माइक्रोसफ्टले केही महिनाभित्रै बहुप्रतिक्षित विन्डोज १० अपरेटिङ सिस्टम सार्वजनिक गर्दै छ।
यसअघि माइक्रोसफ्टले नयाँ भर्सन सार्वजनिक गर्दा बैधानिक रुपमा किनिएको सफ्टवयेरलाई मात्र अपग्रेड गर्ने सुबिधा दिने गरेको थियो ।
तर, विन्डोज १० भने सवैखाले ग्राहकले प्रयोग गर्न पाउनेछन् । माइक्रोसफ्टले विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम चलाइरहेका सवै प्रयोगकर्तालाई निःशुल्क अपग्रेड सुबिधा दिने भएको छ । चाहे त्यस्ता प्रयोगकर्ताले चोरीकै सफ्टवेयर चलाएका किन नहुन् ।
माइक्रोसफ्टको यो निर्णयबाट नेपाल लगायत बिकाशोन्मुख मुलुकका धेरै प्रयोगकर्ता लाभाविन्त हुनेछन् । नेपालमा झण्डै ९९ प्रतिशत कम्प्युटर प्रयोगकर्ताले विन्डोजको चोरी संस्करण चलाउँदै आएका छन् ।
बिकाशोन्मुख मुलुकमा ठूलो संख्यामा विन्डोजका पाइरेटेड संस्करण चलाउँदै आएका प्रयोगकर्तालाई सक्कली विन्डोजप्रति आर्कषिर्त गर्न माइक्रोसफ्टले यस्तो नीति लिएको हो ।
यसअघि माइक्रोसफ्टले सिस्टम अपग्रेड गर्न पाइरेटेड भर्सनका प्रयोगकर्तालाई निषेध गर्दै आएको थियो ।
‘लाइसेन्ससहितको सफ्टवेयर प्रयोग गर्न थालेपछि प्रयोगकर्ताले त्यसको महत्व बुझ्नेछन र हामी उनीहरुलाई लाईसेन्सवाला कपीमा अपग्रेड गर्न प्रोत्साहित गर्ने छौं’ माइक्रोसफ्टका प्रवक्ताले भने ।
हालै चीनमा आयोजित एक सम्मेलनमा माइक्रोसफ्टका एक कर्मचारीले यस्तो घोषणा गरेका थिए ।
चीन, भारत, इन्डोनेसिया लगायत ठूलो जनसंख्या भएका मुलुकमा पनि अधिकांश कम्प्युटर प्रयोगकर्ताले विन्डोजको चोरी संस्करण प्रयोग गर्छन् । उनीहरुलाई आफ्नो बैधानिक प्रयोगकर्तामा रुपान्तरण गर्न माइक्रोसफ्टले निःशुल्क अपग्रेड गर्ने सुबिधा दिन लागेको बताइएको छ । -रोयटर्स