नेपालको आन्तरिक मामिलामा अनुचित चासो देखाएको भन्दै सरकारद्धारा आपत्ति

0

Sherdhan Rai

काठमाडौ । नेपालको आन्तरिक मामिलामा भारत र युरोपेली युनियन (इयु)ले अनावश्यक चासो देखाएको भन्दै सरकारले औपचारिक रुपमा आपत्ति जनाएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले हिजो भारत र इयुले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संविधान कार्यान्वयनको चरणमा रहेका बेला यस्तो विज्ञप्ति आउनुलाई अनुचित भनेको छ ।

संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै सरकारले आन्तरिक विवादहरुको निरुपण गर्न नेपालका दलहरु आफै प्रतिबद्ध रहेको समेत दोर्होयाएको छ । सार्वभौम मुलुकको आन्तरिक मामिलालाई लिएर अनावश्यक वक्तव्य जारी नगर्न सरकारले दुबैपक्षलाई चेतावनी समेत दिएको छ ।

ब्रसेल्समा बुधबार सम्पन्न भारत–इयुको सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा ‘नेपालको संविधानलाई अपूर्ण’ भन्दै समय सीमाभित्र विवादित विषय मिलाउनुपर्ने उल्ल्ेख गरेको थियो । नेपालीहरु संविधानका विषय सल्टाउन आफैं सक्षम रहेको सरकारले भनेको छ । यसैगरी, सरकारले स्थानीय निकाय निर्वाचनको तयारीका लागि कानुन संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद बैठकले स्थानीय निकाय निर्वाचन कार्यबिधि ऐन २०४८ लाई संशोधन सहित संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री शेरधन राईले बताउनुभयो ।

सरकारद्वारा जारी प्रेस बक्तब्य

हालै सम्पन्न युरोपेली संघ–भारत शिखर सम्मेलनले जारी गरेको संयुक्त बक्तव्यमा नेपालको संविधान तथा राजनीतिक स्थितिबारे गरिएको अभिब्यक्तिप्रति नेपाल सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले मिति २०७२÷१२÷१८ तदनुसार ३१ मार्च २०१६ मा प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारको धारणा प्रष्ट पारी सकेको छ । नेपालमा जननिर्वाचित सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक प्रक्रिया मार्फत लोकतन्त्रका विश्वव्यापी मान्यता र मूल्यहरु आत्मासाथ गरेको नेपालको संविधान जारी भई कार्यान्वयन भइरहेको छ । नेपालमा अहिले कुनै पनि संवैधानिक समस्या नरहेको तथ्य सबैलाई जानकारी गराइन्छ ।
राष्ट्रको कुनै पनि समस्या समाधान गर्न नेपाली जनता र सरकार कटिबद्ध एवं सक्षम रहेका छन् । आर्थिक विकास र सामाजिक रुपान्तरणमार्फत नेपाललाई समृद्ध तुल्याउन राष्ट्रको सम्मान र गरिमा अभिबृद्धि हुने गरी राष्ट्रिय आवश्यकता र प्राथमिकता अनुरुप दातृ निकायहरुको सहयोग उपयोग गरिनेछ । शान्तिपूर्ण, स्थिर एवं समृद्ध नेपाल निर्माण गर्ने हाम्रो सत्प्रयासमा अन्तर्राष्ट्रिय समुदायको निरन्तर सद्भाव रहनेछ भन्ने हाम्रो विश्वास छ ।

शेरधन राई
प्रवक्ता, नेपाल सरकार

Share.

Leave A Reply