डा. विनय श्रेष्ठ। कोपेनहेगनको नवौं एनआरएनए युरोपेली क्षेत्रीय बैठक र सातौं क्षेत्रीय सम्मेलनको राग मेटिन नपाउँदै गैरआवासीय नेपालीहरु अमेरिकाको न्यूजर्सीमा यही हप्ता भेला हुँदैछन् । यो भेला एनआरएनएका अन्य भेलाहरू भन्दा पृथक रहने संकेत यसको नाराले नै झल्को दिइसकेको छ ।
अमेरिकाको न्यूजर्सीमा यही अगष्ट २७ र २८ मा नवौं एनआरएनए क्षेत्रीय सम्मेलन हुन लागेको हो । गैरआवासीय नेपाली संघले आफ्नो संस्थागत संरचनालाई मजबुद बनाउँदै आफ्ना उद्देश्य र लक्ष्यहरु हासिल गर्न नियमितरुपमा विविध संस्थागत बैठक, सभा र सम्मेलनहरु सञ्चालन गर्दै आएको छ ।
संघको विश्व सम्मेलन, अन्तराष्ट्रिय महाधिवेशन र क्षेत्रीय सम्मेलनहरु प्रत्येक २ वर्षमा र क्षेत्रीय बैठकहरु हरेक वर्ष आयोजना गर्ने गरिएको छ । यसै सिलसिलामा न्यूजर्सीमा क्षेत्रीय सम्मेलनको आयोजना भएको हो ।
हरेक विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र बैठकका लागि एक नारा तय गरेर त्यही सारमा केन्द्रित रही छलफल र निर्णयहरु गर्ने प्रथा संघमा छ । न्यूजर्सीमा आयोजना हुने नवौं एनआरएन क्षेत्रीय सम्मेलनको नारा भने आजसम्मका चलन चल्तीका नाराहरु भन्दा भिन्न प्रकृतिको छ । न्यूजर्सी क्षेत्रीय सम्मेलनको नारा “NRNA VISION 2020 & BEYOUND” राखिएको छ ।
जुन नेपाल वा नेपालीसँग समसामयिकरूपमा सम्बन्धित देखिँदैन, तर संघको दीर्घकालीन दृष्टिकोणप्रति दिशानिर्देश गर्ने ध्येय राखेको देखिन्छ । गैरआवासीय नेपाली संघको इतिहास, यसको विकासक्रम, कार्यनीति, संस्थागत संरचना र लक्ष्यहरूको पुनरावलोकन गर्दै संघका नवीनतम चुनौतिलाई सम्बोधन गर्नु अहिलेको आवश्यकता हो ।
त्यसबाहेक आउँदो दशकमा संघको भूमिका कस्तो रहनेछ भनी दीर्घकालीन योजना बनाउनु र ती उद्देश्य प्राप्तिका लागि आधारभूत संस्थागत संरचना निर्माण गर्नु पनि जरूरी हुन्छ ।
न्यूजर्सी सम्मेलनको नाराले गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको १३ वर्ष पश्चात् संस्थागत संरचना र कार्यनीतिमा परिमार्जन र दीर्घकालीन नवीन दृष्टिकोणको आवश्यकता महसुस गरेकोतर्फ स्पष्ट इंगित गर्दछ ।
‘भिजन २०२० एण्ड वियोन्ड’ शीर्षकमा गैरआवासीय नेपाली संघका अभियन्ताहरु विचारमग्न भई घनिभूत छलफल गर्नेछन् । ती छलफलहरुबाट जे-जस्तो निर्देशक तत्वहरूको पहिचान वा निर्णय गरिए पनि त्यसको कार्यान्वयनका लागि केही आवश्यक पूर्वाधारहरुको यहाँ विमर्श गर्ने जमर्को गरिएको छ ।
एनआरएनएका संस्थापक, संवाहक र उर्जापुरुष
गैरआवासीय नेपाली संघको सञ्जाल विश्वका ७४ मुलुकहरूमा फैलिएको छ । यसरी विश्वव्यापीरूपमा व्यापक सञ्जालको निर्माण गरेर क्रियाशील संस्था अन्तराष्ट्रिय परिप्रेक्ष्यमा पनि धेरै पाइँदैनन् । परोपकारी, मानव अधिकार वा मानवतासम्बन्धी क्षेत्रमा विश्वव्यापीरुपमा कार्य गरिरहेका संघसंस्थाहरुको स्थापना र विकासक्रमको अध्ययन गर्दा ती संघसंस्थाको स्थापना र विकासमा केही व्यक्तिहरुको दीर्घकालीन सोच, दुरदृष्टि र नेतृत्वकारी भूमिका अहं रहेको भेटिन्छ ।
