नेपाल अब सगरमाथादेखि समुद्रसम्म : मोदी, २१औँ शताब्दी सुहाउँदो नमुना सम्बन्ध : ओली

0

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा तीन नयाँ समझदारी समेटिएका छन्। वक्तव्यको बुँदा नम्बर ९ मा कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने विषय उल्लेख गरिएको छ। आजको नयाँ पत्रिकामा खबर छ ।

नेपाल अब सगरमाथादेखि समुद्रसम्म : मोदी
भारतीय प्रधानमन्त्री मोदीले नेपालका तीन निर्वाचनपछि नयाँ सरकार गठन भएकोमा नेपाललाई बधाई दिँदै विकासको हरेक प्रयत्नमा साथ दिने वचन दिए । प्रधानमन्त्री ओलीसँग आज हैदरावाद हाउसमा भएका दई बैठकमा मोदीले संघीयतासहितको लोकतन्त्र संस्थागत गर्ने प्रयासमा सघाउने वचन दिएका हुन् । उनले सगरमाथाको देशको पहुँच समुद्रसम्म पुगेको घोषणा गरे ।

मोदीले विकासमा आफ्नो नारा ‘सबका साथ, सबका विकास’ र ओलीको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल मर्म एउटै रहेको पनि बताए । यी नारा एक–अर्काका परिपूरक रहेको मोदीको भनाइ थियो । मोदीले भने, ‘नेपाल सरकारको प्राथमिकतामा आधारित परियोजनामा भारतले सहयोग गर्नेछ ।’

‘तपाईंहरूलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको छ’ भन्दै सुरुमा नेपालीमा सम्बोधन गरेका मोदीले अन्तिममा भने, ‘फेरि भेटौँला’ । दुई वर्षअघि नेपाल–भारत सम्बन्ध हिमालयको अखण्डता र गंगाको पवित्रतामा आधारित रहेको बताएका मोदीले यसपटक भने, ‘अब सगरमाथाको देशको पहुँच समुद्रसम्म पुगेको छ । नेपाल भूपरिवेष्ठित रहेन ।’

मोदीले दुवै देश मिलेर सीमापार अपराध नियन्त्रण गर्ने, कृषि, जलविद्युत्मा सहकार्य गर्ने र कार्यान्वयन हुन बाँकी विगतका सम्झौताहरू कार्यान्वयन गर्ने सहमति भएको बताए । उनले काठमाडौं र भारतबीच नयाँ रेलवे निर्माणमा सहमति भएको पनि पत्रकारसम्मेलनमा जानकारी दिए । मोदीले अरुण तेस्रो, सुनकोसी डाइभर्सन र पञ्चेश्वर परियोजना अघि बढ्ने पनि जानकारी दिए ।

तीन चरणको निर्वाचनपछि संघीयतातर्फ नेपालको यात्रालाई अत्यन्त ठूलो उपलब्धि भन्दै मोदीले तारिफ गरे । नेपाली इतिहासको स्वर्णिम अध्याय सुरु भएको पनि उनको भनाइ थियो ।

मोदीले नेपाल–भारत खुला सिमाना सर्वसाधारण जनताको लिभिङ ब्रिज भएको पनि बताए । उनले रामायण सर्किट र बुद्धिस्ट सर्किट निर्माणमा पनि सहयोग गर्ने घोषणा गरे । नेपालको संघीयताका लागि भारतीय अनुभव आदान–प्रदान हुने भन्दै अन्तमा मोदीले भने, फेरि भेटौँला ।

२१औँ शताब्दी सुहाउँदो नमुना सम्बन्ध : ओली

प्रधानमन्त्री केपी ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध स्थापित गर्न चाहेको बताए । भारतीय समकक्षीसँग वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकारसम्मेलनमा उनले २१औँ शताब्दीअनुकूलको र विश्वासमा आधारित सम्बन्ध नेपालको प्राथमिकतामा रहेको सुनाए । मोदी ८ मिनेट बोलेपछि ओलीले १५ मिनेट सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध चिसिएको दुई वर्षअगाडि आफू र मोदीबीच भएका कुराकानीलाई पटक–पटक स्मरण गराएका थिए । उनले दुई वर्षयता नेपालले राजनीतिक परिवर्तन गरेको र सामाजिक, आर्थिक रूपान्तरणको यात्रा प्रारम्भ गरेको बताए । मोदीले ओलीका भनाइलाई ध्यानपूर्वक सुनेका थिए ।

ओलीले भने, ‘हामी भारतसँगको सम्बन्धलाई उच्च महत्व दिन्छौँ ।’ आफू प्रधानमन्त्री हुनुभन्दा अघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भएको स्मरण गर्दै ओलीले त्यसका लागि मोदीलाई धन्यवाद दिए ।

ओलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले सम्बन्ध नयाँ उचाइमा पुग्ने गरी प्रतिवेदन दिनेमा दुवै प्रधानमन्त्री आशावादी रहेको बताए । उनले जलविद्युत्मा सहकार्यका लागि भारतका सरकारी र निजी क्षेत्रलाई आह्वानसमेत गरे ।

ओलीले भारतसँग व्यापार घाटा कम गर्ने विषयमा मोदीसँग विस्तृत कुराकानी गरेको पनि बताए । नेपालमा उत्पादित बिजुली भारतको खुला बजारमा निर्यात गर्न सहजीकरणका लागि आग्रह गरेको र मोदी पनि सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

Share.

Leave A Reply