलाई सम्मान गरेको पाईन्छ । भु-संरक्षणमा ध्यान दिईएको छ । कृषकलाई नीतिगत तवरले नै प्रोत्साहन गरेको पाईन्छ र कृषि पेशा सम्मानित छ ।
ठिक समयमा ९:२७ बजे लोसान ट्रेन स्टेसनमा पुगें । त्यहाँबाट बसमा मेला स्थल पुगियो । Comptoir Suisse 2016 – National Fair in Lausanne मा स्वीस विकास नियोगले विश्वभर बिभिन्न मुलुकमा संचालन गरेको बिभिन्न कार्यक्रमहरूको प्रर्दशनी स्टल मध्ये बाली उपचार शिबिर (Plant Clinic) संचालन गर्ने कार्यक्रमका बारेमा आगन्तुक सहभागीहरूलाई बनस्पति चिकित्सक (Plant Doctor) को रूपमा विषयगत जानकारी गराउनु पर्ने मेरो जिम्मेवारी थियो । स्थानिय भाषा फ्रेन्च भएकाले कार्यक्रमको साझेदार संस्था CABI को तर्फबाट जुलिएनले भाषागत सहजिकरण गरे । उक्त्त कार्यक्रम नेपाल लगाएत विश्वका ३४ देशमा लागु भएको छ ।
खास गरी बालीनालीमा देखा पर्ने बिभिन्न समस्याहरू क्लिनिकमा पहिचान गरी सोको व्यवस्थापनका लागि सल्लाह, सुझाव दिई बालीनालीमा रोगकीरा तथा अन्य समस्याबाट हुने क्षति कम गरी उत्पादन बृद्ढि गर्नु बाली उपचार शिबिर कार्यक्रमको उद्देश्य रहेको छ । मेलामा आउने दर्शकहरूले बाली उपचारको प्रकृयाको बारेमा उत्सुकत्ताका साथ जिज्ञासा राख्दथे । बालीनालीमा रसायनिक बिषादीको प्रयोग कम गर्न के के बिधिहरू हुन्छन् ? धेरैको चासो रहेको थियो । मेलामा आउने कृषक र आम उपभोक्ताहरू नै थिए । उनिहरू रसायनिक मल बिषादीको प्रयोग बिना उत्पादन गरिएको अर्ग्यानिक उत्पादन राम्रो हुने बताउँदथे । अधिकांश जनमानस स्वास्थ्य प्रति सचेत रहेको पाएँ । हुनतः बालीनालीमा क्षति गर्ने रोग कीरा व्यवस्थापन गर्न रसायनिक बिषादी प्रयोग गर्नै नहुने हैन । प्रयोग गर्दा समस्याको सही पहिचान गरि उचित बिषादी सुरक्षित तवरले प्रयोग गर्ने, रसायनिक बिषादी प्रयोग गरे पश्चात् उपभोग गर्न पर्खनु पर्ने समय अबधिको पालना गरेमा यसको नकरात्मक असर कम गर्न सकिन्छ ।
मेलामा आएका मध्ये केहीलाई नेपालको बारेमा प्रशस्त जानकारी भएको पाए । केहिले नेपाल भ्रमण गरेका रहेछन् । भुकम्पको असर र त्यस पछिको पुनःनिर्माण, त्यस लगतै भएको नाकाबन्दी बारेमा धेरैले चासो राख्दथे । नेपाललाई सकरात्मक रूपमा लिएको पाउँदा खुसी महसुस भयो । केही समय त्यहाँका व्यवसायिक स्टलहरू अबलोकन गर्ने अवसर मिल्यो । गाईको प्रतिस्पर्धात्मक प्रर्दशनी ज्यादै रोचक थियो । यसरी बिभिन्न कृषिजन्य उत्पादनहरूको प्रर्दशनीले स्थानिय उत्पादनलाई प्रोत्साहन हुन्छ । यहाँ खाध्य पदार्थको गुणस्तरलाई बिशेष महत्व दिईन्छ ।
डेलेमो, स्विट्जरल्यान्ड, ३० सेप्टेम्बर, २०१६
लेखक परिचय:
नेपाल सरकार, कृषि विकास मन्त्रालय अन्तर्गत जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलान्चोकमा बाली संरक्षण अधिकृत पदमा कार्यरत लेखक अधिकारी हाल युनिर्भसिटी अफ न्यूस्याटेल, स्विट्जरल्याण्डमा एकीकृत बाली व्यवस्थापन बिषयमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । सम्पर्क: debhorti@yahoo.com