जुरीख। स्विट्जरल्याण्ड निवासी गायक सुवास सुन्दासको नयाँ म्युजिक भिडियो ‘माया गर्छु‘ सार्वजनिक भएको छ। भ्यालेन्टाइन डेका विशेष अवसर पारेर गायक सुन्दासले आफ्नै युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका हुन्।
लिड गिटारिस्ट रामु परियारको रचना तथा संगीत संयोजन रहेको यो गीतमा अनिश श्रेष्ठले मिक्सिङ र मास्टरिङ गरेका छन्। विशेषगरी, नयाँ प्रविधि एआई को प्रयोगद्वारा राल्फ सेनाटोरेले निर्माण गरेको यो म्युजिक भिडियो दर्शकहरूले मन पराउनेमा सुन्दास आशावादी छन्।
युरोपमा चर्चित गायकका रूपमा स्थापित सुन्दासले विशेष गरी युवा पुस्ताको मन जित्न सफल भएका छन्। उनले युरोपका अधिकांश मुलुकहरूमा पुगेर आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन्।
‘माया गर्छु’ गीत प्रेमभाव अभिव्यक्त गर्ने मर्मस्पर्शी शब्द तथा संगीतको संयोजनले भरिएको छ। भिडियोमा आधुनिक प्रविधिको प्रयोग र भावनात्मक अभिव्यक्ति दर्शाइएको छ, जसले प्रेमीहरूलाई अझ रोमाञ्चक अनुभूति दिलाउने अपेक्षा गरिएको छ।
म्युजिक भिडियो ‘माया गर्छु’
धेरै पछि भेट भयो हाम्रो,
मौका मिल्यो तिमी संग बोल्ने।
मनभित्र लुकेका ती भावनाहरू,
दिन जुर्यो तिमीसम्म पोख्ने।
माया गर्छु तिमीलाई, माया गर्छु,
सधैं सधैं, सधैँलाई।
समय र परिस्थिति बदलिएको होला,
त्यसैसँगै हामी दुई पनि।
रूप र रंग त्यही नहुन सक्छ,
माया देखाउने तरिका पनि।
झुटो होइन, साँचो हो यो,
मेरो मनको कुरा तिमी सुन्नू।
त्यही पुराना शब्दहरू अघि-पछाडि गर्दै,
मनको कुरा खोल्न।
माया गर्छु तिमीलाई, माया गर्छु,
सधैं सधैं, सधैँलाई।
माया गर्छु तिमीलाई, माया गर्छु,
सधैं सधैं, सधैँलाई।