पोखराको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी भारत प्रस्थान

0

पोखरा- भारतका उत्तर पूर्वी सहरमा पोखराको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । पोखरा पर्यटन परिषदको आयोजनामा २१ जनाको टोली भारततर्फ लागेको हो ।

परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलको नेतृत्वमा रहेको ‘भारत सेल्स मिसन २०२०’ को संयोजन राजेश पहारीले गरेका छन् । उक्त टोली पोखराको प्रवद्र्धन गर्न भारतको पश्चिम बंगालस्थित सिलिगुरी र कोलकाता पुग्ने छ । फागुन १० मा भारतको सीमावर्ती सहर सिलिगुरीमा हुने बंगाल ट्राभल मार्ट (बीटीएम) मा टोली सहभागी हुने छ । बीटीएममा रहेको नेपालको स्टलमा पोखराका होटल, ट्राभल, टे«ेकिङ, माउन्टेनियरिङ सम्बद्ध १२ व्यवसायीले डेस्क राख्नेछन् । फागुन ११ मा बीटीएममै ‘पोखरा नाइट’ हुने छ । उक्त नाइटमा पोखरा सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिने छ । पोखराको लोक संस्कृति झल्किने प्रस्तुती समेत राखिने छन् ।

फागुन १२ मा उक्त टोली पश्चिम बंगालको राजधानी कोलकाता पुग्ने छ । फागुन १३ मा कोलकाता र पोखराका पर्यटन व्यवसायीबीच बीटूबी सेल्स मिसन कार्यक्रम हुने छ । उक्त कार्यक्रममा पोखराका पर्यटन व्यवसायीले कोलकाताका पर्यटन व्यवसायीलाई आफ्ना प्याकेजका बारेमा जानकारी दिनेछन् । पोखरामा भारतीय पर्यटक आकर्षित गर्न व्यवसायीले योजना प्रस्तुत गर्नेछन् ।

कोलकाताबाट बागडोरा, भद्रपुर, काठमाडौं हुँदै उक्त टोली फागुन १५ मा पोखरा फर्किने छ । बंगाल ट्राभल मार्टमा पोखरा पर्यटन परिषदको यो पाँचौं सहभागिता हो । सेल्स मिसनको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।
परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले भारतका उत्तरपूर्वी सहरमा विगतमा भएका प्रवद्र्धनात्मक कार्यक्रमले भारतीय पर्यटकको पोखरा आगमनमा वृद्धि भएको बताए । उनले यतिबेला कोरोना भाइरसले चिनियाँ पर्यटकको आगमनमा कमि भएकोले पनि भारतीय सहरका प्रवद्र्धन आवश्यक भएको उल्लेख गरे । ‘चिनियाँ पर्यटकको कमिलाई पूर्ति गर्न पनि भारतीय सहरमा प्रवद्र्धन रोजेका हौं,’ उनले भने, ‘पर्यटनमा परेको संकटलाई यसले थोरै भएपनि राहत पुग्ने छ ।’

सेल्स मिसनका संयोजक राजेश पहारीले भारतीय पर्यटकलाई आकर्षित गर्न बंगाल ट्राभल मार्ट उपयोगी हुने बताए । ‘यो पोखराका पर्यटन व्यवसायीका लागि अवसर पनि हो,’ उनले भने, ‘भारत पर्यटक वृद्धिमा पक्कै भूमिका खेल्ने छ ।’
टोलीलाई शुक्रबार गण्डकी प्रदेश सांसद राजीव पहारी, पर्यटन विज्ञ समूह सदस्य बासु त्रिपाठी, नाट्टा अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले विदाइ गरेका थिए । सेल्स मिसनमा पोखरा पर्यटन परिषदमा आवद्ध टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान पोखरा), पश्चिमाञ्चल होटल संघ (हान), नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभज एजेन्ट्स (नाट्टा), पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए), पर्वतीय संघ (एनएमए गण्डकी), पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता छ ।

Share.

Leave A Reply