देउवा पक्षीय सदस्यहरूको पार्टी अग्रिम महाधिवेशनमा जान नहुने धारणा

0

काठमाण्डौ – कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरूले पार्टी अग्रिम महाधिवेशनमा जान नहुने भन्दै त्यसको विरोध गरेका छन् ।

संस्थापनइतर पक्षले संघीय संरचनाअनुसार रूपान्तरण हुने पार्टीका निकायलाई पूर्णता दिन अग्रिम महाधिवेशन माग गरिरहेका बेला देउवापक्षीय सदस्यहरूले यो अस्वीकार्य हुने धारणा अघि सार्दै सभापति देउवाको बचाउ गरेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ।

कांग्रेसमा महासमिति बैठकबाट विधान संशोधन गर्ने तयारी छ । कांग्रेसको पार्टी संरचना अहिले ७५ जिल्ला, २ सय ४० निर्वाचन क्षेत्र र झन्डै ४ हजार संख्याका स्थानीय निकायमै आधारित छन् । राज्य संघीय संरचनामा जाँदा ७७ जिल्ला, १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रअनुसारको पार्टी संरचनामा जानुपर्ने हुन्छ । विधान संशोधन गर्नासाथ नयाँ संरचनाअनुरूप पार्टी संरचना तयार गर्न १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितले दबाब दिँदै आएका छन् ।

तर, संस्थापन पक्षका सदस्यले तत्कालका लागि तदर्थ समिति बनाउन उपयुक्त हुने भन्दै अग्रिम महाधिवेशनको विरोध गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले लिखित रूपमै अग्रिम महाधिवेशनको माग बैठकमा प्रस्तुत गरेका थिए ।

‘अर्ली महाधिवेशनमा नलागौं,’ बिहीबारको बैठकमा देउवा पक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘यही विषयलाई लिएर सभापतिलाई कमजोर बनाउन खोज्दा अन्तत: पार्टी कमजोर हुन्छ ।’ संसदीय दलको नेतामा उम्मेदवार बन्न नदिन धेरै तिरबाट कसरत हुँदासमेत सभापति नै अत्यधिक मतबाट विजयी भएको बताउँदै कार्कीले थपे, ‘अहिले पनि पार्टीभित्र सभापतिकै पक्षमा जनमत छ । सस्तो लोकप्रियताका लागि कोही पनि नलागी पार्टीलाई एक बनाउने दिशामा लागौं ।’

Share.

Leave A Reply