नेपाली कांग्रेस यतिबेला स्वदेशमा मात्रै हैन, विदेशमा पनि चर्को गुटबन्दीको शिकार भइरहेको छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गत साता बेल्जियम पुगेका बेला त्यहाँ भातृ संगठनको विवाद छताछुल्ल भयो । नेता पौडेल सहभागी रहने कार्यक्रम बहिष्कारका लागि वक्तव्यबाजीसमेत भयो ।
कांग्रेस नेता पौडेल अहिले युरोप भ्रमणमा छन् । लक्जम्बर्ग, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीटजरल्याण्ड र जर्मनी हुँदै उनी जनसम्पर्क समिति नेदरल्याण्डको कार्यक्रममा सहभागी भएका छन् । युरोपमा रहेका कांग्रेसजनहरुको विवाद देखिसकेपछि नेता पौडेलले निश्कर्ष निकालेका छन्– ‘अब हामी सुध्रिएनौं भने आफैं सिद्धिन्छौं । कम्युनिस्ट असफल भयो भने देशमा अर्कै शक्ति आउन पनि सक्छ ।’
नेपाली कांग्रेसमा तुलनात्मकरुपमा सादगी एवं वैचारिक नेताको छवि बनाएका पौडेलसँग बसन्त रानाभाटले गरेको कुराकानीको सम्पादित अंशः
रामचन्द्रजी, यहाँलाई युरोपमा स्वागत छ ।
धन्यवाद छ यहाँलाई ।
केको शिलशिलामा युरोप भ्रमणमा आउनुभएको ?
अलि फुर्सदले युरोप हेर्न पनि समय मिलेको थिएन । युरोप र यहाँ रहेका साथीहरुको भावनाहरुलाई पनि बुझौं, उहाँहरुको सुझाव के छ, त्यसलाई पनि सुनौं भनेर युरोपको एउटा सहज र सामान्य घुमाइमा छु ।
तर, तपाई यहाँ आउँनेबित्तिकै युरोपका कांग्रेसीबीच विवाद चर्केको देखियो । कतिले त तपाईको कार्यक्रम नै बहिष्कार गरौं भनेर वक्तव्यवाजीसमेत गरे….
किन गर्नु भो, त्यो साथीहरुको सोचाइ हो । अलिकति यहाँ केन्द्रले एउटा विरोधाभास कुरा गर्याे । कसै–कसैलाई चित्त बुझेन होला । मलाई लाग्छ, त्यो केही छैन । जतासुकै अत्यन्त सहज र सौहार्दपूर्ण वातावरण पाएको छु । साथीहरुसँग देशको चिन्ता पाएको छु । लोकतन्त्रको चिन्ता पाएको छु । पार्टीप्रतिको चिन्ता पाएको छु । उहाँहरु देशको अवस्था देखेर अलिकति चिन्तित हुनुहुन्छ ।
असन्तुष्ट पक्षको आरोप क सुनयो भने पार्टी केन्द्रले परिपत्र नै गरेर महाधिवेशन प्रतिनिधि बनाएको व्यक्तिलाई समेत तपाईले जनसम्पर्क समिति लक्जम्बर्गको अधिवेशनमा रोक्नुभयो रे नि ?
केन्द्रको अघिल्लो पत्र र पछिल्लो पत्रमा ठूलो अन्तरविरोध भयो । यस्तो किन भयो भन्ने मात्रै मैले प्रश्न उठाएको हुँ । केन्द्रीय मुख्यसचिवको हस्ताक्षरमा दुईहप्ता अघि एउटा पत्र,फेरि त्यसको विपरीत अर्को पत्र आयो । त्योभन्दा बढी केही पनि होइन ।
भनेपछि तपाई पछिल्लो पत्रलाई वैधानिक भन्नुहुन्न ?
अँ, त्यो अन्तरविरोधी भयो । अघिल्लो पत्रविपरीत आयो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिवबाटै परिपत्र हुँदा यहाँले अवैधानिक भन्नुहुन्छ ? यस्तो ‘अवैधानिक’ काम गर्ने पार्टी फेरि कसरी सबैभन्दा प्रजातान्त्रिक र लोकतान्त्रिक हुन्छ त ?
