स्विट्जरल्याण्डको कृषि क्षेत्र र नेपालमा कृषि विकासको सर्न्दभ

0

Daverajदेवराज अधिकारी। मानव विकासले निरन्तर फड्को मारिरहेको बर्तमान परिप्रेक्ष्यमा खाध्य पोषणको आधारभुत स्रोत कृषि क्षेत्रको समेत सामानान्तर विकास जरूरी रहन्छ । विश्वमा विकासको बिबिधतासंगै बिभिन्न देशहरूमा कृषिको विकास, व्यवसायिकता र आधुनिकतामा फरकपन पाईन्छ । जसलाई मुलुकको भौगोलिक, आर्थिक, सामाजिक, सास्कृतिक र राजनैतिक अवस्थाले असर पारेको हुन्छ । नेपाल एक बिकासोन्मुख कृषिमा आधारित अर्थतन्त्र भएको मुलुक हो । देशका कुल जनसंख्या मध्ये दुई तिहाई जनसंख्याको पेशा कृषि सम्बन्धि रहेको छ भने कुल ग्रार्ह्रस्थ उत्पादनमा एक तिहाई हिस्सा कृषि क्षेत्रको रहेको छ । कृषि विकास रणनीति २०१४ को दस्तावेज अनुसार सन् २०१० मा नेपालको कृषि व्यापार घाटा ३५० मिलियन अमेरिकी डलर रहेको पाईन्छ । यसको मतलव नेपालमा कृषि उत्पादनहरूको आयात भैरहेको छ । हुन त आज भन्दा ५० – ६० बर्ष पहिले नेपालबाट कृषि उत्पादनहरू बिदेश निर्यात गरेको पाईन्छ । विकसित देशमा कृषिको अवस्था हेर्ने हो भने ति देशहरूमा कृषिमा संलग्न मानिस न्यून रहेको पाईन्छ तर पनि अत्याधिक उत्पादकत्व हासिल गरेर वा खाध्यान्नमा पहुँच पु-र्याएर खाध्य सुरक्षित रहेका हुन्छन् । यस लेखमा नेपालको जस्तै भौगोलिक बनावट भएको एक विकसित मुलुक स्विट्जरल्याण्डमा कृषिको सर्न्दभ प्रस्तुत गरिएको छ, जसको केही पक्ष नेपालको कृषि विकासमा अबलम्बन गर्न सक्ने अवसरको रूपमा रहन सक्दछ ।

Daveraj1फोटो १: घाँसे मैदान सहितको भु-दृष्य

स्विट्जरल्याण्ड भन्ने बित्तिकै हाम्रो मानसपटलमा हरियो घाँसे मैदानको कल्पना आउदछ जुन घाँसे मैदानहरू यहाँको कृषि प्रणालीको अभिन्न अंग हुन् । यहाँको कृतिम घाँसे चउरहरू यहाँको बालीचक्रसंग सम्बन्धित रहेका छन् । निश्चित समय अन्तरालमा २ – ४ बर्ष यस किसिमको बाली अबलम्बन गर्न नियमन गरिएको छ । यसले माटोको संरक्षण र उर्वराशक्ति व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । खेतीपातीमा व्यवसायिकता सँगै दिगोपनाको लागि बाली चक्र र उपर्युक्त बाली प्रणाली अपनाउन आवश्यक हुन्छ । साथै यहाँको खेतीपाती पशुपालनसंग एकीकृत तवरले अगाडी बढेको छ । दुध र दुग्धजन्य परिकार (चिज) यहाँको महत्वपुर्ण उत्पादन हो ।

