काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रका संयोजक चिन्तामणि सापकोटाले एनआरएनएको काठमाडौँमा हुन लागेको एकताको अधिवेशनमा सहभागी हुन यूरोप क्षेत्रका एनआरएनहरुलाई अपील गरेका छन् ।
आगामी मार्च महिनामा माल्टामा गैर आवासीय नेपाली संघ यूरोप क्षेत्रको क्षेत्रीय सम्मेलन हुन लागेको भन्ने चर्चा चलिरहँदा यूरोप संयोजक सापकोटाले भने उक्त सम्मेलनको अर्थ नरहेको भन्दै आगामी मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको अधिवेशनमा सहभागी हुन यूरोपियन एनआरएनहरुलाई अपिल गरेका हुन् ।
संयोजक सापकोटाले युरोपका एनसीसीहरुलाई माल्टामा सहभागी नहुन बरु सदस्यता वितरण गरी ठूलो संख्यामा काठमाडौँमा आयोजना हुन गइरहेको एकताको अधिवेशनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरे।
‘नागरिकता, सुरक्षित आप्रवासन, प्रवासमा रहेका नेपालीहरुको मताधिकार लगायतका विषयमा नेपाल मै आएर नेपाल सरकारलाई दबाब दिन जरुरी छ, त्यसैले अहिलेको अवस्थामा क्षेत्रीय सम्मेलनको नाममा लाखौं युरो खर्च गर्नु जरुरी छैन। त्यहाँ छलफल गर्ने विषयहरु काठमाडौँमै आएर छलफल गरौँ,’ उनले भने।
सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार पूर्व अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले आह्वान गरे अनुसार ३-५ मे, २०२५ मा काठमाडौँमा आयोजना हुन लागेको एकताको महाधिवेशनमा ठूलो संख्यामा सहभागी हुन पनि संयोजक सापकोटाले सबै एनआरएन साथीहरुलाई आग्रह गरे।
उनले व्यक्तिगत स्वार्थ र इगोलाई त्यागेर संस्थालाई एकजुट बनाउने अवसर आएको पनि बताए। ‘एनआरएनएको गुमेको साख जोगाउने यो एक अवसर पनि हो, यसलाई खेर नफालौं,’ उनले भने।