होटल व्यवसायीहरुका जाहेज माग सम्बोधनमा कुनै कन्जुस्याई हुन्न – मुख्यमन्त्री लामा

0

होटल व्यवसायीहरुले अघि सारेका जाहेज मागहरु सम्बोधन गर्नका लागि बागमती प्रदेश सरकारले कुनै कन्जुस्याई नगर्ने बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय बहादुर सिंह लामाले बताएका छन् ।
शनिबार राजधानीको गौशालामा अवस्थित होटल रायमा आयोजित एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको १२ औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्य मन्त्री लामाले उक्त कुरा बताएका हुन् ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले व्यवसायीहरूको समस्या समाधान गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले उद्यम(व्यवसाय गर्नेलाई सम्मानको नजरले हेर्नुपर्ने बताए । बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान गरेर त्यसको विकास गर्दै लगिने तयारी भईरहेको बताउँदै मुख्यमन्त्री लामाले पर्यटकलाई आकर्षित गर्न समाजलाई समेत सचेत गराउन आवश्यक रहेकोमा जोड दिए । साथै उनले पर्यटकहरुको बसाई लम्याउनका लागि प्रदेश सरकारले गर्नु पर्ने सबै काम गर्न तयार रहेको र त्यसका लागि होटल व्यवसायीहरुको पनि साथ र सहयोग चाहिने बताए ।


साधारणसभामा संघका अध्यक्ष सरोज आलेले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै होटल व्यवसायीहरुलाई अनुगमनका नाममा दिईने दुःख, एउटै व्यवसायलाई पनि सरकारका बिभिन्न निकायमा दर्ता गर्नु पर्ने झण्झटिलो प्रक्रिया, सरकारी कामकाजमा हुने ढिलासुस्ती एवं होटल व्यवसायीहरुप्रति गरिने अमर्यादित र तल्लो स्तरको व्यवहारले गर्दा राज्यलाई रोजगारी र राजस्वका माध्यमबाट ठूलो योगदान पुर्याइरहेका होटल व्यवसायीहरुको आत्मसम्मानमा चोट पुग्नुका साथै पर्यटन मैत्रि एवं व्यवसायिक वातावरण नरहेको दुखेसो व्यक्त गरे ।


कार्यक्रमलाई बिशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडाले देशको अर्थतन्त्रको मेरुदण्ड कै रुपमा रहेको होटल व्यवसायमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि आफू सदैव व्यवसायीहरुको साथमा रहेको बताए । नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिकमत सिंह ऐरले बिशिष्ट अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको होटल व्यवासायीहरुको सबालमा देशभरिका ८० हजार भन्दा बढी होटल व्यवसायीहरुको साझा संगठनको रुपमा रहेको होटल व्यवसायी महासंघ नेपाल अन्तर्गतका होटल व्यवसायीहरुको व्यवसायिक उन्नति र स्तर वृद्धि लगायतका बिभिन्न क्षमता अभिवृद्धि कार्यक्रमहरुका लागि बोर्डले निरन्तर सहयोग गर्दै आईरहेको बताउँदै होटल व्यवसायीहरुका समस्या समाधानका लागि र पर्यटन प्रवद्र्धनका बिभिन्न कार्यहरुका लागि बोर्ड सदैव सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा बिशिष्टि अतिथि कै रुपमा होटल व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष शेर बहादुर थापा, होटल संघ नेपालका महासचिव साजन शाक्य, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल समेतले सम्बोधन गरेका थिए भने अतिथिको रुपमा जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष शैलेश कार्कीले सम्बोधन गरेका थिए ।


संघका अध्यक्ष सरोज आलेको सभापतित्व र महासचिव प्रज्वल श्रेष्ठको सञ्चालमा आयोजित उक्त कार्यक्रममा बि.सं २०८० को एसईईमा सहभागी भई उच्च अंकका साथ उत्तीर्ण संघमा आवद्ध होटल व्यवसायीहरुका छोरा छोरीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने एमबिबिएस उत्तीर्ण गरी डाक्टर हुन सफल व्यवसायीहरुका छोरा छोरीहरुलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा व्यवसायीहरु मध्येबाट उत्कृष्ट दुई व्यवसायीलाई सम्मान गरिएको थियो भने संघमा आवद्ध भएका नयाँ सदस्यहरुलाई सदस्यता समेत प्रदान गरिएको थियो ।

Share.

Leave A Reply