कार्यालयमा बसेर केही मान्छेले दुरूपयोग गरे भन्दैमा पार्टी सिङ्गै आलोकतान्त्रिक चाहिँ हुँदैन । यो लोकतन्त्रकै मिसनका लागि जन्मेको पार्टी हो । बेलाबेलामा यस्ता विकृति, विसङ्गतिहरु आउने गर्छन् । तर, यिनलाई रोक्दै अगाडि बढ्ने नै अहिलेको संघर्ष हो ।
पछिल्लो पत्रमा ‘नेपाली जनसम्पर्क समिति, युरोप’ भनेर उल्लेख गरिएको छ । यो संगठनलाई तपाई नेपाली कांग्रेसको वैधानिक ठान्नुहुन्न ?
अघिल्लो पत्रले नै अन्तराष्ट्रियस्तरका यस्ता संस्था विधानले देखेको छैन भनेर तिनै मुख्यसचिवको हस्ताक्षरमा परिपत्र भइसकेको छ । त्यसैलाई नै मैले आधिकारिक सम्झन्छु । विश्व सञ्जालदेखि सबै संस्थाहरुलाई पहिले पार्टीले स्वीकृति त दिनुपर्याे नि ।
तर, तपाईले अवैधानिक भनिरहेको संगठन जनसम्पर्क समिति युरोपको ब्यानरमुनि बसेर थुप्रै कांग्रेसका नेताहरुले पटक–पटक सम्वोधन गरेका छन् । नेपालबाट आएर भाषण गरेका छन् । अब यसलाई वैधानिक बनाउने कि विवादमा तान्ने ?
विदेशमा नेपाली जनसम्पर्क समितिहरु छन् । धेरै ठाउँहरुमा खुल्दै गएका पनि छन् । यिनीहरुलाई व्यवस्थित गर्नु नै कांग्रेसको अहिलेको चुनौती हो । किनभने, हाम्रो पार्टीका धेरै समर्थकहरु आएर विदेशमा बस्नुभएको छ । उहाँहरुलाई व्यवस्थित र संगठित गर्न नै पार्टीले मेहनत गर्नुपर्छ ।
धेरैतिर छरालियौं भने विदेशतिरै फस्न सक्छौं । नेपालतिर जनता माझ गाउँ–गाउँमा पनि जान सक्नुपर्छ । हाम्रो समयलाई पनि ख्याल गर्नुपर्छ । त्यही गर्ने नै हो भने पनि पार्टीको विधि र विधानले त चल्नुपर्याे नि । पार्टीको विधानमा आउनुपर्याे । पार्टीको महासमितिमा आउनुपर्याे । पार्टीको केन्द्रीय कार्य समितिमा आउनुपर्याे, त्यसले स्वीकार गर्नु पर्याे । आफ्नो मनलागी ढंगले चल्नुभएन । यसलाई धेरै लामो गराएर मलाई त्यतातिर नतान्नुहोस् ।
तपाई लम्जबर्ग, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीटजरल्याण्ड जहाँ–जहाँ पुग्नुभएको छ, त्यहाँ पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचनासहित विभिन्न आरोपहरुसमेत लगाउनु भयो । पार्टी नेतृत्वको कार्यशैलीका कारण तपाई साँच्चै विरक्तिनुभएको हो ?
त्यस्तो आलोचना गरेजस्तो त मलाई लाग्दैन । कहीँकतै प्रसंगमा जोडिन आए होलान् । कटू यथार्थ कुराहरु अभिव्यक्त हुनु स्वाभाविक पनि हो । तर, मैले त्यस्तो चर्को आलोचना गर्दै हिँडेको पनि छैन, हिँड्न आएको पनि होइन ।
मुख्य कुरा के हो भने कांग्रेसको सिद्वान्तले जित्ने, तर कांग्रेस चुनावमा हार्ने, यो अत्यन्त विडम्वनापूर्ण अवस्था व्यहोर्नु पर्याे । पार्टी नेतृत्व र हामीमा कतै पार्टीको सिद्धान्तमा मेल नखाने कुरा आए कि ? यसबारे सोचौं । विश्लेषण गरौं । आत्मसमीक्षा गरौं । मान्छेमा गल्ती हुन्छ, तर त्यसलाई महसुस गरेर अघि बढ्न सक्नुपर्छ । गल्तीलाई ढाकछोप गर्दै झनझन् गलत बाटोतिर हामी गयौं भनेदेखि कहाँ पुगिन्छ भन्ने मात्रै मेरो चिन्ता हो ।
तर, पार्टी नेतृत्वले विधिविधान मिचेको, पार्टीलाई कमजोर बनाउँदा लज्जास्पद हार व्यहोरेको र त्यसलाई नस्वीकारेको अनि आफ्नै गुटको संरक्षणसहित ढिला गरी पदाधिकारी मनोनयन गरेको लगायतका थुप्रै आरोपहरु तपाईले सभापति देउवामाथि लगाउनुभएको त छ नि ?
