नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ६१औं वर्षमा प्रवेश गरेकोे छ । स्थापना दिवसको अवसरमा महासंघले आज बिहान राजधानीमा प्रभातफेरि गरेको छ । प्रभातफेरी राजधानीको भृकुटीमण्डपबाट शुरु भई शान्तिबाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।
जिल्ला शाखाहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिनुहुँदै महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सबै पत्रकारलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न सुझाव दिनुभएको छ । उहाँले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था नाजुक रहेको भन्दै सबै निजी तथा सरकारी सञ्चारमाध्यमका व्यवस्थापन पक्ष र सरकारसँग श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा गम्भीर हुन सचेत पनि गराउनु भएको छ । स्थापना दिवसकै अवसर पारेर महासंघकै आयोजना भोलि दशरथ रंगशालामा पत्रकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुने महासंघले बताएको छ ।