एमाले र माओवादी केन्द्र बीच एकिकरण, नेपाल कम्युनिष्ट पार्टीको घोषणा

0

बिभाजनको लामो अन्तरालपछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमोल र नेकपा माओवादी केन्द्र एकिकृत भई नेपाल कम्युनिष्ट पार्टी घोषणा भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना पश्चात् पटक पटक टुटफुटको श्रृंखला व्यहोर्दै सधैँ फुटको राजनीतमा मात्र रुमल्लिएको कम्युनिष्ट पार्टीले आज बिहीबार मदन आश्रित स्मृति दिवसका दिनमा आएर एकताको सन्देश दिन सफल भएको छ । यस एकतासँगै नेपाल कम्युनिष्ट पार्टीको फुटको श्रृंखला अब करिब करिब अन्त्य भएको भन्न सकिन्छ ।

२०७२ सालमा जारी नयाँ संविधान पश्चात् सम्पन्न आम निर्वाचन २०७४ को पूर्व सन्ध्यामा २०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्ततः एकीकृत भएका हुन् । एकिकरणसँगै नेपाल कम्युनिष्ट पार्टी अब दक्षिण एशिया कै पहिलो ठूलो पार्टी बन्न पुगेको पार्टी एकिकरण घोषणा सभामा नेताहरुले बताएका छन् । एशियाको तेश्रो ठूलो पार्टी बन्न सफल नेपाल कम्युनिष्ट पार्टी भन्दा अगाडि चीन पहिलो स्थानमा र भियतनामको कम्युनिष्ट पार्टी दोश्रो ठूलो पार्टीको रुपमा रहेका छन् । पार्टी एकिकरण पश्चात् संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।
एकिकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले केन्द्र, प्रदेश र स्थायी तह सबैतिर बहुमत ओगटेको छ । सात मध्ये ६ प्रदेश र ७५३ मध्ये ४०३ स्थानीय तहमा कम्युनिष्ट पार्टीको सरकार छन् ।

गत वर्ष सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभामा रहेको २७५ सिट मध्ये नेपाल कम्युनिष्ट पार्टी को मात्र १७४ सिट रहेको छ भने प्रमुख विपक्षी नेपाली कांग्रेसको जम्मा ६३ सिट छ । पार्टी एकीकरण घोषणा गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब कम्युनिष्ट पार्टीको प्रतिस्पर्धी नरहेको बताउँदै उनले सुखी नेपाली सम्बृद्ध नेपालको अभियानमा कांग्रेसलाई पनि सँगै लैजाने र बैधानिक प्रतिपक्षको हैसियतको सम्मान गर्ने बताए । उनले जनताले मन नपराउने एजेण्डा बोकेर थप अलोकप्रियताको बाटोमा नजान कांग्रेसलाई आग्रह समेत गरे ।

एकता घोषणा सभामा बोल्दै ओलीले नेपाल कम्युनिष्ट पार्टीले अब अर्को चुनावमा दुई तिहाईमात्र जितेर नपुग्ने भन्दै तीन चौथाई स्थान जित्ने दावी समेत गरे । अर्का अध्यक्ष प्रचण्डले भने कांग्रेसबारे केही टिप्पणी गरेनन् । बरु सत्तामा पुगेपछि भ्रष्टीकरण हुने रोग नेपाल कम्युनिष्ट पार्टीमा लाग्न नदिने र अझ बलियो पार्टी बनाउने बताए ।

एकिकरण पश्चात् निर्वाचन आयोगमा दर्ता भएसँगै अब एमाले र माओवादी केन्द्रको अस्थित्व विधिवत समाप्त भएको छ । एकिकृत पार्टीको सिद्धान्त मार्क्सवाद लेनिनवाद र कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हुने जनाइएको छ भने पार्टीको चुनाव चिन्ह सूर्य नै रहने छ ।

पार्टी एकिकरण पश्चात् नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षमा केपी ओली र प्रचण्ड रहेका छन् भने तत्कालिन पार्टी एकता संयोजन समितिमा तत्कालिन एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर ९ सदस्यीय सचिवालय गठन भएको छ । पौडेल नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका छन् । त्यसैगरी केन्द्रीय सचिवालयमा ओली र प्रचण्डपछिको बरियतामा माधव नेपाल रहेका छन् । त्यसपछि क्रमशः झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामवहादुर थापा र बिष्णु पौडेल रहनेछन् ।
तत्कालिन एमालेका २६ र तत्कालिन माओवादी केन्द्रका १९ जना समेटेर स्थायी कमिटी गठन भएको छ । स्थायी कमिटीमा एमालेको तत्कालीन कमिटी कायम रहेको छ भने तत्कालिन माओवादीका तर्फबाट नाम टुंगो लागेको छैन । पार्टी एकिकरण पश्चात् नयाँ कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० समायोजन गरेर ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ । एकीकृत पार्टीको कमिटी गठनका सबै प्रक्रिया तीन महिनाभित्र पूरा गर्ने नेताहरुले बताएका छन् ।

Share.

Leave A Reply