गैरआवासीय नेपाली संघको स्थापना र विकासमा पनि केही व्यक्तित्वहरुले ज्यादै महत्वपूर्ण भूमिका खेलेका छन् । यद्यपि संस्थाको विकास र दैनिकीमा प्रत्येक सदस्यको योगदान अवश्य रहेको हुन्छ। विगतलाई फर्केर हेर्दा हालसम्म तीनजना भूतपूर्व अध्यक्षहरुले संघको सफल नेतृत्व सम्हालिसकेका छन् भने बहालवाला अध्यक्ष संघको चौथो नेतृत्वदायी व्यक्तित्व हुनुहुन्छ ।
संघको स्थापना काल सन् २००३ देखि २००९ सम्म डा. उपेन्द्र महतो, सन् २००९ बाट २०११ सम्म देवमान हिराचन र सन् २०११ बाट २०१३ सम्म जीवा लामिछाने अध्यक्ष थिए भने सन् २०१३ मा अध्यक्ष निवार्चित शेष घले सन् २०१५ मा दोश्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो ।
भूतपूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो र जीवा लामिछाने आफ्नो पदावधि सकेपछि पनि गैरआवासीय नेपाली संघका लगभग हरेक र प्रवासी नेपाली समाजका महत्वपूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ भाग लिइरहेको भेट्न सकिन्छ । संघको इतिहास, कार्यनीति, कार्यदिशा, लक्ष्य र उद्देश्यका बारेमा जिज्ञासुहरुद्वारा राखिएका प्रश्नहरुको उत्तर र सहभागिताका लागि डा. महतो र लामिछाने सदैव तत्पर देखिन्छन् ।
संघका परोपकारी योजनाहरुमा आर्थिक सहयोगका लागि आनाकानी गरेको पनि सुनिँदैन । दोस्रो कार्यकाल निर्वाह गर्दै गरेका वर्तमान अध्यक्ष शेष घले विशेष जोश र जाँगरका साथ संघको कार्य सम्पादनमा लागि परेको तथ्य सर्वविदितै छ ।
योगदान, लगाव र समर्पणका हिसाबले मेरो विचारमा यी तिनै सक्रिय व्यक्तित्वहरु संघका निम्ति महापुरुष, युग प्रवर्तक र उर्जापुरूष हुन् । यी तीन व्यक्तित्वहरु गैरआवासीय नेपाली संघका संस्थागत खम्बा, वैचारिक धरातल र क्षितिज अनि संघको स्थायित्व र निरन्तरताका ‘ग्यारेन्टी’ हुन् । गैरआवासीय नेपाली संघलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा अझ प्रभावशाली र प्रभावकारी संयन्त्र बनाउनका लागि संघका हरेक सानाठूला कार्यनीतिगत एवं लक्ष्यगत परिमार्जनमा यी तिनै व्यक्तित्वहरुको सहमति र संलग्नताको आवश्यकता रहन्छ ।
‘भिजन २०-२० एण्ड वियोन्ड’ मा यी तीनैजना व्यक्तित्वहरु लगायत अन्य अभियन्ता र सहभागीहरुको दृष्टि, सोच र चिन्तन समेटिनु पर्दछ ।
नवीन संस्थागत र व्यवस्थापकीय सोच
गैरआवासीय नेपाली संघको विश्वव्यापी सञ्जालको आकार ब्यापक र विशाल भएको छ । ७४ राष्ट्रहरुमा संघका राष्ट्रिय समन्वय परिषदहरु गठित छन् । त्यसैगरी विविध क्षेत्रमा कार्य गर्नेगरी गठन र सञ्चालन भएका संघका दर्जनौं समिति र टास्क फोर्सहरु छन् । आयतन बढ्दै जाँदा गैरआवासीय नेपाली संघ एक बृहद् र जटिल सांगठनिक संरचना भएको संस्था बनेको छ । जसका कारण संघका साधारण सदस्यहरुलाई ति विभिन्न संस्थागत इकाइका काम, कर्तब्य र अधिकारका बारेमा बुझाउन नसकिएको अवस्था छ ।
