बार्सिलोना। बेल्जियम निवासी आख्यानकार पञ्चम अधिकारीको ‘प्रवासीको देश हुन्न’ बारे स्पेनमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाहरूबारे आख्यानकार अधिकारीसँग शनिवार बार्सिलोनामा कार्यक्रम सम्पन्न भएको हो।

‘काठमाण्डु एयरपोर्टमा एक प्रवासीको झमेला हुन्छ – हरियो पासपोर्टको अवगाल। अनि ऊ ‘चिया खाने पैसा’ आश गर्ने कर्मचारीकोमा पुग्छ।’ अधिकारीले आफ्नो पुस्तकबारे चर्चा गर्दै भने,‘बाकसमा फर्केको छोराको लाश लिन आएकी बुढी आमैको धुम्म अनुहार र उनले मजेत्रोले पुछ्दै गरेकी वेदनाको आँशु देखेर ऊ निथ्रुक्क हुन्छ।’ बाकसमा फर्क नपर्नेहरू र विदेशको जेलमा सड्नेहरूका निम्ति के हो राष्ट्रियता? उनले प्रश्न गरे। प्रवासी मनोविज्ञान र प्रवासिनेहरूको बाछिटाले ल्याएको सामाजिक बेथिति र नियतिको कथालाई  प्रवासीको देश हुन्नमा समेटेको अधिकारीलाई बताए।

सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल इन युरोपका अध्यक्ष तथा एनआरएनए स्विट्जरल्याण्डका पूर्व अध्यक्ष डा. बिनय श्रेष्ठले प्रवासी नेपालीको मर्म र भावनाका कथाहरु बुनेकोमा लेखकलाई बधाई दिए। ‘लेखकको यसअघिको ‘पथिक प्रवासन’ मलाई असाध्यै मन पर्ने उपन्यास हो।‘प्रवासीको देश हुन्न’ ले झन् विदेशिएका लाखौँ नेपालीको आवाज काव्यात्मक गद्यका रुपमा बोलेको छ।’ डा. श्रेष्ठले थपे।

एनआरएनए स्पेनका अध्यक्ष पेशल कुमार कोइरालाले बेल्जियमका लेखकको कृतिबारे स्पेनको नेपाली समुदायमाझ  चर्चा गर्न पाएकोमा खुशी ब्यक्त गरे।‘नेपाल जादा हामीलाई  विदेश भासिएको भन्छन्।फेरि यहाँ बसेको देशमा पनि यो बाहिरी देशबाट आएको भनेर सुन्नु पर्छ। आफ्नो पन कतै हराएको हो कि भन्ने भान हामी सबैलाई भएको छ।’ कोइरालाले बताए।

आख्यानकार अधिकारीसँग पत्रकार बसन्त रानाभाटले एक घण्टा लामो अन्तरसंवाद गरेका थिए। सो अवसरमा कृतिका अलवा प्रवासी साहित्य र युरोपेली सेरोफेरोको लेखनबारे गहन छलफल भएको थियो।अन्तरसंवादपछि उपस्थित पाठकहरूसँग लेखकले अन्तरक्रिया समेत गरेका थिए।

बेल्जियम निवासी आख्यानकार पञ्चम अधिकारीको यस कथा संग्रह शिखा बुक्सले प्रकाशन गरेको हो ।ज्यादात्तर युरोपको सेरोफेरोमा लेखिएका यस संग्रहका कतिपय कथाहरूमा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना  र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्य र सप्तरंगी समग्रताको निष्ठामा बाँच्नेहरूको कथा छ ।

अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’को बच्चा पाउने रहर, हाइस्कुलले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेकअपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै ?’, राजा महाराजाको कथा भन्ने रखौटी ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपीसेन्टर पालुङटार’, तिमी सम्बोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोंगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू उक्त संग्रहमा समेटिएका छन् ।

पारम्परिक रूपमा लेखिँदै आएका नेपाली आख्यानको प्रवृत्ति विपरीत अधिकारीका कथाहरू अति यथार्थवाद र यदाकदा जादुयी यथार्थवाद एवं मेटा फिक्सनको मिश्रित प्रयोग गर्दै बोधगम्य शैलीमा लेखिएको पाइन्छ ।पप-संस्कृति र मिडियाको व्यापक प्रभावले निथ्रुक्क भिजेको समाजमा मानवीय विडम्बना र संवेदनाहरूलाई केलाउँदै कथा लेखनको नयाँ आयाम देखाउने जमर्को यस कृतिले गरेको छ।आख्यानकार अधिकारीको यसअघि ‘पथिक प्रवासन’ उपन्यास प्रकाशित छ ।

Previous articleहामी बीच रहेनन् लौजानेका हरी बस्नेत
Next articleजुरीखमा तिहार कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here