ती आरोपहरु त मैले लगाएको हैन, पार्टीमा सबै साथीहरुले भनिराखेका कुराहरु हुन् । यी आरोपहरु सामान्य भइसके । यसलाई खरो आलोचना भनेर मात्र बुझ्न भएन, आत्मसमीक्षाका रुपमा लिनुपर्छ । अनि मात्र हामी सुध्रिन्छांै । सुध्रेनौं भने हामी सकिन्छौं ।
चुनावमा पार्टी पराजयको जिम्मा त सिंगो केन्द्रीय कार्य समितिले लिइसकेको छ नि । अब सभापतिलाई मात्रै दोष लगाएर हुन्छ र ?
पार्टी सभापतिको नाताले यो हारलाई स्वीकार गर्छु भनेर उहाँले एउटा महानता देखाउनुपर्ने थियो । तर, उहाँबाट त्यस्तो भएन ।
त्यसोभए पराजयको जिम्मा सभापति देउवाले लिने गरी किन प्रस्ताव पास गर्न सक्नुभएन ? महामन्त्री डा. शशांक कोेइरालाले पनि तपाईलाई साथ नदिनुभएको हो ?
उहाँले साथ नदिएको होइन । उहाँ अलिकति सज्जन मान्छे हुनुहुन्छ । उहाँ धेरै विवादमा आउन चाहानुहुन्न । यसो गर्न मन पराउनुहुन्न, त्यति मात्रै हो । उहाँले साथ नदिएको वा त्यसको विपरीत बाटोमा गएको वा मैले भनेको कुराको उल्टो गएको भन्नेचाहिँ होइन ।
पार्टीमा कोइरालाको भूमिकाबारे तपाईको टिप्पणी के छ ? अलिकति सभापतिलाई सजिलो–सजिलो र तपाईलाई अप्ठ्यारो–अप्ठ्यारो पार्दै गएजस्तो लाग्दैन ?
उहाँको व्यक्तिगत स्वाभावका कारणले यस्तो भएको हुन सक्छ । नियत खराबचाहिँ मलाई लाग्दैन ।
पार्टीमा ढीलो गरी भएको पदाधिकारी मनोनयनका बारेमा तपाईको टिप्पणी के छ ?
नियत राम्रो राखेर कांग्रेसभित्र योगदान दिएका, पार्टीका लागि मर्न मेट्न तयार भएका साथीहरु नजिक र टाढाका भन्दा पनि को उपयुक्त छ भनेर अलि सहजरुपले लिइदिएको भए यो ढिलो पनि हुने थिएन । यसलाई असहजरुपले लिन खोज्दा यो अलिकति लम्बिएको कुरा सभापतिजीले महसुस गर्नुपर्छ ।
सबैलाई मिलाएर जाउँ, को–को राख्दा ठीक हुन्छ भन्नेबित्तिकै सुरुको एक/दुई महिनाभित्रै सबै सम्भव थियो । अरु हिसाब–किताब गर्न थाल्दाखेरि नै लम्बिन पुग्यो ।
पार्टीलाई नयाँ सन्दर्भमा परिवर्तन अनुकूलको बनाउनुपर्छ भन्दै हिँड्नुभएको छ, १४ औं महाधिवेशनको तयारी तपाईले अहिलेदेखि नै थाल्नुभएको हो ?
