सहयोग होस् त चीनको जस्तो

0

नेपालमा छिमेकी सम्बन्धमा एउटा उखान छ- जिउँदाको जन्ती र मर्दाको मलामी। गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि छिमेकी मित्रहरुले दिएको सहयोगी हातहरुको प्रशंसा नगरी रहन सकिँदैन। नेपालीहरु साँच्चिकै हार्दिक भएकै कारणले हो, नेपालको जनधनको क्षतिमा विश्व समुदायले हार्दिकता देखाएको र यति धेरै ढाडस दिएको। त्यसमा पनि उत्तरी छिमेकी चीनको सहयोग त अमूल्य र अतुलनीय नै हुन जान्छ।

नेपालमा भूकम्प जानेवित्तिकै छिमेकी मुलुक भारत र चीनले यति धेरै हार्दिकता प्रस्तुत गरेकोमा विपत्तिका बेलामा विचलित मनलाई तत्कालै राहत पनि मिल्यो। त्यो नै छिमेकीले दिने पहिलो सहायता हो। त्यसपछि दुई छिमेकीका अलावा अन्य धेरै देशबाट सहयोगका लागि आश्वासन वा प्रयासहरु पनि आए जुन कुरा निष्कपट नेपालीहरुप्रति विश्व समुदायको सदभावको रुपमा लिँदा फरक नपर्ला। समय वित्दै जाँदा चिनियाँ सहयोगलाई लिएर सामाजिक सञ्जालहरुमा राम्रो प्रतिक्रिया जनाइयो।

सञ्जालमा देखिएका स्टाटसमा प्रयोगकर्ताहरुले चीनप्रति उधृत गरेर लेखेका छन्- वास्तविक सहयोगीले सहयोग गर्छ, प्रचारवाजीमा लाग्दैन, हल्ला गर्दैन…….. सहायता होस त चीन को जस्तो……चिनियाँ जनमुक्ति सेना र चिनियाँ सशस्त्र प्रहरी बलले भूकम्प पीडितलाई हृदयदेखि नै सघाउँदै…….चिनियाँ सेना नेपाल प्रवेश गर्दा बेल्चा र गैँटी लिएर प्रबेस गर्छन,भारतीयहरु राइफल र मिडिया लिएर प्रबेश गर्छन्, कुन दुश्मन र कुन मित्र रहेछ, अब बिचार गरौं…………आदि आदि मानिसहरुका आआफ्ना आग्रह पूर्वाग्रह हुनसक्छन् तर चिनियाँ जनमुक्ति सेनाले दिएको निःस्वार्थ सहयोगमा शंका गर्नुपर्ने कुनै कारण छैन।

उद्धारको अवधिमा जनमुक्ति सेना कुनै मन्दिरको दर्शन गर्न गएन, कुनै साइट सिन गर्न पनि गएन, नेपालका पूरातात्विक वस्तुमाथि आँखा पनि लगाएन, भनेर चिनियाँ सहयोगलाई रातो सलाम गर्नेहरुको पनि संख्या पनि उत्तिकै देखियो।

माओको देशबाट नेपाली भूमिमा प्रवेश गरेका जनमुक्ति सेनाले विपत्तिमा परेको नेपाललाई पार लगाउन सक्दो पसिना बगाए जतिखेर माओको नाममा दर्ता भएका दल वा संगठनबाट कुनै उदाहरणीय काम भएन भन्नेहरुको पनि सञ्जालमा तीव्र प्रतिक्रियाहरु देखियो।

उद्धारका नाममा चिनियाँ सेनाले कुनै अर्को छिमेकी मुलुकको हवाइ सीमा अतिक्रमण गर्ने वा चिनियाँ संचारकर्मीद्वारा अनधिकृत समाचार सम्प्रेषण गर्ने, एउटा कुराको प्रचार गर्दै अर्काको विरुद्धमा अभियान चलाउने, विमानस्थलमा भीडभाड गर्ने काममा पनि चिनियाँको शायदै आलोचना गरियो।

सहयोगी हातहरु पर्याप्त भएपछि नेपालले तत्कालै वेसहाराको अवस्थामा आफूमा ढाडस, आत्मविश्वास र देश पुनःनिर्माणको भावना लिएर पुनः उद्धार तथा राहत अनि निर्माणको योजना बुन्न छोडेन किनभने भरपर्दो विदेशी मित्र मध्ये एक बनेको छ उत्तरी छिमेकी जसको निस्वार्थ सहयोगप्रति सारा नेपाल अनुगृहित र आभारी भएको छ।

