सरकारको अर्जुनदृष्टि विकास र समृद्धिमा : मन्त्री रवीन्द्र अधिकारी

0

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अहिलेको सरकारको अर्जुनदृष्टि विकास र समृद्धिमा रहेको बताएका छन् । आफू चुनौतीको बीचमा रहेको उल्लेख गर्दै उनले पोखरेलीको सहयोगबिना आफू सफल हुन नसक्ने उल्लेख गरे । यसका लागि सय दिनको कार्ययोजना बनाएको उनको भनाइ छ । मन्त्री अधिकारीले भने, ‘त्यही कार्ययोजना अनुसार काम गर्छु । मेरो सफलता/असफलता त्यसैमा निहीत छ ।’

महेन्द्रपुल टोल विकास संस्था र पोखरा मोवाइल टावरले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीले स्थानीय तह, प्रदेश र केन्द्र सरकार तीनै तहको ध्यान अब विकासमा केन्द्रीत भएको बताए । उनले भने, ‘अब पूर्वधार, कानुन र कार्यान्वयनमा सँगसँगै ध्यान दिनु जरुरी छ । ’ मन्त्री अधिकारीले सबै नेपालीले आफूबाट ठूलो अपेक्षा गरेको उल्लेख गर्दै त्यो अपेक्षा पूरा गर्न लाग्ने प्रतिवद्धता जनाए । कार्यक्रममा महेन्द्रपुल टोल विकास संस्था र पोखरा मोवाइल टावरले उनलाई सम्मान तथा बधाई ज्ञापन गरे ।

समाजसेवी युवराज श्रेष्ठले सेती र बाटोको दोहोर मापदण्डले आफूहरु मर्कामा परेको उल्लेख गर्दै यसलाई सम्बोधन गर्न आग्रह गरे । पोखरा मोवाइल टावर सञ्चालक समिति सचिव नारायण सुवेदीले महेन्द्रपुल क्षेत्रमा पार्क निर्माण गर्न, पार्किङ व्यवस्थापन र सार्वजनिक यातायातलाई सहज बनाउन पहल गरिदिन अनुरोध गरे ।

कार्यक्रममा पोखरा मोवाइल टावरका अध्यक्ष उदयबहादुर केसी र महेन्द्रपुल टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र लालचनले पनि बोलेका थिए । महेन्द्रपुलको ५ तले भवनमा रहेको पोखरा मोवाइल टावरमा ८० वटा मोवाइलका होलसेल र खुद्र पसल हुनेछन् । अन्डरग्राउन्ड पार्किङ, लिफ्टसहितको कम्प्लेक्स चाडै पूर्ण रुपमा सञ्चालनमा आउन लागेको छ ।

Share.

Leave A Reply