बार्सिलोना – बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा राम्रो सुरुवात गर्न सकेन । गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएपछि ८ खेलबाट अधिकतम २४ अंक जोड्न सक्ने भए पनि उसले ३ खेलमा जित र २ मा बराबरी खेल्दै जम्मा ११ अंक जोडेको छ । ३ खेलमा त पराजित भएको छ ।
बार्सिलोनाको यो प्रदर्शन पछिल्लो २५ वर्षयताकै खराब हो । बार्सिलोनाको खराब सुरुवात भनेर सन् १९९५/९६, २००२/०३ र २००३/०४ लाई चिनिन्छ । यद्यपी त्यो बेला सुरुवाती ८ खेलमध्ये बार्सिलोनाले ३ खेल जितेको ३ खेल बराबरी गरेको थियो र २ खेल हारेको थियो ।
८ खेल हुँदा ३ वटामा पराजित हुनु भनेको बार्सिलोनाको लागि धेरै हो, यस्तो उदाहरण भेट्न गाह्रो छ । सन् २०००/०१ सिजनमा बार्सिलोनाले ८ खेलमध्ये ३ खेल हारेको थियो तर ४ खेलमा जित र एक बराबरी खेल्दै १३ अंक जोडेको थियो ।