भूकम्प गएको भोलिपल्टै हवाई मार्गबाट प्रवेश गरेका जनमुक्ति सेनाले सहयोग गर्दै गरेको थियो भने अर्को टोली नेपाल चीन सीमा तातोपानी खासास्थित मितेरी पूलबाट सशस्त्र प्रहरी बल, इन्जिनियर, विज्ञहरु तथा तालिमप्राप्त कुकुर आदिका साथमा प्रवेश गरेर अवरुद्ध मार्ग खोल्दै अघि बढेको थियो।

नेपाली सेनाको समझदारीपूर्ण समन्वयमा चिनियाँ सेनाले अनुशासित ढङ्गले जिम्मेवारी निर्वाह गरेकोप्रति वास्तवमा नेपाली नागरिक नतमस्तक भएको हुनुपर्छ जतिखेर सरकारको आदेशलाई नटेरी कुनै कुनै देशका सेनाले विमानस्थलमै क्याम्प खडा गरेर अड्डा जमाइरहेका थिए।

चिनियाँ उद्धार टोलीका केही उदाहरणीय काम –  

भूकम्प उद्धारको विशेष अनुभव भएका अन्तर्राष्ट्रिय क्षमताका उद्धारकर्मी तथा विशेषज्ञहरुको टोली नेपालका लागि परिचालन गरिनु।

नेपाली सुरक्षा निकायसँगको समन्वयमा राजधानी सहित भूकम्पप्रकोप ग्रस्त क्षेत्रमा उद्धार गतिविधि। अत्याधुनिक उपकरणको प्रयोगले उद्धार तथा खोजी कार्यमा चुस्तता।

पहिलो चरणमा पठाइएका ६२ जनाको उद्धार टोलीले ६ वटा विशेष कुकुर सहितको टोली लिएर जाँदा नेपालको उद्धार कार्यमा थप टेवा। पछि स्तरीय उद्धार उपकरण र उद्धारकर्मीहरु थपिनु।

चिनियाँ अन्तर्राष्ट्रिय उद्धार टोलीद्वारा गम्भीर प्रकोप पीडित सफलताका साथ दुई जनालाई बचाउने काममा सफलता।

खटाइएका स्थानमा सबैभन्दा चुस्त र भरपर्दो तरीकाले उद्धार कार्यमा सफलता हासिल गर्दै अन्य क्षेत्रतर्फ परिचालित हुनका लागि अभिप्रेरित हुनु।

नेपालको विनासकारी भूकम्पपछि चीनको भन्सारले तुरुन्तै प्रकोप उद्धार सामग्री र मानवीय आवत जावतका लागि ग्रीन मार्ग खोल्नु जसबाट यात्रीहरुलाई स्वदेश फर्किन सजिलो हुनु।

स्वास्थ्य समस्या उत्पन्न हुने खतरा रोक्न चिनियाँ महामारी टोली सिन्धुपाल्चोक जिल्लाका गाउँ गाउँ पुग्ने अन्तर्राष्ट्रिय दक्ष टोली।

कैयौं किलोमिटर पैदल हिँडेर गाउँमा चिकित्सा तथा महामारी अवस्थाबारे चेतना जनाउँदै अस्थायी वसोबास क्षेत्र निर्माणका लागि सघाउनु। साथै महामारी रोकथाम स्वयंसेवकलाई तालिम समेत दिन भ्याउनु।

महाभूकम्पले सिन्धुपाल्चोकको विच्छेद सडक मार्ग चिनियाँ अत्याधुनिक मेशिनरी उपकरणले सहजै खुलाउनु। जसबाट शव उत्खनन्, क्षति संकलन,राहत वितरण जस्ता प्रकोपका आकस्मिक कार्य सम्भव हुनु र भूकम्पकोसातापछि सिन्धुपाल्चोकका तातोपानी, फुल्पिङकट्टी र लिस्तीमा उद्धार र राहत सुरु गर्न संभव हुनु।

चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासास्थित आपतकालीन विपत् व्यवस्थापनको पाँच सयजना सशस्त्र प्रहरीको टोली तातोपानीको लिपिङ आएर काम सुरु गर्दा तत्कालै केही किलोमिटरको यातायात सुचारु गर्न सफल हुनु।

भूकम्पका दौरान खासा र रमिते बजारमा रहेका दुई सय ५० भन्दा बढी नेपालीलाई सिगात्से सहरनजिक ला च् भन्ने ठाउँमा लगेर सुरक्षित स्थानमा टेन्ट उपलब्ध गराई खानपान, औषधोपचार लगायत आवश्यक सबै सामग्री उपलब्ध गराउनु।

चीनको स्वायत्त प्रदेश तिब्बत सरकारले महाभूकम्पपछि रसुवागढी सीमा क्षेत्रबाट उद्धार गरिएका अन्य दसौं नेपालीलाई केरुङमा राखेर घाइते भएका केही नेपालीको सिगात्से र ल्हासामा उपचार गराउनु।

नेपालमा भूकम्प जाने वित्तिकै अप्रिल 24 तारिखदेखि इण्डोनेशियामा आयोजित बाङ्गडुङ्ग सम्मेलनमा भेट हुनुभएका प्रधानमन्त्री सुशील कोइरालालाई मौखिक रुपमा सान्त्वना दिनुबाहेक चिनियाँ राष्ट्रपति सी चिनफिङ्गले आफ्ना नेपाल समकक्षी रामवरण यादव र प्रधानमन्त्री ली ख छ्याङ्गले पनि तुरुन्तातुरुन्तै सहानुभूतिका सन्देश पठाएर जिम्मेवार छिमेकीको भूमिका निर्वाह गर्नुभएको थियो। चीनले बोलीभन्दा अगाडि नै व्यवहारका लागि तयारी गरेको थियो।

भूकम्प गएको भोलिपल्टै चीनले अन्तर्राष्ट्रिय उद्धार टोली पठाउनका लागि तयारी गरेको थियो। पैचिङ्गस्थित नेपाल दूतावासले रातारात भिसा तथा अन्य कागजी प्रक्रिया गरेको थियो र 26 तारिख विहानै चीनका लागि नेपाली राजदूत डा महेश कुमार मास्के स्वयं पैचिङ्ग अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उद्धार टोलीको विदाइ गर्नुभएको थियो। यो एक व्यावहारिक नमूना हो कि आपत् परेको बेलामा कसैले पनि औपचारिकताको भाउ खोजिरहनु हुँदैन।

नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा मुख्य सचिव लगायतले चीन सरकारले नेपालको भूकम्पप्रति तत्कालै दिएको सहायता र सदासयतप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। चीनले विषयको गाम्भीर्यतालाई बुझेर आफ्नो अन्तर्राष्ट्रिय उद्धार टोली पठाएको थियो। जसबाट प्रकोपग्रस्त नेपालीलाई सफलताका साथ उद्धार गर्न सघाउ पुग्यो।

अकल्पनीय जनधनको क्षति हुने गरी गएको भूकम्पछि सारा संसार नै स्तब्ध भयो जतिखेर विश्वसम्पदामा सूचीमा सूचीकृत पुरातात्विक वस्तुहरु, काठमाडौं उपत्यकाको एक पहिचान बनेको धरहरा तथा विश्वका साहसीहरुको गन्तव्यथलो सगरमाथा र अन्य हिमाली क्षेत्रमा अपूरणीय क्षति भयो तव सारा संसारको मन एकैचोटी चिमोटिएको थियो।

प्राकृतिक विपत्ति भएकाले कसैको प्रयासले मात्रै थाम्न सक्ने अवस्था थिएन। संसारमा त्यस्तै भएको छ कि विपत्तिमा मल्हम लगाउने काम नजीकका आफन्त र छरछिमेकबाटै हुँदै आएको छ यही छिमेकी वा मैत्री सम्बन्धको सौन्दर्य हो।

अधिकांश अग्ला हिमालहरुको केन्द्र हुनुका साथै जमिनमुनि तिब्बती र भारतीय प्लेटको घर्षण हुने भएकाले नेपाल सँधै नै भूकम्पीय खतराको केन्द्रमा रहेको भनेर विशेषज्ञहरुले वर्षौंदेखि सुझाउँदै आएका थिए र वर्षौंदेखि भूकम्पबाट बच्नका लागि चेतनामूलक कार्यक्रमहरु हुँदै आएका थिए।