विधान र नियमावली बुझ्नु त अझ जटिल छ । यसले संघको प्रभावकारितालाई सीमित गरिरहेको छ । त्यसैले संघको जटिल संस्थागत संरचना र कार्यविधिमा यथाशीघ्र नवीनता आउनु आवश्यक देखिन्छ । ‘भिजन २०-२० एण्ड वियोन्ड’ बाट गैरआवासीय नेपालीहरुले माथि उल्लेखित विषयमा अवश्य पनि नवीनताको अपेक्षा गरेका छन्।
आधुनिक व्यवस्थापकीय मान्यताले काम, कर्तब्य र अधिकारको अधिकतम विभाजनको वकालत गर्दछ । त्यसैगरी प्रशासकिय रूपमा पनि कार्य-विभाजन सुझाइन्छ । गैरआवासीय नेपाली संघको संस्थागत रुपमा विभाजित ६ क्षेत्रका अवसर र चुनौतिहरु केन्द्रबाट मात्र सम्बोधन हुन सक्दैनन् । त्यसैले विकेन्द्रिकरणका माध्यमबाट क्षेत्रीय इकाइहरुलाई अझ बढि काम, कर्तव्य र अधिकार प्रदान गर्दा संघको प्रभावकारितामा वृद्धि हुने देखिन्छ । तर, विकेन्द्रिकरणलाई प्रभावकारी ढंगले लागू गर्न मजबुत सांगठनिक घरातलको आवश्यकता पर्दछ, जसको प्रकृति आन्तरिक छलफलका माध्यमबाट तय गरिनु पर्ने देखिन्छ ।
नेपालीका लागि नेपाली कि ? नेपालीका लागि सबै ?
‘नेपालीका लागि नेपाली’ गैरआवासीय नेपाली संघको स्थापनाकालदेखिको मूल मन्त्र हो । यसले गैरआवासीय नेपालीहरुलाई नेपाल र नेपालीका लागि योगदान गर्न हौस्यायो । नेपाल र नेपालीका लागि हामीले नगरे कसले गर्ने ? भन्ने सोचमा जागरूकता बढायो । जुन ज्यादै सकारात्मक छ ।
गैरआवासीय नेपाली संघको विगत १३ वर्षको इतिहास केलाउने हो भने संघका प्रायः सबै सानाठूला योजनाहरुमा सामान्यतः नेपालीहरुको मात्र योगदान रहेको छ । संघको मूलमन्त्र ‘नेपालीका लागि नेपाली’ र त्यससँग अन्तरनिहित भावना कतै संसारभर फैलिएर रहेका विदेशी मित्रहरुको योगदान लिन बाधक बनिरहेको त छैन ? संघको सम्पूर्ण कामकारवाही त नेपालीले नै सम्पादन गर्ने हो, तर सहयोग त देशी-विदेशी सबैको लिनुपर्छ ।
गैरआवासीय नेपाली संघको कार्यक्षेत्र विस्तार हुँदै गर्दा हामीले ती नयाँ कार्यक्षेत्र र योजनाका लागि स्रोत र साधन जुटाउन आवश्यक छ । यसका लागि हाम्रो मूलमन्त्र नै फेरिनुपर्छ भन्ने छैन । तर, विदेशी संघसंस्था र विदेशी मित्रहरुबाट संघका योजनाहरुका लागि जुटाउन सकिने योगदानको अन्वेषण हुनु जरूरी छ ।
‘भिजन २०-२०’ ले यस सम्बन्धमा आवश्यक चिन्तन र कार्यनीतिको विकास गर्न सकेमा नेपालको सामाजिक-आर्थिक परिवर्तनका योजनाहरु सञ्चालनका लागि स्रोत र साधन जुटाउन सहज हुनेछ । फलस्वरूप आउँदो दशकमा संघ अझ परिष्कृत, उर्जावान् र प्रभावकारी बन्नेछ ।
(लेखक गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य र पेशाले स्वीटजरल्याण्डमा कार्यरत एक र्याडिएसन अंकोलोजिष्ट हुन् )
-अनलाईन खबर