गण्डकी प्रदेशसभा बैठकमा विधेयकमाथि छलफल

0

पोखरा- गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक सम्बन्धमा छलफल भएको छ ।

बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले विधेयकका सम्बन्धमा प्रतिवेदनसहितको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । समाजिक विकासमन्त्री नरदेवी पुनले विधायन समितिको प्रतिवेदनसहितको विधेयकमाथि दफावार छलफलका लागि गर्नुभएको प्रस्ताव सर्वसम्मत स्वीकृत भएको थियो ।

छलफलमा प्रदेशसभा सदस्य मीना गुरुङले आत्मनिर्भर रोजगारीको गन्तव्यतर्फ प्रदेश लम्कँदै गर्दा प्राविधिक शिक्षा अपरिहार्य भएको बताउनुभयो । स्थानीय तहस्तरमा आवश्यकताअनुसार प्राविधिक तालीम प्रदान गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । कामको खोजीमा विदेशिन बाध्य नेपालीलाई यहीँ प्राविधिक शिक्षाका माध्यमबाट रोजगारी सिर्जना गर्न सकिनेमा उहाँले जोड दिनुभयो । नेपाली श्रम बजारमा कामको खोजी गर्ने युवालाई यही रोजगारी सिर्जना गर्न विधेयक महत्वपूर्ण बन्ने उहाँले बताउनुभयो ।

अर्का सदस्य ओमकला गौतमले प्रदेशका मन्त्री कार्यकारी अध्यक्ष हुने प्रतिष्ठानमा भूमिका नै नहुने मुख्यमन्त्री संरक्षक राख्नुको अर्थ नरहेको उल्लेख गर्नुभयो । विधेयकलाई विधायन समितिमा नै गम्भीर छलफल गरी सर्वसम्मतरुपमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । त्रुटिपूर्ण विधेयक ल्याएर पटकपटक संशोधन गर्नुभन्दा व्यापक छलफल गरेर ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

सदस्य मीनप्रसाद गुरुङले विश्व श्रम बजारमा प्राविधिक शिक्षाको अभावमा निरिह बन्नुपर्ने अवस्थाको अन्त्यका लागि विधेयक महत्वपूर्ण बन्ने बताउनुभयो । प्रदेशको उद्देश्य हासिल गर्ने तर्फ विधेयक महत्वपूर्ण बन्ने उहाँले बताउनुभयो । विधेयकको कार्यान्वयनसँगै बहुसिप तालीमका माध्यमबाट रोजगारी सिर्जना गर्ने उहाँले बताउनुभयो ।

सदस्य मनकुमारी गुरुङले वर्तमान समय विधेयकको दफवार छलफलभन्दा पनि कोरोनाको रोकथाम र नियन्त्रणतर्फ लाग्नुपर्ने बेला भएको स्मरण गराउनुभयो । समृद्ध प्रदेश र सुखी नेपालीको लक्ष्य हासिल गर्न प्राविधिक जनशक्ति आवश्यक हुने हुँदा विधेयक महत्पूर्ण बन्ने बताउँदै उहाँले विधेयकभित्र विभिन्न विषय सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । विधेयकमा समावेशिता नदेखिएको बताउँदै उहाँले सबै वर्ग र समुदायलाई समेट्न सुझाव दिनुभयो ।

सदस्य कुमार खड्काले कोरोनाको विपत्तिका बेलामा विधेयकभन्दा पनि विपत्ति प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो । प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताउँदै विधेयक यस तर्फ लक्षित भएको बताउनुभयो । देशमा आधारभूत आवश्यकता समाधान गर्ने जनशक्ति नभएका अवस्थामा मध्यम खालको प्राविधिक जनशक्ति आवश्यकता भएकोमा उहाँको जोड छ । अर्को बैठक जेठ २५ गते दिनको १ः०० बजे बस्नेछ । (रासस)

Share.

Leave A Reply