‘प्रवासीको देश हुन्न’ को चर्चा स्विटजरल्याण्डमा पनि

0

बेर्न। विदेशिनेको कथा संग्रह ‘प्रवासीको देश हुन्न’ को चर्चा स्विटजरल्याण्डमा पनि गरिएको छ। बेल्जियम निवासी आख्यानकार पंचम अधिकारीको कथासंग्रहबारे शनिवार राजधानी बेर्नमा चर्चा परिचर्चा गरिएको हो।यसअघि ‘पथिक प्रवासन’ उपन्यास लेखेका अधिकारीको कथासङ्ग्रहले प्रवासमा रहेका नेपालीहरुको आवाजलाई प्रस्तुत गरिएको वक्ताहरुले बताएका छन्।

एनआरएनए स्विटजरल्याण्डका पूर्व अध्यक्ष डा. विनय श्रेष्ठले प्रवासमा बसेर पनि नेपाली साहित्यको क्षेत्रमा अधिकारीले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे। ‘विदेशमा सबैको आ-आफ्नै काम हुन्छ। त्यो अलवा समय निकालेर उहाँले दुई वटा कृतिहरु ल्याई सक्नुभएको छ।यो आफैमा महत्वपूर्ण छ।’क्यान्सर रोग विशेषज्ञ समेत रहनुभएका डा. श्रेष्ठले भने। ‘प्रवासीको देश हुन्न’ कथासङ्ग्रहले लाखौ विदेशिएका नेपालीको कथा बोलेको छ।’ स्विटजरल्याण्डमा रहेको नेपाली समुदायमा बिक्री वितरणका लागि एक सय कपी पुस्तक अर्डर गरिएको उनले बताए।

अध्यक्ष हिरावल गुरुङले नेपालमा लोकार्पण हुनु पूर्व नै आफूले किताव प्राप्त गरेकोमा खुशी ब्यक्त गरे। उनले विदेशी भूमिमा बसेर स्वदेश र विदेशको परिवेशसँग नजिक रहेको कथा संग्रह आएको भन्दै प्रवासीको आवाज बोलेको बताए।

एनआरएनए पूर्व आइसीसी सदस्य पितम गुरूङले नेपाली साहित्यको क्षेत्रलाई डायस्फोराबाट पनि योगदान दिन प्रेरेणा मिलेको बताए। ‘देशको ठुलो हिस्सा अहिले डायस्फोरामा छौ।साहित्य क्षेत्रमा योगदान दिन उहाँले लेखन निरन्तरताले अन्य थुप्रैलाई प्रेरेणा मिलेको छ।’ उनले भने।

अन्तर्राष्ट्रिय मामिला विज्ञ अस्मिता वर्माले लेखन कार्यलाई निरन्तरता दिन अनुरोध गरिन्।‘मलाई त कथा संग्रहको शिर्षकले नै म छोयो।‘प्रवासीको देश हुन्न’ भन्ने बित्तिकै धेरै कुरा आँफै बोलेको छ।’ उनले थपिन्।

आख्यानकार पञ्चम अधिकारीको यस कथा संग्रह शिखा बुक्सले प्रकाशन गरेको हो ।असार १९ गते काठमाडौंमा एक समारोहबीच पुस्तकको लोकार्पण हुँदैछ। नेपाली काँग्रेसका महामन्त्री गगन थापा, नयनराज पाण्डे, राजकुमार बानियाँ , सुमन बर्षा कार्यक्रमका प्रमुख वक्ताहरुले रहेका छन्।

अमेरिकामा हुर्केको नेपाली किशोरले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’ को बच्चा पाउने रहर संघर्ष, हाइस्कुले आइकनबारे लेखिएको ‘लोकल हिरो’, राजधानीका नामूद राजनीतिज्ञको छोरीकोगुन्डा नाइकेसँगको प्रेम प्रसंग ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा फकिरको घर हुन्न र ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषणको यथार्थ विवरण ‘तिम्रो लोग्ने खै?’, राजा महाराजाको कथा भन्ने अनौठो रखौटी ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै अरबबाट फर्केको केटोको गन्तब्य ‘इपीसेन्टर पालुङटार’, तिमी संबोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोँगी जीवनको प्रवासी मनोब्लग ‘इडियट’ लगायतका कथाहरू यस संग्रहमा समेटीएका छन्।

शिखा बुक्सले प्रकाशन गरेको ‘प्रवासीको देश हुन्न’ को प्रमुख वितरक ज्ञानज्योति पुस्तक पसल, अद्वैतमार्ग, काठमाडौं रहेको छ। पुस्तकको मूल्य नेपालमा ४२५ रूपियाँ र विदेशमा सात युरो वा डलर राखिएको छ।

Share.

Leave A Reply