अहिले आफूलाई प्राथमिकतामा राख्ने होइन, पार्टीलाई प्राथमिकतामा राखाैं । पार्टीभित्र केही विकृतिहरु घुसेका छन् । कमजोरीहरु देखापरेका छन्, यिनलाई कसरी सच्याउने ? बेलाबेलामा हाम्रा साथीहरुका पनि विभिन्न अभिव्यक्तिहरु आइसकेका छन् । म उहाँहरुलाई संयमित रहन आग्रह गर्दछु ।
पार्टी अहिले ठूलो संकटमा छ । पार्टीमाथि ठूलो चुनौती आएको छ । अब के गर्दा कांग्रेस संकटबाट माथि उठ्न सक्छ, त्यतापट्टि ध्यान दिउँ । अहिले आफू–आफू मात्र भन्न थाल्यौं भने, म…म भनेर हिँड्न लाग्यौं भने पार्टी गौण हुन्छ । पार्टीको कमजोरी जहाँको त्यहीँ रहन्छ र पार्टीले प्रगति गर्न सक्दैन ।
डेमोक्रेसीको मसिहा बनेर कांग्रेसले यो देशलाई हाँक्ने हैसियत बनाउनेपट्टि बढी चिन्ता गरौं । अहिले म फलानो पदमा लड्छु, ढिस्कानो पदमा लड्छु भन्नेतिर नलागौं भनेर साथीहरुलाई संयम राख्न म अनुरोध गर्दछु । पहिले पार्टी बनाउनेतर्फ लागाैं ।
तर, तपाईंले यसो भनिरहँदा महामन्त्री डा. शशांक कोेइरालाले पार्टी नेतृत्व सम्हाल्न तयार भएको बताइसक्नुभएको छ नि ? आगामी महाधिवेशनमा महामन्त्री कोइरालाले तपाईलाई साथ दिनुहुन्छ वा तपाईसँगै प्रतिस्पर्धा गर्न मैदानमा आउनुहन्छ ?
मलाई त्यस्तो लाग्दैन । अलि–अलि आकांक्षा नभइकन त राजनीतिमा मान्छे कसरी लाग्छन् र ? केही न केही आकांक्षा सबैसँग हुन्छन् । कहिँलेकाहीँ अरुले उकासिदिन्छन्, त्यो मात्रै हो । भोलि गएर सधैँ त्यही क्लेस नै भइराख्छ भन्ने म ठान्दिनँ ।
नेपाली कांग्रेस सात दशक पुरानो प्रजातान्त्रिक पार्टी हो । तर, चुनावमा कांग्रेसीले कांग्रेसीलाई नै हराएको धेरै देखियो । अब कांगेसले कांग्रेसलाई सघाउने र जिताउने दिन कहिले आउला ?
नयाँ वातावरण सिर्जना गर्न सक्नुपर्याे । सबैको ध्यान सीमित स्वार्थ र आफ्ना गुटहरुप्रति छरालिएको छ । यसलाई मिसनप्रति कसरी ल्याउने र उन्मुख कसरी गराउने भनेर कोशिस गर्नुपर्छ । म त्यही प्रयासमा छु । हाम्रो मूल लक्ष्यमा केन्द्रित बनाैं । त्यतातिर ध्यान दिउँ भन्ने मेरो कोशिस छ । अब कति सफल भइन्छ, हेराैं न ।
नेपाली कांग्रेस मातृकाप्रसाद, वीपी, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद हुँदै शेरबहादुर देउवा र राममचन्द्र पौडेलसम्म गुटबन्दीमै आइपुग्यो । गुटको मात्रै नभएर सबै कांग्रेसीहरुको नेता कहिले बन्ने ?
नेपालको राजनीतिमा हेर्नुहोस्, नेपाली कांग्रेस यस्तैमा गुज्रेर आयो । तपाईले आफैंले भनिहाल्नु भो, मातृका, वीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद, अब यो अलिअलि चाहिँ राजनीतिको चरित्र पनि हो । पार्टी गुटबन्दीबाट मुक्त भएर निर्विवाद रुपमा अगाडि बढेको त इतिहासमा नै देखिएको छैन ।
हाम्रो पार्टी मात्र हैन, कम्युनिष्ट पार्टीहरु कति टुक्रामा बाँडिए ? फेरि जुटे । नेपालको राजनीतिमा जुट्ने र फुट्ने प्रक्रिया अरु मुलकमा भन्दा बढ्ता नै भएको हो कि भन्ने लाग्छ ।
कांग्रेसलाई मुलुककै पुरानो र प्रजातान्त्रिक पार्टी भन्नुहुन्छ, तर अरुको तुलना गरेर उनीहरु फुटे, जुटे भन्दै हामीले यतिसम्म त गर्न पाइयो भन्न मिल्छ ?
