यस वर्ष विद्यार्थी भर्नाको ‘महाअभियान’ चलाइँदै

0

काठमाण्डौ – सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आएको छ । यस वर्ष त विद्यार्थी भर्नाको ‘महाअभियान’ नै चलाइँदै छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार प्रधानमन्त्री केपी ओलीले कर्णालीमा एक जनालाई विद्यालय भर्ना गराएर यो अभियान शुभारम्भ गर्दै छन् ।

महाअभियानले विद्यालयबाहिर रहेका लाखौं बालबालिकालाई यही वर्ष विद्यालय भर्ना गराउला त ?

शिक्षा विभागका अनुसार ५ देखि १२ वर्ष उमेर समूहका ३ लाख १३ हजार बालबालिका (७.७ प्रतिशत) विद्यालयबाहिर छन् । उनीहरू किन विद्यालय आउँदैनन् भन्ने गहन अध्ययनबिनै गरिने भर्ना अभियानले यसपालि पनि उच्च नतिजा दिने विश्वास गर्न सकिँदैन ।

भर्ना अभियानको यस वर्षको नारा छ– ‘हामी सबैको इच्छा, अनिवार्य नि:शुल्क आधारभूत शिक्षा ।’ शिक्षामन्त्री पोखरेलका अनुसार यो अभियानअनुसार भर्ना भएकै दिन पूरै सेट पाठ्यपुस्तक उपलब्ध गराउने तयारी छ ।

छात्रवृत्तिलगायत सुविधा पनि दिइनेछन् । अब प्रश्न उठ्छ, ‘पुस्तक पाइने आसमै यसपालि सबै बालबालिका विद्यालय आउलान् ?’ किनकि, अधिकांश बालबालिका विद्यालय आउन नसक्नुका पछाडि पुस्तक होइन, उनीहरूका आर्थिक र सामाजिक समस्या प्रमुख कारक हुन् ।

‘बाध्यता र घरायसी समस्या हुने बालबालिका मात्रै विद्यालय बाहिर छन्,’ विराटनगरको पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराई भन्छन्, ‘सरकारको भर्ना अभियानले उनीहरूलाई छुनेवाला छैन ।

उनीहरूको समस्या कसरी समाधान गर्ने भन्ने योजनाबिना यो अभियान सफल हुँदैन । सहज हुने त आइसके । नआउनेहरू किन आएनन्, उनीहरूलाई कसरी ल्याउने र टिकाउने भन्ने अध्ययन हुनु जरुरी छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Share.

Leave A Reply