योगेन्द्रमिलन छन्त्याल, २६ मार्च, पोर्तुगल। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि र उनीहरुको पेशागत हक अधिकारको रक्षाका लागि सधै सहयोग गर्ने जनाएको छ । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गर, संचार तथा लेखक अधिकार अधिकृत पामेला मोरिनिएरी र नेपाल पत्रकार महासंघ युरोप शाखाको तीन सदस्सीय टोलीबीचको छलफलमा यस्तो सहमति भएको हो ।
महासंघकोतर्फबाट युरोपमा नेपाली पत्रकारहरुको अवस्था, अवसर र चुनौतिबारे जिज्ञासा राखिएको थियो । शाखाका अध्यक्ष केजिन राईले नेपालमा अझै अधिकांश पत्रकारहरु पेशागतरुपमा काम गर्न सक्ने अवस्था नरहेको जानकारी दिए । उपाध्यक्ष योगेन्द्रमिलन छन्त्यालले महासंघ र शाखाबीच समन्वय र सहकार्यको सम्भावनाबारे प्रस्तावहरु राखे । टोलीका सदस्य बीरमान घर्ती मगरले युरोप शाखाको बनौटबारे महासंघलाई अवगत गराएका थिए ।
युरोपमा रहेका नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि, सम्बन्धित देशका सञ्चारमाध्यमसँग सम्बन्ध बिस्तार र पेशागत हकहितका लागि युरोप शाखा र अन्तर्राष्ट्रिय पत्रकार महासंघको सम्बन्ध र भूमिकाबारे बेलाङ्गर र मोरिनिएरीले प्रष्ट्याएका थिए ।
मार्च २२ तारिख मङ्गलबारका दिन तय भएको भेटघाट तथा छलफल बेल्जियमको जाभेन्टम एयरपोर्ट र मालबेक मेट्रो स्टेशनको बम आक्रमणका कारण स्थागित भएको थियो । त्यसपछि बिहिबार आइएफजे मुख्यालय रेसीडेन्स प्यालेस ब्रसेल्समा सम्पन्न भएको थियो ।