गैर आवासीय नेपाली संघमा आबध्द
संपूर्ण दिदी बहिनी दाजु भाइमा,
हार्दिक नमस्कार ।
म निर्मल अर्याल, गोरखा वजारको ऐतिहासिक ज्योतिषी परिवारमा जन्मेर प्रार्थमिक शिक्षा पढेर सन् १९९० मा वुवा-आमाले फ्रान्समा झिकाउनु भएकोले हाल सम्म फ्रान्समै रहेको छु । फ्रान्स आएर माध्यमिक तहवाट आफ्नो अध्यायन शुरु गरी Civil Engineering मा Master’s Degree पूरा गरेर सन् २०१० मा Sustainable Housing and Construction विषयमा MPhil – Specialised Master’s को डिग्री हासिल गरेको छु । Master’s Degree पछि जागिरे पेशामा लागेँ, हाल एक अन्तर्राष्ट्रिय संस्थानमा आफ्नै विशेषज्ञता विषयमा मेनेजर तहमा काम गरिरहेको छु ।
मानिस सामाजिक प्राणी भएकोले आफ्नु समाजको हर परिस्थितिमा ऊ घुलमिल भएको हुन्छ । कोही पनि आफ्नो समाज भन्दा बाहिर रहेर रमाउन सक्तैन । आफ्नु समाजलाई केही योगदान गर्नु उसको कर्तव्य पनि हुन्छ । यही भावानाका साथ मेरो वुवा हरिहर अर्याल १९८० देखि विभिन्न संघ संस्थामा संलग्न भएर नेपालमा ठूलो सहयोग पुराउनु भयो भने गैर आवासीय नेपाली संघ फ्रान्स उहाँकै नेतृत्वमा स्थापना भयो । वुवाका यी सामाजिक काम म विधार्थी अवस्था देखिनै हेर्दै बुझदै र केही मात्रामा सहयोग गर्दै आएको थिँए । सन् २००५ मा अन्तर्राष्ट्रिय समन्वय परिषदका तत्कालिन उपाध्यक्ष डा. देवकाजी डंगोल फ्रान्स आउनुहुँदा वुवाले फ्रान्समा संघको स्थापनाको शुरुआत गर्नु भएको म राम्ररी सम्झन्छु र म पनि यो कार्यमा सहभागी हुने शौभाग्य पाएको स्मरण गर्दछु ।
” संगतम् जायते फलम्” भन्ने संस्कृतको उक्त्ति जस्तै वुवा र वुवाका साथीहरुको संगतमा सामाजिक कार्यमा म धरै अभिप्रेरित हुदै आए । फल स्वरुप २००७-०९ मा राष्ट्रिय समन्वय परिषद फ्रान्सको युवा प्रतिनिधि भएर काम गरे भने २०११-१३ मा अध्यक्ष भएर संघमा काम गरिसकेको छु । हाम्रो संघको यो विशाल संजालमा शायद दोस्रो पुस्ताको र थोरै उमेरमा राष्ट्रिय समन्वय परिषदको अध्यक्ष हुने व्यत्ति शायद म नै पहिलो हुँला झैँ लाग्दछ । यसमा मलाई गौरब र गर्व दुवै छ । म फ्रेन्च समुदायमा पनि राम्ररी घुलमिल भएको युवक हूँ । परोपकार र सामाजिक सेवा केही वर्ष यतादेखि मेरो दोस्रो पेशा जस्तै हुन आइपुगेको छ । म वसेको शहरको एउटा अन्तर्राष्ट्रिय सहकारी बैंक Credit Mutuel शाखा को संचालक समितिको म ६ वर्षदेखि अध्यक्ष छु भने २०१२-१४ मा, म वसेको सहरको (लगभग एक लाख जनसंख्या) नगरपालिका अन्तर्गत विदेशी नागरिक र विदेशी मूलका नागरिकको हक – हित सम्वन्धित समितिको (CCCF) निर्बाचित अध्यक्ष भएर पनि काम गर्ने अवसर पाएको छु ।
मेरो संपूर्ण परिवार (तीनै पुस्ता) धेरै वर्षदेखि फ्रान्समा वसिरहे तापनि मातृ-भूमि नेपालसंग हाम्रो धेरै आवत जावत छ । नेपालमा मेरो कुनै वन्द-व्यापार, उधोग-धन्दा छैन तर पनि जन्मेको माटोको मायाँ खातिर २५ वर्षको फ्रान्स वसाइमा म धेरै पटक नेपाल गएको छु । नेपाल जादा प्राय: पहाडी दुर्गभ क्षेत्र र तराईको गाँउमा जाने गरकोछु । गत मार्च २०१४ मा प्युठान जिल्लाको पनि विकट क्षेत्र बंदिकोट मा पुगेको थिएँ । विदेश वसेको जल्दोवल्दो एन.आर.एन.ए युवक देखेर त्यहाँका अभिभावकले स्कूल भवन निर्माणको लागि झन्डै ४० लाख रुपैयाँ लागतको योजना मेरो हातमा थमाई सहयोगको अपिल गर्नु भएको थियो । यस कामको लागि आर्थिक संकलन गरिरहेको छु -हेर्दै जाँउ के कति सहयोग गर्न सक्दछु ।
