पोखरा- पाल्पा चिनाउन पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा डिजिटल स्क्रिन स्थापना गरिएको छ ।
पाल्पाली समाज पोखराको पहलमा लेकसाइडस्थित बाराहीचोकमा स्थापित सो स्क्रिनको शनिबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले संयुक्त उद्घाटन गरे ।
पाल्पा र पोखरा दुवैको समग्र पर्यटन प्रवद्र्धनको लागि २२ लाख रुपैयाँ लागतमा सो स्क्रिन स्थापना गरिएको समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । आन्तरिक एवं बाह्य पर्यटक भीडभाड रहने बाराहीचोकमा स्थापित सो स्क्रिनमा पाल्पाको समग्र पर्यटकीय क्षेत्रको मनमोहन डिस्प्ले देख्न सकिन्छ । पोखराबाट मात्र १ सय १५ किमी टाढा रहेको तानसेनसहित पाल्पाको समग्र पर्यटन प्रवद्र्धनमा सो स्क्रिनले टेवा पुग्ने हुँदा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । सो कार्यमा तानसेन नगरपालिका, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, रामपुर नगरपालिकासहित पाल्पाका सबै पालिकाको सहयोग छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर मेयर जिसीले पाल्पाली समाज पोखराको सो पहलको प्रशंसा गर्दै त्यसलाई निरन्तर चलाइराख्न महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पोखरा–पाल्पा पर्यटन प्रवद्र्धनका लागि सिद्धार्थ राजमार्गको स्तरोन्नतिमा जोड दिए ।
तानसेन नगरपालिकाका मेयर शाहीले डिजिटल स्क्रिन मद्दतले पोखरा घुम्न आएका पर्यटक पाल्पा पनि आउन आकर्षित हुने अपेक्षा गरे । उनले स्थानीय तहबीच यस्तैखालको मितेरी सम्बन्ध कायम हुँदै जानुपर्ने बताए ।
रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफ्नो नगरपालिकाले पनि समाजको कार्यमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नजिकिएको रामपुर महोत्सवको निम्ता दिँदै कालीगण्डकी डाइभर्सनबारे भने विरोध गरे ।
समाजका संरक्षक एवं पूर्व मन्त्री हरिप्रसाद पाण्डेले पाल्पाली भएको नाताले आफूले अझै पनि सहयोग गर्दै जाने बताए । उनले पाल्पाका ८१ वडामा ४० लाख ५० हजार बराबरको छात्रवृत्ति कार्यक्रम ल्याएको जनाए ।
गण्डकी प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्यालले गण्डकी प्रदेश धार्मिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रले महत्व बोकेको प्रदेश रहेको भन्दै समग्र विकासमा सबैजना लाग्नुपर्ने बताए ।
पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले समाजको कार्य राम्रो लागेकोले आफूले डिजिटल स्क्रिन राख्न सहयोग गरेको भन्दै निरन्तरताको कामना गरे ।
पर्यटन परिषद् पोखरा अध्यक्ष चिरञ्जीवी पोखरेलले यसबाट पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघ अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघ अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेशकुमार अर्याल, पाल्पाली संगम काठमाडौं अध्यक्ष पदम न्यौपाने लगायतले पोखराबाट पाल्पा छोरो दुरीमा रहेर पनि पर्यटन प्रवद्र्धन हिसाबले पछि पारेको भन्दै पाल्पाली समाजको कार्यबाट सघाउ पुग्ने अपेक्षा गरे ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेशम थापा रचक, संचालन सचिव केशव नेपाल र धन्यवाद ज्ञापन समाजका सल्लाहकार एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठक, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण जिसी, रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष चेतना थापा, पाल्पा, पोखरा र काठमाडौंस्थित विभिन्न पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।