उत्तर कोरियामाथि थप प्रतिवन्धको प्रस्ताव

0

उत्तर कोरियामाथि थप प्रतिवन्धहरु लगाउने चीनको समर्थनप्राप्त प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरिसकेको छ।

प्योङयाङले हालै गरेको परमाणु र क्षेप्यास्त्र परिक्षणको पृष्ठभुमिमा पछिल्लो कदम चालिएको हो।

नयाँ प्रतिवन्ध अनुसार उत्तर कोरियाबाट बाहिरिने र भित्रिने मालसामानको निरिक्षण गर्ने र उस्लाई हातहतियार बिक्रि गर्न पूर्णरुपमा बन्देज लगाउने प्रस्ताव गरिएको छ।

नयाँ प्रस्तावहरु अनुसार अब पहिलो पटक संयुक्त राष्ट्रसंघका सदस्यहरुले उत्तर कोरिया पठाइने वा त्यहाँबाट आउने सबै मालसामानको विस्तृत जाँच गर्नु पर्नेछ।

‘कडा’

राष्ट्रसंघका लागि अमेरिकी राजदूत समान्था पावरले पछिल्लो प्रस्ताव २० बर्ष भन्दा बढी समय यता, राष्ट्रसंघको सुरक्षा परिषदले घोषणा गरेको सबैभन्दा कडा प्रतिवन्ध हुने बताइन्।

“इतिहाँस मै पहिलो पटक उत्तर कोरियाबाट बाहिरिने र भित्रिने सामानहरुको अनिवार्य निरिक्षण गरिनेछ। पहिलो पटक नै उत्तर कोरियालाई सबै खाले साना तथा परंपरागत हातहतियार बेच्नबाट प्रतिवन्ध लगाइनेछ।”

उनको भनाइमा नयाँ प्रतिवन्धहरुले उत्तर कोरियालाई हरेक क्रियाकलापका परिणामहरु हुनेछन् भनि देखाइदिने छ।

मस्यौदा प्रस्तावमाथि आउने सप्ताहअन्तमा मतदान हुन अपेक्षा गरिएको छ।

उत्तर कोरियाले गएको फेब्रुअरीमा गरेको लामो दूरीको रकेट प्रक्षेपण र जनवरीमा गरेको परमाणु परिक्षणका कारण राष्ट्रसंघीय प्रस्तावहरुको घोर उल्लंघन भएको भन्दै भर्त्सना गरिएको थियो।

चीनले पनि उत्तर कोरियाका कदमको विरोध गरेको थियो तर आफ्नो छिमेकीको स्थीरता खलबल्याउने खालका प्रतिवन्धहरु स्वीकार गर्न अनिच्छा देखाएको थियो।

निषेध

नयाँ प्रस्तावहरुले उत्तर कोरियाका पानी जाहाजहरुलाई विश्वका कुनै पनि बन्दरगाहबाट गैरकानुनी सामानहरु लैजान निषेध गर्नेछ भने साना हतियार खरिद गर्न पनि हतियार तथा गोलीगठ्ठाको व्यापारमा विस्तार गरिएको प्रतिवन्धले बाधा खडा गर्नेछ।

कोइला, फलाम सुन र अन्य खनिजहरु आयात गर्न पनि प्रतिबन्ध लाग्नेछ र उत्तरलाई रकेट र हवाई इन्धन समेत आपूर्ती गर्न पाइनेछैन।

बिहीबार गरिएको घोषणा अमेरिका र चीनबीच हप्तौँयता जारी वार्ताको परिणाम भएको ठानिएको छ जसले यसै हप्ता अमेरिकी विदेशमन्त्री जन केरी र चीनियाँ विदेश मन्त्री वाङ लीबीच वासिङटनमा वार्ता सम्भव तुल्याएको थियो।

उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम विशुद्ध वैज्ञानिक उद्देश्यले गरिएको बताउने गरेको छ तर अमेरिका, दक्षिण कोरिया र उसको साझेदार चीनसम्मले ती एक महादेशबाट अर्को महादेशसम्म पुग्ने क्षमताका ब्यालिस्टिक मिसाइल बनाउने उद्देश्यका साथ गरिएको आरोप लगाउने गरेका छन्।

-बीबीसी नेपाली

Share.

Leave A Reply