अब हेर्नुहोस्, भारतको प्रजातान्त्रिक पार्टी नेशनल कांग्रेस त्यसमा कति टुटफुट भए ? मान्छेको व्यक्तिगत स्वाभाव, समाज र आकांक्षाहरुले त्यहाँ संघर्ष हुन्छ । यसलाई सहज लिनुपर्छ । बरु टुटफुट, गुट–उपगुट भन्नेबित्तिकै अत्तालिनु हुँदैन । त्यसलाई म्यानेज गरेर लैजानुपर्छ
तपाईंले त वीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद धेरैको संगत गर्नुभयो । तर, अहिलेसम्म न पार्टीको सभापति नै बन्नुभएको छ, न त प्रधानमन्त्री नै । नेपालको राजनीतिक इतिहासकै एक अभागी नेता हुँ जस्तो लाग्दैन ?
भाग्यमानी र अभागी भन्ने कुरामा म ज्यादा ध्यान दिने मान्छे होइन । के भन्छ गीताले ? ‘कर्म गर, फलको आशा मात्रै नगर ।’ आफ्नो कर्तव्य नै जीवन हो । कर्तव्य पालना गर्दै जाने हो । जे पाइन्छ, त्यहीअनुसार आफ्नो काम गर्ने हो । मैले योभन्दा बढ्ता चिन्ता लिन थालें भने म आफैं उद्देश्यबाट विचलित हुन्छु भन्ने थाहा छ ।
त्यो उद्देश्य भनेको पार्टी सभापति बनेरै छाड्छु भन्ने हो ?
लक्ष्य मेरो त्यो होइन । लक्ष्य मेरो एउटा सिष्टम हो, व्यवस्था हो । मेरो लक्ष्य एउटा त्यस्तो समाज हो, फ्री जस्ट सोसाइटी’ नेपालमा कायम होस् । स्वतन्त्र न्यायपूर्ण समाज नेपालमा कायम होस् । प्रगतिशील समाज नेपालमा कायम होस् । उन्नति गर्ने बाटोतिर नेपाल जान सकोस् । मिसनचाहिँ त्यही हो । यसमा मेसो मिलाइदिउँ देशलाई भन्ने मलाई लाग्छ ।
तर, तपाईले भनेजस्तो त्यो मिसन पूरा गर्न तपाई पार्टी र सरकारको नेतृत्वमा पुग्नैपर्याे नि । त्योविना कसरी सम्भव होला ?
काम गर्दै जाने हो । पार्टीमा साथीहरुलाई मेरो कुन ठाउँमा आवश्यकता महशुस हुन्छ, म त्यही ठाउँमा बसेर काम गर्ने हो ।
तपाईंले अझै पनि कार्यकर्तामाझ पुगेर अब पार्टीको नेतृत्वका लागि म तयार छु, नयाँ ढंगले चलाउँछु, संकटबाट पार्टीलाई जोगाउँछु भन्न नसक्नु भएकै हो ?
मैले यस्ता कुराहरुको घोषणा गर्दै हिँड्नुपर्ने कुनै आवश्यकता देख्दिनँ । मैले १३ औं महाधिवेशनमा नै मेरो र शेरबहादुरजीका वीचमा सम्वाद हुँदा उहाँले तपाई प्रधानमन्त्री हुनुहोला, पार्टी सभापतिमा मलाई समर्थन गर्नुहोस् भन्नुभएको थियो । तर, तपाई चार पटक, पाँचपटक जतिसुकैपटक प्रधानमन्त्री हुनुहोस्, पार्टी तपाईबाट भन्दा मबाट राम्रो सम्हालिन्छ भनेकै थिएँ ।
तर, उहाँले सभापतिमा चुनाव लड्छु भन्नुभो । चुनाव पनि जित्नु भो । सबैतिरको साथ पाउनु भयो । सबै किसिमका शक्तिकेन्द्रहरुले उहाँबाट नै अनुकुल हुने ठाने र उहाँ सभापति बन्नुभयो । मैले पार्टीको बेहाल नहोस् भनेको हो, तर आज यो स्थिति भयो ।
तपाईं अब यो अवस्थामा पुगेको पार्टीलाई सुधार्नुपर्छ भन्ने लाग्नुभएको हो ?
