पेरिस, ३१ जेठ । अमेरिकाको ओल्र्याण्डोमा भएको हत्याकाण्डको विरोध तथा अमेरिकी नागरिकप्रति ऐक्यवद्धता जनाउन सोमबार राति फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टाउरमा अमेरिकी झण्डाको रङ्गमा रङ्ग्याइने भएको छ ।
सोमबार साँझ अमेरिकाको झण्डाको रङ्ग रातो, सेतो र नीले रङ्गले आइफेल टाउरलाई उज्यालो पारिने भएको पेरिसबाट प्राप्त समाचारमा जनाइएको छ ।
पेरिस नगरले सोमबार सो कार्यक्रम राखेको विज्ञप्तिमार्फत जानकारी दिएको समाचारमा जनाइएको छ ।
त्यसैगरी पेरिस नगरको हलमा पनि फ्रान्सेली झण्डा र त्यसको साथमा समलिङ्गी समुदायहरुको रेन्बो झण्डा फहराइने भएको बताइएको छ ।
पेरिस नगरका नगरप्रमुख आन्नी हिदाल्गोले भन्नुभयो– अमेरिकामा भएको सो नरसंहारपछि अमेरिकी नागरिकहरुप्रति ऐक्यबद्धता जनाउनुको साथै उनीहरुप्रति सान्त्वना प्रदान गर्न यो कार्यक्रम राखिएको हो ।
संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा अवस्थित रात्रि क्लबमा गोली चलाएर एक व्यक्तिले कम्तीमा पनि ५० जनाको हत्या गरेको थियो ।
आइतबारको सो घटनाको विश्वव्यापी रुपमा निन्दा भएको छ । साथै विश्वका नागरिकले अमेरिकीलाई समवेदना पनि पठाएका छन् ।
सो रात्रि क्लबमा एक जना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउदा कम्तीमा पनि ५० जनाको मृत्यु भएको थियो । अरु दर्जनौँ घाइते भएका छन् । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । रासस÷एएफपी