स्विट्जरल्याण्डमा अन्तराष्ट्रिय महिला दिवस मनाईयो

0

स्विट्जरल्याण्ड। एनआरएनए महिला फोरम स्विट्जरल्याण्डले १ सय ९ औ अन्तरराष्ट्रिय महिला दिवस एक कार्यक्रमका बीच मनाएको छ। शनिवार कान्टोन आरगाउमा महिला हकहितका सवालमा आवाज उठाउँदै फोरमले अन्तरराष्ट्रिय महिला दिवस मनाएको हो। नेपाली समुदायको समयलाई मध्यनजर राख्दै यस पटक फोरमले मार्च ८ तारिख अगावै महिला दिवस मनाएको बताएको छ।

नेपाली राजदूतावास स्विट्जरल्याण्ड द्वितीय सचिव अन्तरा सिंहले कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला सशक्तीकरणको विषयमा जोड दिइन्। उनले नेपालमा महिला सम्बन्धी बनेका कानुनहरूको बारेमा जानकारी गराइन्।

महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिकी उपाध्यक्ष वन्दना राणाले  “उन्नतिको लागि बराबरी” भन्दै आफ्ना अनुभवहरू सुनाइन्। नेपाली महिला अधिकारकर्मी एवं सञ्चारकर्मी राणा सो कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी थिइन्। उनले सञ्चार क्षेत्रमा लाग्दा गाउँ गाउँमा पुगेर भिडियो बनाउने क्रममा महिलाहरूको आवाज बाहिर ल्याउन भएका कठिनाइ बारे चर्चा गरिन्। मिसेस नेपाल युनिभर्स २०१८ का विजेता तथा फेसन डिजाइनर मनिषा डंगोल श्रेष्ठ पनि बेलायत देखि कार्यक्रममा सहभागी बनिन्।

महिला फोरमका संयोजक शुभ एल्मर लामाले कार्यक्रममा महिला जागरण सम्बन्धी नेपालमा भइरहेका केही परियोजनाहरूका बारेमा विस्तृत जानकारी दिइन्। साथै उनले नेपालका विभिन्न क्षेत्रमा एनआरएनए महिला फोरम स्विट्जरल्याण्डको सक्रियता एवं संलग्नताका बारेमा प्रष्ट पारिन्।

एनआरएनए महिला फोरम स्विट्जरल्याण्डका सदस्य बिजया भट्टले नेपालमा महिलाहरुको पाठेघर घस्ने रोग सम्बन्धि महिला फोरम स्विट्जरल्याण्डले गरेका गतिबिधिहरु बारे बोलेकी थिईन्।

कार्यक्रममा एनआरएनएन स्विट्जरल्याण्डका अध्यक्ष भुमिराज गुरुङ, संस्थापक अध्यक्ष संजय मुडवरी, नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष श्याम सापकोटा, स्वीस नेपाली समाजका कोषाध्यक्ष सुजन मल्ल, स्विट्जरल्याण्डमा पहिलो नेपालीले परिचित बिन्दु स्टाईनमान पाण्डे लगायत बोल्दै महिला दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गरे।

कार्यक्रममा ग्याल्मी शेर्पा, सुनेना महर्जन, कल्पना तामाङ, सुप्रिया सापकोटा र यासीका पोखरेल लगायतका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। संयोजक लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सिमा गौतमले गरेकी थिईन।

यसैबिच कार्यक्रममा हालै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाल सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायतको टोलीको सम्झना गर्दै  १ मिनेट मौनधारणा समेत गरिएको थियो।

Share.

Leave A Reply