स्विट्जरल्याण्डमा पनि तीज मनाईयो

0

यस बर्षको हरितालिका तीज सम्पन्न भईसके पनि प्रबासमा भने तीज मनाउने क्रम अझै जारी रहेको छ। प्रबासमा नेपाली दिदीबहिनीहरुको समय र बिबिध कारणले तीज मनाउँने क्रम अझै नरोकिएको हो। स्विट्जरल्याण्डको आराउ कान्टोनको सियोनमा शनिबार दिदीबहिनीहरु रातैराता पहिरनमा सजिएर गीत संगीतमा रमाउँदै तीज मनाए।

गैर आबासीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डले हरेक बर्ष जस्तै यसपटक पनि यस्तो मेसो जुराएको हो। कार्यक्रम सम्पन्न गर्नका लागि एनआरएनए स्विट्जरल्याण्डले साथ दियो। कायर्क्रममा प्रमुख अतिथिको रुपमा स्विट्जरल्याण्ड स्थित नेपाली दूताबासका उपनियोग प्रमुख तीर्थराज वाग्ले सहभागी बने। उनले तीजको अबसरमा शुभकामाना ब्यक्त गर्दै यस्ता कार्यक्रमहरुले नेपाली चाडबाड र रितिरिवाजको अस्तित्व प्रबासमा रहिरहने बताए।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदकी महिला संयोजक रजनी प्रधानले महिला सशक्ति करण, पाठेघर खस्ने रोग र फोरमले गर्दै आएका गतिविधिहरू प्रस्तुत गरिन्। उनले एक युरो संकलन अभियानको बारेमा प्रस्ट्याउदै पिछडिएका जिल्लाहरुमा यो अभियान प्रभावकारी बन्दै गएको बताईन्।

स्विट्जरल्याण्ड स्थित महिला फोरम संयोजक तथा तीज कार्यक्रमकी संयोजक शुभ एल्मर, लामा र एनआरएन स्विट्जरल्याण्डकी पुर्व उपाध्यक्ष विजया भट्टले पूजा आराधना गर्दै तीज कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा आईसिसी सदस्य राम महतो,एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष भूमीराज गुरुङहरुले शुभकामाना ब्यक्त गरे।

लोक तथा दोहोरी गायिका रिता केसी. बम बम भोले, नाई नाई नभन लगायत तीजे भाकाहरु पनि घन्काउदै  दिदीबहिनीहरुलाई छमछमी नचाईन्। स्थानीय कलाकार नवराज घिमिरेले “यो एउटा संझना” बोलको मन छुने गीत गाए। उनको प्रस्तुतिबाट सहभागीहरु देशको सम्झना गर्दै झनै भाबुक देखिए। बालकलाकार सुप्रिया सापकोटाले नृत्य प्रस्तुती गरिन् भने कार्यक्रमको संचालन कल्पना बेटिक तामाङले गरेकी थिईन्।

तीजको अबसरमा सहभागीहरुलाई आयोजकले दरको समेत ब्यबस्था गरेको थियो।

Share.

Leave A Reply