एन.आर.एन.ए. का आदरणीय अग्रजहरु र साथीहरु,
तँपाईहरु संगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क एवं सह कार्यले म दोस्रो पुस्ताको एक युवकमा पनि संघ प्रति गहिरो माया र विश्वासको सम्वन्ध बाँधिन आयो । नेपालको विकट एवं अविकसित गाँउहरुमा जादा-गाँउले हरुले हामी एन.आर.एन.ए. हरु प्रति गर्नु भयको आशा र युरोप अमेरिका घुम फिर गर्दा संघको विश्व व्यापी संजालले दिएको उपलब्धी तत् तत् स्थानका साथीहरुवाट पाएको सामिप्य्ताले गर्दा संघको अन्तर्राष्ट्रिय तहमा आफूलाई उभ्याएर संघको लक्ष्य प्राप्तिको लागि अझ थप सहयोग गर्दै, नेपाली दाजु भाइ दिदी वहिनीहरु र विशेष युवाको लागि केही सहयोग गर्ने प्रवित्र उदेश्यले आगामी अक्टोबर महिनामा काठमाडौंमा हुन गरिरहेको संघको विश्व सम्मेलन एवं सातौ महाधिवेशनमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा म युवा संयोजक पदको उमेदवार हुने निर्णय गरेको कुरा सवैमा जानकारी गराँउदछु । मेरो भावना, योग्यता, कार्य शैली, क्षमता, संघ भित्र र संघ वाहिरको सामाजिक क्रियाकलाप मा हासिल गरेको अनुभवहरु आदिको मूल्यांकन गरेर युवा संयोजकको पदमा काम गर्ने मौका दिनु हुन हार्दिक अनुरोधका साथ अपिल गर्दछु ।
हाम्रो जस्तो विश्व व्यापी संघको नीति निर्माण गर्ने अन्तर्राष्ट्रिय परिषदमा म जस्तो दोस्रो पुस्ताको युवकलाई काम गर्ने मौका दिएमा संघमा भावी पुस्ता आकर्षण हुने पनि विस्वास गर्दछु । मलाई यो पदमा काम गर्ने मौका दिनु भएमा नेपाली युवा युवती र विधार्थीहरुलाई संघले धेरै विषयमा सहयोग र आबध्द गर्नु पर्ने आवश्यकता देखिरहेको छु । यस सन्दर्भमा मेरो आफ्नै धेरै सोच र विचारहरु छन् – मेरा सोचहरु मध्ये प्रमुख बुँदाहरु संक्षेपमा निम्न अनुसार प्रस्तुत गर्दछु :
– विदेशमा रोजगारी गर्न दिनको हजारौको संख्यामा युवा युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल बाट उड्ने गरेको अवस्थामा नेपालमै रोजगारी सृजना गर्न सम्वन्धित सरकारी तथा गैर सरकारी निकायहरुसंग सहकार्य गरेर स-सानो स्केलको कम्पनी निर्माण गर्न सहयोग गरी उध्दमी कौशलता (entrepreneurial skill) को बिकास गर्ने ।
– आफ्नो आर्थिक खर्चमा विश्वका विकसित देशहरुमा अध्यायन गर्न जाने धेरै नेपाली युवा युवतीहरुले दु:ख पाइरहेको अवस्था छ । यसरी विश्वमा अध्यायन गर्न आउनेहरुलाई उपयोगी हुने जानकारी मुलक पुस्तिका तयार गर्ने । यो पुस्तिकामा राष्ट्रिय समन्वय परिषद स्थापना भएको देशहरुवाट तथ्यांक संलग्न गरिएको हुनेछ ।
– रोजगारी र अध्यायनको लागि वाहिर जाने व्यक्तिलाई निज जाने देशमा राष्ट्रिय समन्वय परिषद स्थापना भएको भए त्यस परिषदका युवा प्रतिनिधि र महिला प्रतिनिधिसंग सम्पर्क गर्ने प्रयोजनको लागि निजहरुको नाम, ठेगाना, फोन र इमेल उपलव्ध गराउन काठमाडौँको सचिवालयमा आवश्यक व्यवस्था गरि अन्तर्राष्ट्रिय विमान स्थलमा समेत त्यस्तो सुची राख्ने ।