कृषिगत अवस्थाः

स्विट्जरल्याण्डमा कुल क्षेत्रफल मध्ये एक चौथाई भु-भागमा खेतीपाती गरिएको छ । विविध भु-बनोट, चिसो हावापानी र कमजोर माटोको अवस्था रहेको भएतापनि आधुनिक प्रबिधि, व्यवसायिकता र नीतिगत व्यवस्थाले उच्च उत्पादकत्व कायम राखि कृषि व्यवसाय सम्मानित छ । कृषि उत्पादनले देशको कुल ग्रार्ह्रस्थ उत्पादनमा १ प्रतिशत हिस्सा ओगटेको छ भने मुलुकको खाध्य आवश्यकता मध्ये ६० प्रतिशत पुर्ति गरेको पाईन्छ । यहाँ खेती हुने मुख्य बालीहरूमा गहुँ, जौ, आलु, तोरी, सुर्यमुखी, मकै, राई, चुकन्दर, अंगुर, बिभिन्न फलफूल तथा तरकारी बालीहरू हुन् । यसो त तथ्यांकहरूलाई विश्लेषण गर्दा कृषि फर्महरूको संख्या घट्दो क्रममा रहेको पाईन्छ । स्विट्जरल्याण्डमा हाल पचास देखि साठ्ठी हजारको हाराहारीमा कृषि फर्महरू रहेका छन् । औषत फार्म साईज १९ हेक्टर रहेको छ ।

नीतिगत व्यवस्थाः

सरकारले कृषिलाई नियमन गरेको पाईन्छ । दीगो कृषि प्रणालीमा जोड दिईएको छ । कृषिजन्य उत्पादन आयात निर्यातमा नियमन गरेको पाईन्छ । यहाँको कृषि प्रणालीलाई बिभिन्न किसिममा बर्गिकरण गरिएकोछ । सोही आधारमा बाली व्यवस्थापन प्रणाली, अनुदान सहयोग, उत्पादनको बजार मुल्य निर्धारणमा सहजिकरण गरेको पाईन्छ । खाध्यान्नको आवश्यकतालाई ध्यान दिदै कृषि उत्पादनमा संलग्न कृषकलाई प्रोप्साहन गरिएको छ । पर्यावरणमैत्री तथा दीगो कृषि प्रणाली अबलम्बन गर्दा प्राप्त हुने गैह् मौद्रिक सेवा वापत सरकारले बिभिन्न आधारमा प्रति ईकाई क्षेत्रफल प्रत्यक्ष भुक्तानि उपलब्ध गराई कृषक र कृषि पेशालाई संरक्षण गरेको छ । खाध्य पदार्थको गुणस्तर सोका लागि उत्पादन कच्चा पदार्थमा भर पर्दछ । कृषि उत्पादनलाई खाध्य परिकार, बजार र उपभोक्तासंग जोडिएको पाईन्छ ।

माटो व्यवस्थापन र भु-संरक्षणः

पहाडी तथा हिमाली भु–बनोटले गर्दा स्विट्जरल्याण्डमा भु–संरक्षण, माटो व्यवस्थापन र कृषि उत्पादनमा चुनौती रहेको छ । तथापी बैज्ञानिक भु-व्यवस्थापनले भु-संरक्षणमा टेवा पुगेको छ । जमिन खाली राख्न नपाईने, बाली चक्रमा कृतिम घाँसे मैदान आदी नियमहरूले दिगो भु-व्यवस्थापनमा सहयोग पुगेको छ । माटो व्यवस्थापनमा एकीकृत प्रणाली, प्रांगारिक पदार्थको प्रयोग, पशुपालनबाट प्राप्त हुने मलखादको प्रयोग साथै सन्तुलित खाध्यतत्व व्यवस्थापन रहेका छन् । हाम्रो मुलुकको बिशेषतः पहाडी क्षेत्रमा हरेक बर्ष भु-क्षयले मलिलो माटो नोक्सानी भैरहेको छ । सोको संरक्षणका लागि उक्त भिरालो जमिनमा खेती गर्दा भिरालोपनको बिपरित तवरले खेती गर्ने, जमिन ढाक्ने खालका बालीहरू लगाउने आदी व्यवस्थापन गर्न सकिन्छ ।