त्यही हो । अब गल्ती दोहोरिनुहुन्न । त्यो ‘म्यान्डेड’ गलत रहेछ भन्ने कुरा अहिले आएर सिद्ध भएको छ । अब त्यसलाई करेक्सन गरेर जाने हो । पार्टीले करेक्सन गर्नुपर्छ ।
कांग्रेसको आन्तरिक विषयमा यति कुरा गरिसकेपछि अब कम्युनिष्ट सरकार र प्रधानमन्त्री केपी ओलीका बारेमा केही भनिदिनुहोस् न…
केपी ओलीजीले भन्नुहुन्थ्यो, वास्तवमा लोभलालच केही छैन । त्यस्तो अरुलाई पनि गर्न दिन्न । स्याबास ! तपाईले राम्रो कुरा गर्नुभो, मैले पनि सोचेको यही हो भनेर शुभकामाना दिएकै हुँ ।
सुशासनको सुरुवात प्रधानमन्त्रीबाट नै हुनुपर्छ । जसलाई कार्यकारी अधिकार छ, त्यहाँबाट नै सुध्रिनुपर्छ । आज तपाईले त्यही कुरा गर्नु भो, मलाई चित्त बुझ्यो, म स्वागत गर्छु मैले भनेकै थिएँ । उहाँ त्यही अनुसार अगाडि बढ्दै जानुभएको भए राम्रो हुन्थ्यो । तर, अहिलेचाहिँ कतिपय स्क्याण्डलहरु भइराखेका छन् । जो सुन्नमा आएका छन् । महालेखा जस्ता संस्थाहरुले पनि आधारिक रुपमा भनिसकेका छन्। त्यसले गर्दा देशले अझै सुशासनको मेलो नसमातेको अनुभुति भइराखेको छ ।
तपाईंले जहाज खरिद प्रक्रियाको कुरा गर्न खोज्नुभएको हो ?
हो त । वाइड बडीको यत्रो ठूलो ईस्यु आएको छ । त्यसलाई छानविन गर्नुहोस् भनेर म भन्छु । अब न्यायिक छानविन गर्नुहोस् भन्दा उहाँहरुले गर्नुहुन्न । सरकार किन हिच्चकिच्चाएको छ, बुझ्दिनँ ।
सरकारको सात महिनाको प्रगति विवरण हेर्दा तपाईलाई कस्तो लाग्छ ?
विकासका ठूलाठूला गफमात्रै भए । मान्छेहरुलाई सपना देखाउने काम मात्र भए । ६ महिनामा जे–जे कामलाई प्राथमिकतामा राखेर सुरु गर्नुपर्थ्यो, त्यसो भएन । अलि नजानेको हो कि ! बिहानले दिउँसोलाई बताउँछ भनेजस्तै सुरुवात त्यति उत्साहजनक देखिएको छैन ।
अन्त्यमा, पौडेलजी भनिदिनुहोस् न, अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको रणनीति के हुन्छ ? कम्युनिस्टहरु फुट्छन् र फेरि हाम्रै पालो आउँछ भनेर कुर्ने पो हो कि ?
म कांग्रेसका साथीहरुलाई के भन्छु भने कम्युनिस्टहरुमा अन्तरद्वन्द आउला र सक्किएलान् अनि हाम्रो पालो आउला भन्ने सोचेर नबस्नू । यस्तो सोचियो भने ठूलो आत्मघात हुन सक्छ । कम्युनिस्ट असफल हुँदा अर्कै शक्ति पनि आउन सक्छ ।
त्यसकारण कांग्रेसले त आफूलाई सक्षम र सबल बनाउने हो । कमी कमजोरीलाई सुधारेर जनताका वीचमा जाने हो । कांग्रेसले जनताको स्वार्थसँग आफूलाई गाँस्ने हो । कर्मशील बनेर देशलाई आफैं हाँक्ने हिम्मत राक्नुपर्छ । त्यसैले कम्युनिस्ट फेल होलान् र हाम्रो पालो आउला भन्ने सोच्नुहुँदैन ।