– कुटनैतिक नियोग संग सहकार्य गरेर दोस्रो पुस्ताका प्रबासमा रहेका युवा युवती लाई नेपालको बारेमा दख्खल बनाउने र “सदभाव दूत”बनाएर नेपालको पर्यटन अथवा बिबिध क्षेत्रमा टेवा पुरयाउने ।
– विदेशमा वस्ने नेपाली नेपालमा वस्ने नेपाली जस्तै नेपाली आमाका सन्तान हुन् भन्ने भावना अभिबृद्दी गरेर दुवै तर्फका नेपाली नेपालीमा भातृत्व-भगीनित्वको सुमधुर सम्वन्ध अवच्छिन्न राख्न युवा र महिला संयोजकको संयुक्त अगुवाइमा नेपामा वस्ने युवा युवती वीच घटीमा वर्षको एक पटक राष्ट्र व्यापी खेलकूद, साहित्यिक प्रतियोगिता वा कुनै राष्ट्रिय महत्वको विषयमा वृहद अन्तरक्रिया कार्यक्रम को आयोजना गर्ने ।
– विदेशमा वस्ने गैर आवासीय दोस्रो पुस्ताका तथा वालवच्चा नेपालीहरुलाई आफ्नो भाषा, परम्परा- कला संस्कृति तथा नेपालीत्व चिनाउन तथा सिकाउन प्रत्येक राष्ट्रिय समन्वय परिषदका युवा प्रतिनिधिको संयोजनमा नेपाली भाषा कक्षा संचालन गर्ने ।
– विदेशमा वस्ने गैर आवासीय नेपालीलाई संघको अभियानमा आवह्द गराउन युवा प्रतिनिधिहरुको अगुवाइमा अन्तर (inter) र्राष्ट्रिय समन्वय परिषद व्यापी खेलकूद तथा साहित्यिक प्रतियोगीता आयोजना गर्ने ।
– संघ भित्र युवा, युवती र विधार्थी हरुको विचार-धारणा, सुख, दुख तथा योजनाहरु सुन्ने र कार्यान्वयन गर्ने पक्षमा गरिब्याँई भैरहेको अनुभव गरिरहेको छु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहमा होस् वा विश्व सम्मेलन तथा क्षेत्रीय सभा, गोष्टीहरुमा होस् युवाहरुको विषयमा पर्याप्त स्थान दिइनु पर्दछ भन्ने मेरो जिग्रह छ ।
साथीहरु,
विश्वव्यापी हाम्रो भीमकाय संघ भित्र र नेपालमा समेत गर्दा झन्डै करौडौको संख्यामा रहेका युवा, युवती र विधार्थीहरुको विषयमा यो सानो अनुरोध पत्रमा सवै लेख्नु संभव छैन र युवा संयोजक एक्लैले मात्र केही पनि गर्न सक्दैन । मैले यहाँ केही धारणा मात्र पेश गरेको छु । म सामुहिक काममा (team work) विश्वास गर्दछु । परिषद्को नीति-निर्देशन, अग्रज पदाधिकारीहरुको राय सल्लाहा, अनुमति र सहयोगमा मात्र आफ्नो क्षेत्रमा काम गर्ने मेरो अनुशासीत शैली छ । यदि मैले यो पदमा काम गर्ने मौका पाएमा अघिल्ला कार्यकालहरुमा निर्णय भइ चालू अवस्थामा रहेका असल योजना तथा कृयाकलापहरुलाई निरन्तरता दिने मेरो सोच छ ।
म जस्तै युवा संयोजकमा उमेदवार हुनुभएका र उमेदवार हुन चाहने साथीहरुलाई पनि म सम्मान पूर्वक छलफल गर्न र विचारहरु आदान प्रदान गर्न तयार रहेको जानकारी गराउन चाहन्छु । निर्वाचनले गर्ने फैसला भन्दा पनि हाम्रो विवेकपूर्ण छलफल संघ र व्यक्ति दुवैको लागि फलदायी हुनेछ । जसले पद लिए पनि कार्य सफलताको लागि आर्काको सहयोग अपरिहार्य हुने मेरो बुझाईछ ।
अन्त्यमा आगामी अक्टोवर महिनामा काठमाडौँमा प्रत्यक्ष भेट गर्ने प्रतिक्षा र तँपाईहरुको सल्लाहा, सुझाब र सहयोग पाउने आशा गर्दै, विदा माग्दछु ।
धन्यवाद,
तपाँईहरुको स्नेही
निर्मल अर्याल,
अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०१५ – २०१७) को युवा संयोजक पदको उमेदवार
पेरिस, फ्रान्स
+33 6 36 91 50 09