पोखरामा अनलाइन ‘फुड अर्डर एण्ड डेलिभरी’ सेवा सुरु

0

पोखरा – पोखरामा अनलाइन ‘फुड अर्डर एण्ड डेलिभरी’ सेवा सुरु भएको छ । फुडमुड प्रालिले पोखरामा अनलाइनकै माध्यमबाट खाना तथा खाजा घर, अफिस तथा अन्य कुनै पनि ठाउँमा पु¥याउने सेवा सञ्चालनमा ल्याएको हो । आम मानिसहरुको बढ्दो व्यस्थतालाई ख्याल गर्दै सेवा सञ्चालनमा ल्याइएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फुडमुडडटकमडटएनपी (foodmood.com.np) मा लगअन गरी खाजा तथा खाना अर्डर गर्न सकिने प्रालिका निर्देशक सुशील पौडेलले जानकारी दिए ।

‘ट्राफिक जाम तथा व्यस्तताले समयमा नै रेस्टुरेन्ट पुग्न र अर्डरलाई कुरेर बस्न समयको अभाव हुन्छ,’ उनले भने, ‘अब त्यो झन्झटलाई हामीले मुक्ति दिनेछौं ।’ पोखरा तथा लेखनाथ क्षेत्रका ग्राहकलाई खाना तथा खाजा रेस्टुरेन्टकै मेनुमा उपलब्ध गराइने पौडेलले जानकारी दिए । ‘थर्मो व्यागको प्रयोग गरेर खानेकुरा पु¥याउँदा रेस्टुरेन्टकै तापक्रममा कायम राख्न सकिन्छ,’ उनले भने, ‘अनलाइनमा भिजिट गर्नेहरुका लागि अनलाइन बुकिङ र अनलाइन चलाउन नजान्ने, नभ्याउने तथा इन्टरनेट सुविधा नहुँदा फोनबाट पनि सेवा लिन सकिने व्यवस्था मिलाएका छौं ।’

पोखराका २८ वटा रेस्टुरेन्टसँग प्रालिले समन्वय गरेको छ । २८ वटा रेस्टुरेन्ट मध्ये जुनसुकै रेस्टुरेन्टको खाना तथा खाजा अर्डर गर्न सकिने पौडेलले बताए । ‘बिहान ११ बजेदेखि साँझ ७ः३० बजेसम्म अर्डर लिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘अर्डर गरेको ४५ मिनेटभित्रै हामीले पोखरामा जहाँ पनि अर्डर पु¥याउन सक्छौं ।’ ग्राहकले ४ वटा अप्सनमा अर्डर गर्न सक्नेछन् । तत्कालै डेलिभर गर्ने, केही समयपछि, अर्डरलाई तयार पारेर राखी आफै लिन आउने र अर्डर गरेर खानका लागि मात्रै रेस्टुरेन्ट जान सकिने अर्डर अप्सन छन् ।

बिल मुक्तानी तत्कालका लागि डेलिभरी गरिसकेपछि मात्रै गर्नसकिने व्यवस्था मिलाइएको पौडेलले बताए । कुनै पनि रेस्टुरेन्टको प्रमोसन तथा डिजिटल प्रविधि अपनाउन पनि सहयोग तथा काउन्सिलिङ सेवा प्रदान सुरु गरिएको उनले जानकारी दिए । ‘नेपालमा अनलाइन बिजनेस काठमाडौं केन्द्रित भइरहेको अवस्थामा हामीले पोखरामा यो सेवा सञ्चालनमा ल्याएका छौं,’ उनले भने । फुडमुड प्रालिले पोखरासँगै चितवनबाट पनि सेवा सञ्चालन गरिरहेको छ ।

Share.

Leave A Reply