यान्त्रिकरण र संरक्षण खेतीः     

विकसित देशहरूमा हरित क्रान्तिको प्रभाव पहिल्य नै रहेको बिधितै छ । अत्याधिक यान्त्रिकरणले उत्पादकत्व बृद्दि र उत्पादन लागत समेत न्यून रहेको पाईन्छ । तर ठुला ठुला यन्त्रहरू निरन्तर खेतबारीमा प्रयोग गर्दा माटोमा बिभिन्न समस्याहरू जस्तो की soil compaction को असर समेत दिगो उत्पादनमा चुनौती रहेको छ । बिभिन्न अनुसन्धानले यस तथ्यलाई पुष्टि समेत गरेको छ । यसको बिकल्पको रूपमा संरक्षण कृषि (कम खनजोत, बाली चक्र, जमिन ढाक्ने बाली, बालीको अबशेष व्यवस्थापन)मा लाग्नु पर्ने देखिन्छ । व्यवसायिकता तथा यान्त्रिकरणको लहरमा रहेको हाम्रो मुलुकमा यस प्रकारको संभावित नकरात्मक पक्षलाई बेलैमा ध्यान दिनु सार्न्दभिक हुन्छ ।

Daveraj2फोटो २: कृषि यान्त्रिकरण

प्राङगारिक उत्पादनः

खेतीपातीमा उत्पादन बृध्दिका लागि रसायनिक मलखाद तथा बिषादीहरूको प्रयोग भएको पाईन्छ । उत्पादन बृद्दि संगै यसले पार्ने नकरात्मक प्रभावहरू समेत देखा परेका छन् । स्विट्जरल्याण्डमा सन् २०१५ को तथ्यांक अनुसार खेती गरिएको कुल क्षेत्रफल मध्ये १२.८ प्रतिशत क्षेत्रमा प्रांगारिक खेती गरिएको छ । भने उपभोक्ता बजारको ७.७ प्रतिशत प्रांगारिक उत्पादनले ओगटेको छ । प्रांङगारिक उत्पादनको ब्राण्ड वायो-स्वीस अर्न्तरगत प्रांगारिक खेती गर्ने ९५ प्रतिशत कृषकहरू आबद्द रहेका छन् जसमा करिव ६००० सदस्य फर्महरू छन् । त्यस्तै वातावरणमैत्री तवरले (रसायनिक बिषादीको प्रयोग नगरी उत्पादन गर्ने) खेती गर्ने आई.पि.–स्वीस अन्तर्गत १८,५०० फर्महरू सदस्य रहेका छन् । नेपालमा खेतीपातीमा बढ्दै गएको व्यवसायिकता संगै रसानिक मलखाद तथा बिषादीले पार्ने दुस्प्रभाव बारे चेतना बृद्दि गरि एकीकृत तथा प्रांगारिक प्रणालीमा लाग्नु पर्ने आवश्यकता रहेकोछ।

Daveraj3फोटो ३: वायो-स्वीस र आई.पि.–स्वीस

कृषि पर्यावरणिय प्रणाली व्यवस्थापनः

जैविक बिविधता, वातावरण संरक्षण र उपयोगिताका लागि परागशेची, परभक्षी, परजिवी मित्रजीवहरूको लागि वासस्थान, आवश्यक वातावरण व्यवस्थापन गरिएको Ecological Compensation Area लाई ध्यान दिएको पाईन्छ । कुल खेती गरिएको क्षेत्रफल मध्ये कम्तीमा ७ % क्षेत्र पर्यावरणिय प्रणाली व्यवस्थापनका लागि छुट्याउनु पर्ने हुन्छ । कृषि पर्यावरणिय प्रणाली व्यवस्थापनको यो शर्त पालना गर्ने कृषकलाई प्रति ईकाई क्षेत्रफलको हिसावले रकम उपलब्ध गराउने प्राबधान रहको छ ।

यसका अलवा विभिन्न बालीहरूको जातिय विकास र बीउ उत्पादनमा कार्य गरेको पाईन्छ । कुनै पनि बालीको जातिय विकासमा जातिय विकासको अवश्यकता पर्दछ । स्थानिय तथा रैथाने जातहरूको संरक्षण, संबद्दन र उपयोगितामा ध्यान दिनु पर्ने हुन्छ । यहाँको कृषि नीति कृषि क्षेत्रमा उच्च लगानी, बजार प्रर्बद्दनमा जोड, अनुसन्धान र प्रसार कार्यमा केन्द्रित रहेको छ ।  सोको प्रभावकारी कार्यान्वयन र उचित अभिलेखिकरण व्यवस्थापन गरिएको छ ।

