समूह बनाउने अन्तिम कसरतमा पौडेल र देउवा

0

काठमाडौँ, १४ फागुन । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसका सभापतिका सम्भावित उम्मेदवार आआफ्नो समूह बनाउने अन्तिम कसरतमा जुटेका छन् ।

काँग्रेसको १३ औँ महाधिवेशनमा हालसम्म सभापतिका आकाङ्क्षी धेरै देखिए पनि कावा सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । हाल दुवै नेता आफू सभापति भए गुट उपगुटको राजनीति अन्त्य हुने र पार्टी एक ढिक्का हुने जिकिर गर्दै आउनुभएको छ ।

सभापतिमा कावा सभापति पौडेल र नेता देउवा प्रमुख दाबेदारका रुपमा देखिनुभएको छ । त्यसो त सभापतिमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा नेत्री सुजाता कोइरालाले पनि आकाङ्क्षा नदेखाएको होइन । तर यसै महाधिवेशनमा सभापतिमा उहाँहरुको आकाङ्क्षाले मूर्त रुप लेला जस्तो देखिँदैन ।

अझ महामन्त्री सिटौलाले त आफू कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ । युवा नेता गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने चर्चा पनि व्यापक छ ।

दबै शीर्ष नेता देउवा र पौडेलले यसअघि नै पार्टीको स्थानीय तहको निर्वाचनमा देशभरी घुमेर आफ्नो पक्षमा निर्वाचनको वातावरण बनाउने काम गरिसक्नु भएको छ । महाधिवेशन आउन छ दिनमात्र बाँकी रहँदा दुवै नेता आआफ्नो समूह बनाएर निर्वाचनमा जाने अन्तिम तयारीमा जुटेको बताइएको छ ।

आफ्ना सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त दुवै नेताले एक दुई दिनमा नै निर्वाचनका लागि आफ्नो समूह घोषणा गर्ने बताइएको छ । उहाँहरु आफ्ना समूहमा बलियो मत र विजयी हुने उम्मेदवार बनाउने कसरतमा हुनुहुन्छ । सार्वजनिक रुपमा दुवै नेताले आफूलाई कुनै पनि गुट उपगुटको नभई साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्ने गर्नुभएको छ ।

दुवै समूहमा निर्वाचित महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको बारेमा विभिन्न नेताको नाम चर्चामा रहे पनि डा सशाङ्क कोइराला र र अर्जुननरसिंह केसीले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बुझिएको छ ।

कोषाध्यक्षमा दुवै सभापतिका उम्मेदवारले तराई–मधेसलाई समेट्ने प्रयास गर्दै हुनुहुन्छ । यसअघि १२ औँ महाधिवेशनमा पनि दुवै खेमाबाट तराईलाई प्रतिनिधित्व गर्ने उम्मेदवार खडा भएका थिए । कोषाध्यक्षमा पद्मनारायण चौधरी र चित्रलेखा यादवलाई उम्मेदवार बनेकामा चित्रलेखा यादव निर्वाचित हुनुभएको थियो ।
यस बाहेक दुवै जना केन्द्रीय सदस्यको पनि सूची बनाउने तयारीमा जुटेको बताइएको छ । यसअघि १२ औँ महाधिवेशनमा पनि दुवै समूह पूरै कार्यसमितिको सूची बनाई निर्वाचनमा होमिएका थिए । बाह्रौँ महाधिवेशनमा तत्कालीन कावा सभापति सुशील कोइराला र नेता देउवाबीच सभापतिमा प्रतिस्पर्धा भएकामा कोइराला विजयी हुनुभएको थियो ।

सभापति र पदधिकारीमा आकाङ्क्षी धेरै देखिएपछि एक पक्ष विधान संशोधन गरेर सबै आकाङ्क्षीलाई व्यवस्थापन गर्ने पक्षमा देखिएको छ भने अर्काे पक्ष व्यक्तिविशेषलाई व्यवस्थापन गर्न विधान संशोधन गर्न नदिने अडानमा छ । काँग्रेसको आगामी महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । रासस

Share.

Leave A Reply