शायद त्यसैले होला मानिसले कल्पना गरेको भन्दा कमै क्षति भयो अथवा भूकम्पको मौसम वर्षा वा हिउँद ऋतु नभएर वसन्त जस्तो विपत्तिरहित ऋतु भएकाले पनि कमै क्षति भयो। यस विपत्तिपूर्ण घडीमा नेपालको कमजोर व्यवस्थापन तथा विदेशी मित्रहरुको सुझबुझपूर्ण सहायताले नेपालीहरुका घाउमा मल्हम लागेको हो।

नेपालमा गएको भूकम्पबाट स्वयं पनि चीनको तिब्बत पनि प्रभावित भयो। जहाँ अठार जनाको मृत्यु हुनुका साथै पच्पन्न भन्दा बढी घाइते दुई लाखभन्दा बढी तिब्बती नागरिकलाई स्थानान्तरण भए। न्येलामु, चिलुङ,तिङर, सागा, चुङबा, यातुङ, लाच आदि जिल्लामा धेरै असर भएको छ। प्रारम्भिक विवरण अनुसार चारजना बेपत्ता, १ हजार १ सय ९१ वटा घर-भवन र एउटा गुम्बामा क्षति ५ हजार ८ सय २८ वटा घर-भवन र ५४ वटा गुम्बामा आंशिक क्षति ५८ वटा सञ्चार केन्द्रमा क्षति र दुई लाखभन्दा बढी नागरिक पीडित भएका थिए। यस्तो बेलामा पनि आफ्नो सुरक्षा र अर्काको सुरक्षामा तल्लीन हुने सामर्थ्य राख्ने चिनियाँ उदार हृदयलाई सलाम टक्रयाउनैपर्छ।

चिनियाँ उदारता केवल यही उद्धारमा मात्रै सीमित रहने छैन। किनकि युगौदेखिको मित्रतामा नेपालले सँधै पाउँदै आएको छ, गुमाउनुभन्दा। आउँदा दिनमा निरन्तर सहयोग र छिमेकीप्रतिको दायित्वमा अडिग रहने चिनियाँ वचनको पनि नेपालले ख्याल गर्नुपर्छ।

नेपाल र नेपाली जनताको दुःखलाई आफ्नो जस्तै महसुस गर्दै चीनले भत्किएका संरचनालाई ठड्याउन सघाउने पनि इच्छा देखाएको छ। भाषिक कठिनाइबाहेक नेपाल मामिलामा किचकिच गरि नरहने एक असल मित्रको रुपमा चीनले राखेको सदासयतालाई अवमूल्यन गर्नु भनेको अन्य छिमेकीको सास्तीको लड्डु खाइरहनुजस्तै नहोला भन्न सकिन्न।

नेपालमा अझै पनि भूकम्पको उद्धार,उत्खनन् तथा पुनस्थापनको कार्य बाँकी नै छ। उद्धारकर्मीहरुको कार्य उपलब्धी र योगदानका बारेमा यकिन प्रतिवेदनहरु तयारीको क्रममै छन्। नेपाली महाभूकम्पका नायकहरु को को हुन् विस्तारै यस्को निर्क्योल हुँदै जानेछ तर नेपालको उद्धार कार्यमा चिनियाँ तदारुकतालाई केवल रणनीतिका रुपमा मात्रै लिनुहुँदैन।

चीनको जिम्मेवार भूमिकालाई कम आँक्नु भनेको आगामी दिनमा आइपर्ने समस्याका लागि एक आडिलो मित्र गुमाउनु जस्तै हो भन्दा फरक नपर्ला।

चालू वर्ष अर्थात् २०१५ चीन र नेपालको दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सव हो। यो महत्वपूर्ण घडीमा महोत्सव मनाउनुपर्ने हो तर नेपालले गम्भीर पीडा भोग्नुपरेको छ। यस्तै बेला चीनले लगाएको मल्हमले अरनिको र भृकुटीको संस्थापन गरेको आत्मीय मित्रता अझै घनिष्ठ हुँदै जानेछ। यसैगरी नेपाल चीन मित्रता अमर रहोस्।

लक्ष्मी लम्साल, (चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, पैचिङ्ग, चीन)

-अनलाइन खबरबाट

Share.

Leave A Reply