Daveraj4फोटो ४: गहुँ खेती

नेपालमा कृषि पेशा अदृश्य बेरोजगारीको रूपमा रहेको छ । अधिक जनशक्ति कृषिमा आबद्ध् रहे तापनि खाध्यान्न बासलात सन्तोषजनक छैन । यद्धपी खाध्यान्न उपलब्धता, बितरण प्रणाली र पहुँचमा भौगोलिक बनावट, खाने व्यवहार र अन्य पुर्वाधारहरूले असर पारेको छ । कृषि क्षेत्रको विकासका लागि देशमा सरकारी, गैह्सरकारी निकायहरू तथा व्यक्तिगत तवरले कृषकहरू संलग्न रहेका छन् । तथापी उच्च संख्यामा रहेका कृषक समुदायमा प्रबिधि विस्तार, अनुदान सहयोग अप्रर्याप्त रहेको छ । कृषि शिक्षा, अनुसन्धान र प्रसारको यथोचित तादम्यता रहेको पाईदैन । यसका अलवा भौगोलिक बिकटता, सिंचाई, यातायात, उर्जा जस्ता पुर्वाधारमा कमी, उत्पादन सामाग्रीहरू (गुणस्तरिय बीउ, मलखाद, बिषादी आदी) तथा औजार सामाग्रीहरूको सरल पहुँच नहुनु जस्ता समस्याहरूले देशको कृषि क्षेत्रको विकासमा बाधा पु-याएको भनि बिभिन्न प्रतिवेदनहरूमा उल्लेखित छन् । यसो त शिक्षित युवा जनशक्तिको कृषि क्षेत्रमा कम रूची, अबैज्ञानिक भु-उपयोग पद्धती आदी समेत नेपालको कृषि विकासमा समस्याको रूपमा रहेका छन् ।

समृद्ध नेपालको परिकल्पनामा कृषि क्षेत्रको विकास समेत प्रमुख भएर आउदछ र पनि कृषि पेशा हेला कै पेशाको रूपमा रहेको छ । हाल केही कृषि उधमीहरूका अब्बल उदाहरणहरू आशाको पालुवाको रूपमा पलाएका छन् । नेपालको मौजुदा अवस्था अनुसार निश्चित स्थानमा तुलनात्मक लाभको कार्यहरू (प्राकृतिक स्रोत साधनको सदुपयोग, पर्यटन प्रर्बद्दन, पुर्वाधार विकास, बिशेष कृषि उत्पादन आदी) को अवसर रहेको छ । नेपालमा कृषि पेशा धेरै जसो निर्वाहमुखी रहेको छ । कृषिलाई व्यवसायको रूपमा अवलम्बन गर्न जरूरी छ । कृषिलाई व्यवसायिक, नाफामुलक तथा दिगो बनाउन यस क्षेत्रमा लगानी, नीतिहरूको सही कार्यान्वयन हुन जरूरी रहेको छ । स्थान बिशेष बालीको उत्पादनमा जोड, प्रांगारिक उत्पादन, उच्च मुल्यका निर्यातयोग्य बालीहरू उत्पादन गरि आयात प्रर्तिस्थापन तथा निर्यात प्रर्बद्द्न गर्न आवश्यकता रहेको छ ।

लेखक नेपाल सरकार, कृषि विकास मन्त्रालय अन्तर्गत जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलान्चोकमा बाली संरक्षण अधिकृत पदमा कार्यरत छन् हाल युनिर्भसिटी अफ न्यूस्याटेल, स्विट्जरल्याण्डमा एकीकृत बाली व्यवस्थापन बिषयमा स्नातकोत्तर तहमा अध्ययनरत छन्। debhorti@yahoo.com

 

 

 

Share.

Leave A Reply